पाकिस्तान : चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्नसक्ने
एजेन्सी । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ ।
कुनै पनि अदालतको नाम उल्लेख नगरिकन निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा विभिन्न फोरममार्फत् चुनाव चिह्न परिवर्तन भइरहेको उल्लेख गरेको छ । निर्वाचन चिह्न वितरणपछि तीन वटा मुद्रण संस्थानलाई मतपत्र छपाइको आदेश दिइसकेको र एक दिनअघि नै मतपत्र छपाइको काम शुरु भइसकेको आयोगले जनाएको छ ।
आयोगले भनेको छ, “निर्वाचन चिह्न परिवर्तन गर्ने क्रम यसरी नै चलिरहने हो भने मतपत्र पुनःमुद्रण गर्नुपर्ने भएकाले निर्वाचनमा ढिलाइ हुने डर छ, यसका लागि समय सीमित भइसकेको छ भने अर्कोतर्फ मतपत्रका लागि उपलब्ध विशेष कागज पनि गुम्ने छ ।”
सन् २०१८ को आम निर्वाचनमा ११ हजार ७०० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा आगामी आम निर्वाचनका लागि उम्मेदवारको सङ्ख्यामा १८ हजार ५९ जना अर्थात् ३३ प्रतिशत बढी उम्मेदवारले भाग लिने आयोगले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचन चिह्न परिवर्तन गर्ने प्रवृत्ति नरोकिने हो भने त्यस्ता निर्वाचन क्षेत्रमा निर्वाचन सार्नुको विकल्प छैन भन्ने पनि विचार गरिएको छ । निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ) ले उम्मेदवारलाई दिइएको चुनाव चिह्न परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरका अनुसार निर्वाचन आयोगले प्रान्तीय निर्वाचन आयुक्त, डीआरओ र आरओलाई यो चरणमा चुनाव चिह्न परिवर्तन नगर्न र आवश्यक परेमा यसको लागि अनुमति लिन निर्देशन दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया