NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जाले फेरिएको भूपू सैनिकको परिचय

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एउटा कर्जा जसले सैनिक र भूपू सैनिकलाई बनाइरहेछ उद्यमी

काठमाडौं । सामान्यतया जागिरे जीवनबाट अवकाशपछि अधिकांश फुर्सदिला हुन्छन् । ‘यतिका वर्ष काम गरियो, अब आनन्दसँग बसौं’ भन्ने थकित मानसिकता धेरैको हुन्छ ।  झण्डै १७ वर्ष नेपाली सेनामा बिताएका रुद्रबहादुर गुरुङलाई पनि यस्तै सुविधा थियो । तर केही नगरी सुस्ताएर बस्न उनको मनले मानेन । बरु केही गर्नु पर्छ भन्ने हुटहुटी भित्रभित्रै जागृत भयो ।

केही उद्यम गरेर सक्रिय जीवन बाँचिरहने त्यही अन्तस्करणको भावनाबाट निर्देशित भएर उनले पेपर कम उद्योग खोल्ने निचोड निकाले । श्रीमती लक्ष्मीबाट यो काममा ग्रिन सिङ्नल पनि मिल्यो । तर त्यसका लागि लाखौं लगानी आवश्यक थियो । किनभने, एउटै मेसिनको १६ लाख रूपैयाँ पथ्र्यो । जागिरबाट अलिअलि रकम जम्मा गरेको भए पनि यति ठूलो धनराशी उनीसँग थिएन ।

आफ्नो योजनामा लगानी बाधा बनेर उभिएपछि रुद्र रनाहमा परे । कर्जा लिएर लगानी जुटाउनुको विकल्प उनीसँग थिएन । कर्जा लिएरै काम त गर्ने तर कहाँबाट ? जागिरे जीवनमा व्यस्त भएर भर्खरै मात्र फुर्सदिला बनेका रुद्रसँग कर्जा कहाँ पाइन्छ, कसरी लिनेजस्ता आधारभूत ज्ञान नै थिएनन् । यत्तिकैमा उनले अवकाशप्राप्त सैनिक र सैनिकका परिवारले स्वरोजगारका लागि नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बीचको आपसी सहमति,समझदारी र सहकार्यमा सञ्चालित सहुलियतपूर्ण कर्जा पाइने थाहा पाए । उद्यम सुरु गरेको चार वर्षपछि भेटिएका रुद्र बैंकको यो सहुलियत कर्जा आफ्ना लागि ‘ढुंगा खोज्दा देउता मिले’जस्तो भएको सुनाउँछन् । उनका अनुसार, बैंकबाट श्रीमतीको नाममा लिएको सात लाख रूपैयाँ र आफूसँग भएको रकमबाट ०७६ सालमा सुरु गरेको रिमिसा पेपर कप प्रडक्सन प्राइभेट लिमिटेडले अहिले गति मात्र पक्डेको छैन, राम्रै उचाइसमेत बनाएको छ । ३० लाख लगानीमा सुरु उद्योगको लगानी ५० लाख पुगेको र मासिक आम्दानी नै डेढ लाख रूपैयाँ हाराहारी हुने उनले प्रसन्न मुद्रामा सुनाए ।

‘सायद नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मेरो व्यवसाय सञ्चालनमा कर्जा प्रवाह नगरेको भए सायदै म आजको स्थितिमा हुने थिएँ,’ रुद्र कृतज्ञ सुनिए ।

०००

सैनिक सेवाबाट अवकाशपछि ४२ वर्षीय दीपक खड्काले भक्तपुरको कटुन्जेमा नर्सरी व्यवसाय सुरु गरे । सैनिक सेवामा आवद्ध हुनुभन्दा पहिले पनि साजसज्जाको काम गरेको र आफ्नै दाजुको नर्सरी व्यवसायसमेत भएकाले यसप्रति उनको रुचि बढेको थियो । १० लाख लगानीमा श्रीमती रमासँग मिलेर नर्सरी खोल्न उनी कस्सिए । नर्सरीले काठमाडौं उपत्यकाका अलावा काठमाडौंबाहिर पनि विरुवा सप्लाइ गथ्र्यो । व्यवसाय ठीक–ठीकैसँग अघि बढ्दै थियो । यत्तिकैमा विश्वलाई नै कोरोनाभाइरस महाव्याधिले दपेट्यो । दीपक यसबाट आफ्नो व्यवसाय पनि प्रभावित भएको र अपेक्षित कमाइ गर्न नसकेको बताउँछन् ।

