NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पाकिस्तानमा इरानले गरेको हमलाको अमेरिकाद्वारा निन्दा, चीनले भन्यो– संयमता अपनाऊ

काठमाडौं । अमेरिकाले पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । साथै उसले पछिल्ला केही दिनमा इरानले आफ्ना तीन छिमेकी देशको सीमा उल्लंघन गरेको ठहरसमेत गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बुधबार पाकिस्तान, सिरिया र इराकमा इरानले गरेको आक्रमण चिन्ताजनक रहेको बताए ।

इरानले आत्मरक्षाका लागि आक्रमण गरिरहेको भनेर बचाउ गरिरहँदा उनले इरानले आफ्ना तीन छिमेकी देशको सिमाना उल्लङ्घन गरेको बताए । उनले इरानको दाबी विरोधाभासपूर्ण रहेको जिकिर पनि गरे । इरानले एकातिर यस क्षेत्रमा आतंकवाद र अस्थिरतालाई आर्थिक सहयोग गरेको र अर्कातिर आतंकवादसँग लड्नका लागि यी कदम चाल्नुपरेको बताएको उनको भनाइ छ ।

उनले यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान हुने आशा पनि व्यक्त गरे ।

जैश अल–अदल नामक संगठनले आफ्नो देशमा लगातार आतंकवादी गतिविधि गरेको दाबी गर्दै इरानले मंगलबार पाकिस्तानको बलुचिस्तानमा हमला गरेको गरेको थियो ।

पाकिस्तान र इरानबीचको सम्बन्धमा तिक्तताको बीच चीनले भने दुवै देशलाई संयमता अपनाउन अपिल गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा दुई देशले अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय बडापत्रको सिद्धान्तअनुसार आपसी सम्बन्ध कायम गर्नुपर्ने बताइन्।