NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २७ गते

आइजिपी र एआइजीसँग गृहमन्त्री आक्रोशित

काठमाडौं। सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन परिसरभित्र आन्दोलनकारी छिरेर प्रदर्शन गरेको घटनामा गृहमन्त्री नाराणकाजी श्रेष्ठले प्रहरी नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् । सुरक्षामा चुकेको भन्दै उनले प्रहरी नेतृत्वसँग स्पष्टिकरण लिएका छन् ।

यस्तो अकल्पनीय वातावरण सिर्जना भएको र समयमै नियन्त्रण हुन नसकेको कारणबारे उनले गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौ उपत्यका प्रहरी प्रमुख दिपक थापा, गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवम प्रवक्ता नारायणप्रसाद भट्टराई, गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख रुद्र पन्डित, काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतलाई आफ्नो परिसरमा बोलाएर स्पष्टीकरण लिएका हुन् । खासगरी आइजिपी कुँवर र एआइजी थापासँग गृहमन्त्रीले आक्रोश पोखेको गृह मन्त्रालय स्रोत बताउँछ ।

सोमबार दिउँसो लघुबित्त संस्थाविरुद्धको संघर्ष समितिका केही व्यक्तिहरू नयाँ बानेश्वरस्थित संघीय संसदको २ नं. गेटबाट संघीय संसद भवन परिसरभित्र ४९ जना आन्दोलनकारी प्रवेश गरेका थिए । उनीहरु लघुवीत्त पीडित हुन् । संसद भवन जस्तो संवेदनशील क्षेत्रमा आन्दोलनकारी छिरेको भन्दै गृहमन्त्री प्रहरी नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।

घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा समिति गठन भएको छ । जसमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायव उपरीक्षक दिनेश घिमिरे सदस्य छन् ।