NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पाँच मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव १० वर्षदेखि अलपत्र

काठमाडौं । नेपाल प्रहरीमा भदौ ०६९ देखि कात्तिक ०७० सम्म कुवेरसिंह राना प्रहरी महानिरीक्षक थिए । त्यसपछि उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र वसन्तबहादुर कुँवर (हाल) प्रहरी महानिरीक्षक भए । तर, १० वर्षअगाडि रानाको कार्यकालमा अगाडि बढेको एउटा प्रस्ताव अहिलेसम्म अलपत्र छ ।

प्रस्ताव हो– पाँच मुलुकमा प्रहरी सहचारी राख्ने । नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, चीन, स्पेन र अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी कार्यालयमा प्रहरी सहचारी राख्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव कार्यान्वयनमा आएन ।

प्रत्येक आइजीले प्रस्तावित मुलुकमा प्रहरी सहचारी राख्न सरकारसँग माग गर्दै आएका छन् । हालका आइजी कुँवरले पनि गत १ भदौमै प्रस्तावित मुलुकमा सहचारी राख्न गृह मन्त्रालयमार्फत सरकारलाई पत्राचार गरेका छन् । तर, माग सुनुवाइ हुन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दानबहादुर कार्कीले तत्कालीन आइजिपी रानाकै पालामा विभिन्न पाँच मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव भएको, तर त्यो अझैसम्म कार्यान्वयनमा नआएको बताए । ‘नेपाल प्रहरीले विभिन्न पाँच मुलुकमा प्रहरी सहचारी राखिनुपर्ने आवश्यकता महसुस ग र्‍यो । तत्कालीन आइजिपी कुवेरसिंह रानाको पालामा संयुक्त अरब इमिरेट्स, मलेसिया, चीन, स्पेन र अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी कार्यालयमा प्रहरी सहचारी राख्न सरकारसमक्ष प्रस्ताव भयो । तर, त्यो प्रस्ताव हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन,’ उनले भने ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा खाडी मुलुक(युएई, साउदी, कतार, कुवेत, बहराइन र ओमन) मा मात्रै नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने मजदुरको संख्या १७ लाख ४२ हजार ८७७ छ । सोही अवधिमा मलेसियामा नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्नेको संख्या ४ लाख ३ हजार ९८ रहेको छ । त्यसबाहेक युरोपका मुलुक रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोल्यान्ड, बेलायतमा पनि श्रम स्वीकृति लिएर जाने नेपाली मजदुरको संख्या ह्वात्तै बढेको छ । तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा उक्त मुलुकमा श्रम स्वीकृति लिएर जाने र नवीकरण गर्नेको संख्या ८३ हजार ६४० पुगेको छ । यसमा शिक्षाका लागि बिदेसिने र भिजिट भिसामा उतै बस्नेहरूको संख्या समेटिएको छैन ।

तथ्यांकले पुष्टि गर्छ कि खाडी मुलुक, मलेसिया र युरोपका मुलुकमा नेपालीको संख्या अधिक छ । सँगै प्रहरीसँग सम्बन्धित समस्या पनि उत्तिकै जटिल र अधिक छन् । सोही कारण नेपाल प्रहरीले खाडी मुलुकलाई हेर्ने गरी युएई र युरोप हेर्ने गरी स्पेन र मलेसियामा प्रहरी सहचारी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रस्ताव कार्यान्वयनमा आएको छैन ।

प्रस्तावित मुलुकमा प्रहरी सहचारी नहुँदा श्रमजीवी वर्गको समस्या समाधानमा मात्र नभई अन्तरदेशीय प्रकृतिको अपराध नियन्त्रणमा समेत जटिलता आएको प्रहरीका सह–प्रवक्ता एसएसपी कार्कीले बताए । ‘खाडी मुलुकमा नेपाली श्रमिक धेरै छन् । मलेसियामा पनि नेपाली उत्तिकै धेरै छन् । युरोपका मुलुकमा पनि नेपालीको संख्या अधिक देखिन्छ । त्यससँगै प्रहरीसँग सम्बन्धित समस्या बढेका छन् । स–साना कानुनी अड्चन हुँदा पनि नेपालीले दुःख पाउनुपर्ने अवस्था छ,’ कार्की भन्छन्, ‘योसँगै ठूला प्रकृतिका अन्तरदेशीय अपराधका घटना भएका छन् । जसले नेपाललाई क्षति पु र्‍याइरहेको छ । जुन अनुसन्धान हुन जरुरी छ । यसैका लागि भनिएको हो, प्रहरी सहचारी ।’

