फेरि बढ्यो अफ्रिकन स्वाइन फिभरको संक्रमण, रोकथाममा नलागे १५ अर्ब नोक्सान हुने
जंगली बँदेलसमेत उच्च जोखिममा
काठमाडौं । अफ्रिकन स्वाइन फिभरको संक्रमण पुनः बढ्न थालेको छ । संक्रमण ज्यादा देखिएको गण्डकी प्रदेशमा मात्र यसको संक्रमणबाट ५० करोड बराबरको सुँगुर, बंगुर मरेका छन् ।
नेपाल पशु चिकित्सा परिषदले सुँगुर, बंगुर मात्र नभएर जंगली बँदेलसमेत यसको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन संघ, प्रदेश र स्थानीय तह सरकारलाई सुझाएको छ ।
तीनै तहका सरकारलाई मंगलबार परामर्श पत्र प्रेषित गर्दै परिषदले यसको नियन्त्रणका लागि तत्कालीन र मध्यकालीन उपायसमेत दिएको छ ।
नेपाल पशु चिकित्सा परिषदका अनुसार २८ जिल्लामा फैलिएको अफ्रिकन स्वाइन फिभरबाट १४ लाख घरपालुवा बंगुर जोखिममा परेका छन् । यसबाट व्यावसायिक रूपमा बंगुरपालन गरिरहेका ४ लाख किसानको पेशा नै संकटमा परेको छ ।
पछिल्लो समय गण्डकी प्रदेशमा तीव्र गतिमा अफ्रिकन स्वाइन फिभर बढिरहेको छ । यहाँको ४ जिल्लामा १६ हजार ५५४ बंगुर यसको संक्रमणबाट मरिसकेका छन् । यसबाट करिब ५० करोडबराबरको नोक्सानी भएको अनुमान छ । कैयन् यसको संक्रमणमा परिसकेका र बाँकी पनि संक्रमित हुने जोखिम रहेकाले क्षतिको अंक थप बढ्ने खतरा छ ।
परिषदले समयमै रोग नियन्त्रण गर्न सुझाउँदै त्यसो नगरेमा देशभर फैलने र ४० प्रतिशत अर्थात् ५ लाख ४३ हजार बंगुर संक्रमित हुने चेतावनी दिएको छ । यसमध्ये ६६.६ प्रतिशतको मृत्यु हुने अनुमान पनि परिषदको छ । अनुमान गरिएअनुसार बंगुरको क्षति भएमा १५ अर्ब १६ करोड ४९ लाख रूपैयाँ क्षति हुनेछ ।
अफ्रिकन स्वाइन फिबर एएसएफ भाइरसबाट घरपालुवा तथा जंगली सुँगुर प्रजातिका जनावरमा लाग्ने रोग हो । गत जेठमा नेपालमा पहिलो पटक यो रोगको संक्रमण देखापरेको थियो । यसबाट संक्रमित पशु झोक्राउने, गर्भवती भएमा तुहिनेदेखि मर्नेसम्म हुन्छ । यो रोगबाट घरपालुवा जनावर मात्र नभएर जंगली बँदेलसमेत उच्च जोखिममा रहेको परिषदको भनाइ छ ।
अफ्रिकन स्वाइन फिभरले दोस्रो पटक महामारीको आकार लिँदा भर्खंरै व्यावसायिक बनेका र अघिल्लो वेभबाट तंग्रिएर पुनः व्यवसायमा फर्केकाहरू संकटमा पर्दै गएका छन् । महामारीका कारण पेशाबाट पलायन हुने क्रम बढिरहँदा ठूलो परिमाणमा रोजगारी गुम्ने जोखिमसमेत बढेको परिषदको भनाइ छ । नेपालमा करिब ४ लाख परिवार अहिले प्रत्यक्ष बंगुरपालनमा संलग्न रहेको अनुमान छ ।
यसैबीच, नेपाल पशु चिकित्सा परिषदले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सातै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७५३ वटै स्थानीय तहमा अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रणबारे परामर्श दिएको छ । मंगलबार चार पृष्ठ लामो पत्र प्रेषित गर्दै परिषदले अफ्रिकन स्वाइन फिभरको उपचार, नियन्त्रण तथा रोकथामका लागि नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ बमोजिम परामर्श दिएको हो ।
परिषदले नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा ९ (६) बमोजिम परामर्श दिएको जनाएको छ । परिषद्ले यसअघि लम्पी स्किन महामारीका बेला पनि यसैगरी संघ, प्रदेश र स्थानीय तहलाई अफ्रिकन स्वाइन फिभरप्रति बेलैमा सचेत रहन सुझाएको थियो । तथापि, परिषद्को सुझावअनुरूप सरकारले तदारुकता नदेखाउँदा किसानले ठूलो क्षति व्यहोरेका थिए ।
परामर्शमा अफ्रिकन स्वाइन फिबरको जोखिमबारे सचेत गराउँदै बंगुर तथा बंगुरजन्य पदार्थको ओसारपसार रोक्ने, संक्रामक पशु रोग नियन्त्रण ऐन विधेयक पारित नहुन्जेलसम्म तत्काल नेपाल सरकारबाट अफ्रिकन स्वाइन फिभर रोगको नियन्त्रण गर्न आवश्यक पर्ने राष्ट्रिय निर्देशिका, कार्यविधि, कार्ययोजना जारी गर्नेलगायत ७ बुँदा छन् । त्यस्तै, परिषद्ले रोग नियन्त्रणका लागि मध्यकालीन तथा दीर्घकालीन परामर्श पनि दिएको छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया