एमाले नेता तथा व्यवसायी न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

काठमाडौं । शेयरको इन्साइडर ट्रेडिङ गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका एमाले नेता तथा व्यवसायी गुरुप्रसाद न्यौपाने दोषी ठहर भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले मंगलबार उनीमाथि कसुर ठहर गरेको हो ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। सजाय भने अर्काे पेशीमा तोकिने भएको छ । यही मुद्दाका अर्का प्रतिवादी कुवेरमणि नेपालले भने सफाइ पाएका छन्।
न्यौपाने र नेपालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १३ कात्तिकमा मुद्दा दायर गरेकोमा पाँच महिना नपुग्दै फैसला आएको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार १५ चैतका लागि सजाय निर्धारणको पेसी तोकिएको छ।
हाइडोपावर व्यवसायी न्यौपाने रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष थिए। उनले उक्त कम्पनीको सेयर पदमा बहाल रहेकै बखत खरिद–बिक्री गरेको भेटिएको थियो। यस कार्यमा नेपालले सहजीकरण गरेको विभागको अनुसन्धानले देखाएपछि उनलाई समेत प्रतिवादी बनाइएको थियो।
उनीहरू दुवैको मिलेमतोमा २०७७ चैतदेखि २०७८ साउनसम्म सेयर खरिद–बिक्री गरिएको भेटिएको थियो। दुवै मिलेर एक करोड ९९ लाख रुपैयाँभन्दा बढी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको थियो।
यसअघि उनलाई नेपाल धितोपत्र बोर्डले समेत कारबाही गरेको थियो । सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छानबिन गरी मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया