NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २३ गते

गिरिबन्धुको फैसलाले पूर्वराजा ज्ञानेन्द्रलाई पनि धक्का

काठमाडौं । गिरीबन्धु टि इस्टेटको सट्टापट्टा रद्द गर्ने सर्वाेच्च अदालतको फैसलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि धक्का लागेको छ ।

गिरिबन्धु जस्तै पूर्वराजा शाहको हिमालयन महालक्ष्मी चियाबगानले पनि उद्योग स्थानान्तरणका लागि भूमी व्यवस्था तथा अभिलेख विभागमा निवेदन दिएको थियो । सो चियाबगानको नाममा दमक नगरपालिकाको वडा नम्बर १५ र ९ मा बगान पाँच सय ७५ बिघा जग्गा छ । यो बगानलाई ग्रामिण क्षेत्रमा स्थानान्तरण गरेर जग्गा बिक्री गर्न यस्तो निवेदन दिइएको थियो । गिरीबन्धुकै प्रक्रियालाई अदालतले रोक लगाएपछि हिमालयको निवेदनलाई विभागले त्यतीकै रोकिएको थियो । अब लगभग असफल भएको छ ।

तत्कालिन केपी ओली सरकारले भूमी ऐन नै संशोधन गरी हदबन्दी भन्दा धेरै जग्गा बिक्रि गर्न दिने विवादास्पद निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको इजलासले सट्टापट्टा गर्ने सरकारको निर्णय र त्यसअनुसार भएका सबै कामकारबाही बदर गर्ने फैसला गत बुधबार गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले जारी गरेको संक्षिप्त आदेशमा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/१/१३ को प्रत्यर्थी गिरीबन्धु टि स्टेट प्रा.लि.लाई ३४३–१९–१२ बिगाहा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारवाहीसमेत बदर हुने ठहर्छ ।’ यसअनुसार अब अन्य उद्योगको लागि पनि बाटो बन्द भएको छ ।