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी कार्यालयमा प्रहरी सहचारी राख्न प्रस्ताव गर्नुको उद्देश्य भने भिन्न छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटी जाने नेपाल प्रहरीको संख्या ठूलो छ । यो संख्या आवश्यकताअनुसार घटबढ भइरहन्छ । जसका लागि राष्ट्रसंघ र नेपाल प्रहरीबीच समन्वय आवश्यक छ । यही उद्देश्यका लागि नेपाल प्रहरीले राष्ट्रसंघमा प्रहरी सहचारी राख्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, चीनमा विभिन्न उद्देश्यले गएका नेपालीको संख्या बाक्लो छ । पछिल्ला दिन नेपालमा अपराध गर्ने र चीन गएर लुक्ने चिनियाँ नागरिकको संख्या पनि उत्तिकै छ । अर्कोतर्फ चीन र नेपालबीच एमएलए सन्धि पनि भएको छ । सन्धि कार्यान्वयनका लागि पनि चीनमा प्रहरी सहचारीको भूमिका टड्कारो देखिएको छ । तर, प्रहरीको प्रस्ताव कार्यान्वयन हुन सकेको छैन ।

पारस्परिक कानुनी सहायता सन्धि (एमएलए) न्यायिक कारबाहीका विषयमा नेपाल र विदेशी मुलुकबीच पारस्परिक कानुनी सहायता आदानप्रदानसँग सम्बन्धित छ । यसका लागि नेपाल र सम्बन्धित मुलुकबीच सन्धि हुन आवश्यक छ । त्यसो हुँदा यो यसको प्रक्रिया जटिल छ । तर, प्रहरी सहचारी राख्ने विषय सम्बन्धित मुलुकको आन्तरिक मामिला हो । यसका लागि सम्बन्धित मुलुकको सम्बन्धित मुलुकमा दूतावास भएन ।

सन्धि र सहचारी नहुँदा अनुसन्धान प्रभावित हुने गरेको प्रहरीको बुझाइ छ । उदाहरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत २ साउनमा तस्करी भई आएको ६०.७१६ किलो सुनको ‘नेक्सस’ हङकङ जोडियो । घटनामा संलग्न अभियुक्तको विवरण संकलनका लागि नेपाल प्रहरीले हङकङ प्रहरीसँग अनुरोध ग र्‍यो । तर, सफलता हात लागेन ।

केही सीप नलागेपछि नेपाल प्रहरीले एसएसपी दिनेश आचार्यलाई हङकङ नै पठायो । अपेक्षित सहयोग यसपटक पनि प्राप्त भएन । कारण थियो, हङकङसँग नेपालको पारस्परिक कानुनी सहायता सन्धि९एमएलए० र प्रहरी सहचारी(एट्याची)दुवैै नहुनु ।

चूडामणि उप्रेती ‘गोरे’ समूहले विमानस्थलबाट पाँच वर्षअघि तस्करी गरी ल्याएको ३८ क्विन्टल सुनको कथा मात्र होइन, वर्ष दिनयता मीनबहादुर घले समूहले तस्करी गरेर ल्याएको १३८ किलो सुनको अपराध यात्रा दुबईको कुख्यात तस्कर समूहसँग जोडिन्छ । तर, प्रहरीले चाहेर पनि कसैलाई पनि पक्राउ गर्न सकेको छैन । कारण एउटै हो, दुबईसँग नेपालको एमएलए सन्धि र प्रहरी सहचारी राख्ने दुवै व्यवस्था नहुनु ।

ताजा अपडेट

नेपालवाच विशेष