NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

मुख्यसचिव अर्याल र भ्रष्टाचार अभियुक्त पौडेलबीच आर्थिक लेनदेन

काठमाडौं । भ्रष्टाचारका करिब दर्जन कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको थुनामा रहेका सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र मुख्य सचिव वैकुण्ठ अर्यालबीच ‘संदिग्ध आर्थिक लेनदेन’ भएको पाइएको छ । अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङमा पुनः नियुक्तिको दौडधुपमा रहेका पौडेलले तेस्रो व्यक्तिमार्फत रकम दिएको प्रमाण भेटिएको छ ।

सेक्युरिटी प्रिन्टिङका उपकरण खरिदमा ६९ करोड ८ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विकलसहित नौ जनाविरुद्ध दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यस्तै गैरकानुनी आर्जनसहितका दर्जन कसुरमा अनुसन्धान गर्न उनलाई अख्तियारले थुनामा राखेको छ । उनीविरुद्ध नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एकसाथ अनुसन्धान गरिरहेका छन् । यस्ता व्यक्तिसँग निजामती प्रशासनको सर्वोच्च पदमा रहेका अर्यालले आर्थिक लेनदेन गरेको भेटिएको हो, त्यसो त अर्याल स्वयम् पनि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियारको अनुसन्धानको दायरामा छन् ।

पौडेल र अर्यालबीच ‘ह्वाट्सएप’ मा नियमित सन्देश आदानप्रदान हुने गरेको, सरकारी फाइल आदानप्रदान भएको र अर्यालले बैंक खाता नम्बर पठाएपछि विकलले क्रमशः ५ लाख र ९ लाख रुपैयाँ दिलाएको देखिन्छ । दुवै पटक तत्कालीन सञ्चार सचिव अर्यालले तोकेका मानिसको बैंक खातामा रकम जम्मा भएको भौचर  प्राप्त भएको छ ।

भ्रष्टाचार अनुसन्धानमा रहेका विभिन्न निकायबाट प्राप्त कागजपत्रअनुसार दुई जनाबीच २०७८ भदौ २१ (सेप्टेम्बर ६, २०२१) देखि ह्वाट्सएपमा संवाद सुरु हुन्छ । साँझ ६:३९ मा अर्यालको ९८५११८८८१३ नम्बरमा म्यासेज आउँछ, ‘नमस्कार हजुर म विकल ।’ भोलिपल्ट सेक्युरिटी प्रिन्टिङ सेन्टरको एउटा डकुमेन्ट पनि यही नम्बरमा ‘फरवार्ड’ हुन्छ ।

पुष्पकमल दाहाल प्रधानमन्त्री र सुरेन्द्र (राम) कार्की सञ्चारमन्त्री भएका बेला तत्कालीन मन्त्रिपरिषद्को अन्तिम बैठकले २०७४ जेठ १९ मा पौडेललाई सेक्युरिटी प्रिन्टिङको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । पछि केपी शर्मा ओली प्रधानमन्त्री र गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा भएको ७० करोडको अडियो प्रकरणको पृष्ठभूमिमा पनि उनै पौडेल थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।