एक वर्षमा निर्माण सक्नुपर्ने ७० मिटर पुल सात वर्षमा पनि बनेन

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका– १, स्थित ओदाल खोलामा पुल निर्माणको काम सात वर्षसम्म अधुरै छ । पुल निर्माणमा भइरहेको ढिलाइले स्थानीय बासिन्दाले खोला तर्दा भोग्नुपर्ने सास्ती हट्न सकेको छैन । बंक–नाइल–बुडर सडकअन्तर्गत ओदाल खोलामा पुल निर्माणका लागि ०७३ भदौमा थेगिम–गाल्वा जेभीसँग सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पुलका दुई स्पानमध्ये सात वर्षको अवधिमा एउटा स्पान मात्र बनेको छ ।
पुल नहुँदा स्थानीयले बर्खायाममा खोला तर्न निकै सास्ती खेप्नुपर्छ । चुरेको फेदी भएर बग्ने यो खोला बर्खामा उर्लने भएकाले खोलापारिका बस्तीका बासिन्दालाई वारि र वारिको बस्तीका बासिन्दालाई पारि जान समस्या हुने गरेको स्थानीय बताउँछन् । खोलाको उत्तरतिर चुरेनजिक पर्ने सुन्दरीफाँटा र पहरिया गरी दुई गाउँ छन् । यी दुई बस्तीलाई खोलावारि जोड्ने अरु विकल्प छैन ।
कृष्णपुर– १, पहरियाका मंगुराम भुलले पुल नहुँदा बर्खामा बाढी आएको वेला खोला तारेर बिरामीलाई अस्पताल पुर्याउन समस्या हुने गरेको बताए । ‘बिरामी, सुत्केरी, सर्पले टोकेका बिरामीलाई अस्पताल पुर्याउन सकिँदैन । हामी खोलापारि जान पाउँदैनौँ,’ उनले दुःखेसो सुनाए, ‘पुल नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था छ ।’
गाउँबाट खोलापारि रहेको पहरिया गाउँको स्कुलमा अध्ययनका लागि जाने विद्यार्थीले खोला तर्न सास्ती खेप्नुपरेको उनले बताए । बर्खामा छोराछोरीलाई स्कुल पठाउन वारिपारि डोरी राखेर खोला तार्ने गरेको भुलले बताए । स्थानीयका अनुसार गाउँमा निमावि तहसम्मको मात्र विद्यालय रहेकाले माथिल्लो तह अध्ययन गर्न विद्यार्थी पारि जाने गरेका छन् । ‘खोला तार्नुपर्ने भएकाले सबै काम छाडेर अभिभावकले हरेक दिन छोराछोरीलाई स्कुल पुर्याउन जानुपर्छ,’ भुलले भने, ‘पुलको काम सुरु भएको सात वर्ष भइसक्यो, अझै कहिले सकिने हो थाहा छैन । खोला तर्दाको सास्ती तत्काल अन्त्य होलाजस्तो लाग्दैन ।’ पटक–पटक म्याद थप गर्दा पनि ठेकेदारले काम नगरेपछि पुल अलपत्र अवस्थामा छ ।
स्थानीय सोपेन्द्र कार्कीले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको बताए । खोलापारि बोर्डिङ र वारि मावि तहसम्मको सरकारी स्कुल भएकाले दैनिक खोला तरेर विद्यालय जाने विद्यार्थीको संख्या धेरै रहेको उनले बताए । ‘बर्खामा खोलामा बाढी धेरै आउँछ, वारिपारि जान सकिँदैन,’ उनले भने, ‘उपचार नपाएर मान्छेका जीवन गइरहेको छ ।’ हरेक बर्खामा ज्यान जोखिममा पारेर आवतजावत गर्नु परिरहेको कार्कीले बताए ।
पुल निर्माणका लागि सरोकारवाला निकाय र जनप्रतिनिधिकहाँ पटकपटक पुगे पनि कामले गति लिन नसकेको कार्कीले गुनासो गरे । ‘यहाँका जनप्रतिनिधिदेखि सडक कार्यालयसम्म भन्नुपर्ने सबै ठाउँ भन्यौँ, तर काम भएन,’ उनले भने, ‘अब पुल बन्ला भन्ने आशा पनि मरिसक्यो ।’ पुल अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरेर नयाँ ठेक्कामार्फत काम गराउन स्थानीयले माग गरेका छन् ।
सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाटले जनप्रतिनिधिका हैसियतले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरिएको बताए । कहिलेकाहीँ काम गरेजस्तो देखाएर जनता झुक्याउने काम निर्माण कम्पनीले गरिरहेको उनले बताए । ‘जनताले पुल कहिले बन्छ भनेर सोधिरहेका छन्, हामीले के जवाफ दिने,’ भाटले भने, ‘यो कम्पनीले काम नगर्ने हो भने तत्काल ठेक्का रद्द गरेर नयाँ प्रक्रियामार्फत काम गरिनुपर्छ ।’ सडक डिभिजन कार्यालयलाई पनि काम लगाउन नसक्ने हो भने कारबाहीको प्रक्रियामा जान भनेको उनले बताए ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पाँच करोड ४७ लाख रूपैयाँ लागत रहेको पुलको लम्बाइ ७० मिटर छ । डिभिजन कार्यालयका सूचना अधिकारी तारानाथ सिग्देलले पुलका दुईमध्ये एउटा स्पानको काम बाँकी रहेको बताए । सुरुको सम्झौताअनुसार एक वर्षमा काम सक्नुपर्ने भए पनि सात वर्षको अवधिमा करिब ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको उनले बताए ।
पछिल्लोपटक थप गरिएको अवधि गत असारमा सकिएको सिग्देलले जानकारी दिए । ‘अहिले दैनिक हर्जाना तिराएर काम गराइरहेका छौँ, निर्माण कम्पनीले अस्तिदेखि काम सुरु गरेको भनेको छ,’ उनले भने । कानुनअनुसार दैनिक हर्जाना तिरेर दुई सय दिनभित्र पनि काम पूरा नगरे ठेक्का तोडेर कारबाहीको प्रक्रियामा जाने सिग्देलले बताए । स्थानीय भने वर्षौँसम्म पुल अलपत्र पार्ने ठेकेदारलाई सडक डिभिजनले कारबाही गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्छन् । ठेकेदारलाई जोगाउन सडक डिभिजनका कर्मचारीको मिलेमतो रहेको उनीहरूको आरोप छ ।
हामीले यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ
प्रतिक्रिया