NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रुसको कन्सर्ट हलमा बन्दुकधारीद्वारा आक्रमण, कम्तीमा ६० जनाको मृत्यु

काठमाडौं (एजेन्सी) । रुसको कन्सर्ट हलमा बन्दुकधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । १४५ जनाभन्दा बढी घाइते छन् ।

मस्कोको पश्चिमी उपनगरस्थित भेटेरन रक ब्याण्डको कन्सर्टमा भेला भएका दर्शकमाथि शुक्रबार राति बन्दुक तथा विस्फोटक पदार्थ प्रहार गरिएको हो । यो रुसकै सबैभन्दा ठूलो झण्डै साढे ६ हजार मानिस अट्न सक्ने क्षमताको कन्सर्ट हल हो ।

पाँच बन्दुकधारीले कन्सर्टको भीडको बीचमा  बन्दुक र पेट्रोल बम प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्सर्ट हलमा बन्दुकधारीले आक्रमण थालेपछि भागदौड मच्चिएको थियो । आक्रमणकारीले विस्फोटक पदार्थ प्रहार गर्दा आगलागीसमेत भएको र कैयन् निस्सासिएर भित्रै फसेको अनुमान गरिएको छ ।

आक्रमणको कट्टरपन्थी समूह आईएसआईएलले जिम्मा लिएको छ । उसले आक्रमणकारी त्यहाँबाट भाग्न सफल भएको दाबीसमेत गरेको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ । आक्रमणको दाबी गर्ने आईएसआईएल इराक र सिरियामा नियन्त्रण खोज्ने समूह हो ।