NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

‘पार्टी प्यालेस’ बन्यो सम्मेलन केन्द्र !

काठमाडौं । महँगो शुल्क तिरेर ठूला होटेलहरूमा सरकारी तथा सांस्कृतिक सभा, सम्मेलन, गोष्ठीलगायत कार्यक्रम सञ्चालन गर्ने अवस्थाको अन्त्य गर्न सरकारले ललितपुरको गोदावरीमा ८८ करोडमा बनाएको सनराइज सम्मेलन केन्द्र ‘पार्टी प्यालेस’मा रूपान्तरण भएको छ ।

०७८ मा तयार भएको तीन हजार सिट क्षमताको उक्त सम्मेलन केन्द्रमा आजकाल सरकारी कार्यक्रमहरू हुन छाडेपछि स्थानीयस्तरका बिहे पार्टी, व्रतबन्धलगायत प्रयोजनका लागि भाडामा दिन थालिएको हो ।साउनयता सरकारी निकायले केन्द्रको हलमा कुनै पनि कार्यक्रम गरेका छैनन् ।

सरकारी कार्यक्रम हुन छाडेपछि हलको मर्मत–सम्भारलगायतको खर्च व्यवस्थापनका लागि आम्दानी जुटाउन भन्दै उद्देश्यभन्दा फरक प्रयोजनमा हलको प्रयोग हुन थालेको छ । हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हेरचाह र मर्मत–सम्भार गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले नै सनराइज सम्मेलन केन्द्र पनि सञ्चालन गरिरहेको छ । तर, सरकारीस्तरका कार्यक्रम हुन छाडेपछि हलको मर्मत–सम्भार तथा कर्मचारीलाई तलब खुवाउन सामान्य निजी प्रयोजनका कार्यक्रम पनि यही हलमा गर्न थालिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

समितिका अध्यक्ष विद्रोह दाहालले सरकारी कार्यक्रमले मात्रै हलको प्रयोग प्रभावकारी नभएकाले बिहे, व्रतबन्धलगायतका कार्यक्रमका लागि पनि भाडामा दिइएको बताए । ‘उपत्यकामा यति ठूलो सरकारी हल कहीँ छैन, यो सरकारले निर्माण गरे पनि सरकारी कार्यक्रम यहाँ निकै कम हुन्छन्,’ उनले भने, ‘यसको मर्मत–सम्भार तथा खर्च व्यवस्थापनको लागि सामान्य किसिमका कार्यक्रमको लागि पनि भाडामा दिनुपरेको छ ।’ सरकारीस्तरका ठूला कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिए पनि पछिल्लो समय हल खाली हुने अवस्था आएपछि समितिले अन्य कार्यक्रम सञ्चालनको लागि भाडामा दिन थालेको उनले बताए ।

हल भाडामा दिएर साउनयता १५ मंसिरसम्म ८० लाख आम्दानी गरेको छ । हलको केही भागमा पानी चुहिने भएकाले मर्मत–सम्भारको काम पनि चलिरहेको छ । यो हलमा साउनयता कुनै पनि सरकारीस्तरका सभा सम्मेलन तथा कार्यक्रम भएका छैनन् । सरकारले प्रयोगविहीन बनाएपछि समितिले बिहे, भोज, व्रतबन्ध तथा सांस्कृतिक कार्यक्रमको लागि हल भाडामा दिने गरेको छ । तर, हलबाहिर पार्किङ व्यवस्थित नहुँदा भाडामा लिनसमेत नमानेको समितिले जनाएको छ ।

सम्मेलन केन्द्रले १४३ रोपनी क्षेत्रफल ओगटेको छ । ०७८ मा तत्कालीन प्रधामन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले निर्णय गरेपछि पाँच महिनामै सम्मेलन केन्द्र तयार गरिएको थियो । सरकारले हलभन्दबाहिरको खाली जग्गा एक सय रोपनी तोकेको थियो । तर, ४३ रोपनीमा हल निर्माण भए पनि त्यसको पार्किङ, गार्डेनलगायत निर्माणका लागि तोकिएको एक सय रोपनी जग्गामा सुकुमवासी बस्दै आएका छन् ।

हल भाडामा दिनका लागि भाडादर पनि तोकिएको छ । कार्यक्रमको लागि चार घन्टा भाडामा लिएको तीन लाख आठ हजार, आठ घण्टाको ४ लाख ११ हजार र १२ घन्टाको पाँच लाख ६८ हजार हलको भाडा तिर्नुपर्छ । हल भाडामा लिएकाहरूले त्यहाँभित्र रहेका सबै सुविधा प्रयोग गर्न पाउँछन् ।

हल निर्माण भएपछि ०७९ मा नेकपा एमालेले विधान अधिवेशन यहीँ गरेको थियो । त्यसयता दुईवटा मिस नेपाल अवार्ड, भारतीय स्पिकर अवार्ड, दुईवटा मोटिभेसनल कार्यक्रम सञ्चालन भएका छन् । ठूला कार्यक्रमहरू सञ्चालन नभएपछि समितिले आम्दानी गर्न सामान्य कार्यक्रमको लागि पनि हल भाडामा दिने गरेको छ ।

गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेले सरकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने हललाई पार्टी प्यालेस बनाएर दुरुपयोग गर्न नहुने बताए । ‘कतिपय सरकारी निकायका कार्यक्रम महँगा होटेलहरूमा हुन्छन्, तर यहाँको हल प्रयोगविहीन छ, सरकारले जे उद्देश्यले निर्माण गरेको त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ,’ उनले भने, ‘यो हलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन गर्ने हो भने यस क्षेत्रको पर्यटन विकास पनि हुन्छ ।’ उनले सभा सम्मेलनमा आएका मानिसहरू गोदावरीको पर्यटकीय क्षेत्रमा पनि पुग्ने भएकाले सरकारले त्यसतर्फ चासो दिनुपर्ने बताए ।