कोरोनाभाइरस महामारीले व्यवसायमा मन्दी आइरहेको थियो, उता दीपक–रमा दम्पतीलाई भने व्यवसाय विस्तार गर्ने मोह जागिरहेको थियो । व्यवसाय बढाउन लगानी पनि थप्नुपर्ने थियो । जागिरबाट जम्मा गरेको पैसा लगानीको पहिलो चरणमै सकिएकाले दीपक कर्जाको खोजीमा लागे । तर कतैबाट मिलेन । कर्जा खोजीमा भौतारिरहेका बेला उनको दिमागमा भूपू नेपाली सैनिकलाई सहुलियत दरमा बैंकबाट कर्जा पाइने क्लिक भयो । त्यसलगत्तै बैंकबाट न्यून ब्याजदरमा महिला उद्यमशीलता कर्जा लिएको र त्यसले आफ्नो व्यवसायलाई नयाँ उचाइमा पु¥याएको दीपकको अनुभव छ । २ वर्षको किस्ता बुझाइसकेका दीपक तीन–तीन महिनामा किस्ता तिर्नुपर्ने भएकाले सहज भएको बताउँछन् ।

०००

अवकाशपछि व्यवसायमा जम्दै गरेका अर्का भूपु सैनिक हुन्,  नेपाली सेनाका सवारी चालक ४१ वर्षीय टीकाराम बोहरा । रुद्र र दीपकजस्तै उनी पनि आफ्नो पूरानाे पेसालाई छाेडी कृषि पेशामा रमाएका छन् । आफ्नाे उद्यम यात्राको गोरेटो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जाले कोरेको सगर्व सुनाउँछन् ।

बोहोरा जागिर छाडेलगत्तै उद्यममा लागेका भने होइनन् । छोराछोरीको उज्ज्वल भविष्यको चिन्ताले दपेटिएका उनी सुरुमा वैदेशिक रोजगारीको यात्रा समात्दै खाडी पसेका थिए । तर उनको वैदेशिक रोजगारी यात्रा सोचेजस्तो सुखद् रहेन । त्यहाँ  आफूले अनेकौं दुःख झेलेका र त्यसबाट इखिएर नेपालकै माटोमा केही गर्छु भनी कृषि फार्म सञ्चालन गरेको उनी बताउँछन् । ०७८ सालबाट कृषि फार्म सुरु गरे पनि औपचारिक रूपमा दर्ता भने ०७९ मा गरेको उनले सुनाए । कृषि फार्ममा करिब १६ लाख रूपैयाँ लगानी गरेका उनले आफूजस्तै भूपु सैनिक साथीहरूबाट थाहा पाएर इन्भेष्टमेन्ट बैंकले दिने सहुलियत कर्जा लिएको र त्यसले निकै ठूलो भरथेग गरेको बताए ।

‘मेरा साथीहरुले पनि नेपाली सेना कल्याणकारी बोर्डकै सिफारिसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिएर व्यवसाय गरिरहनुभएको रहेछ, उहाँहरूले मलाई पनि उक्त बैंकमा कर्जा लिनको लागि सुझाव दिनुभयो, त्यसपछि  बाेर्डमा गएर बुझेँ, बाेर्डले सिफारिस गरिदिएपछि प्रक्रिया पूरा गरेर ऋण लिएँ ।’

न्यून ब्याजदरमा बैंकबाट १५ लाख कर्जा लिएका उनले ‘केही गर्छु’ भन्नेलाई ऋण प्रवाह गर्नु खुशीको कुरा भएको बताए ।

भक्तपुरको झउँखेलमा जग्गा भाडामा लिएर तरकारी व्यवसायी गर्दै आइरहेका उनले फार्ममा ७ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन् । उनले उत्पादन गरेको तरकारी काठमाडौं उपत्यका भित्रका उपभोक्ताभित्र मात्र नभइ सेना र प्रहरीको भान्छामा समेत पाक्छ । कृषि फार्ममा २६ लाखबराबरको लगानी गरिसकेका उनी खर्च कटाएर मासिक ५० हजार आम्दानी हुने गरेको बताउँछन् ।

०००

नेपाली सेनाका बहालवाला सैनिकका परिवार र अवकाशप्राप्त सैनिकमा न्यून आयले पारिवारिक आवश्यकता पूरा गर्न वैदेशिक रोजगारीमा जानुपर्ने लगायत बाध्यता छन् । पारिवारिक आवश्यकता पूरा गर्न बीचमै जागिर छाडेर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति त सेनामा ह्वात्तै बढेको छ । देशमै केही गर्ने सोच भएकाहरू पनि लगानी अभावमा खुम्चनु परेको अवस्था छ । यस्तोमा सेनाका बहालवाला सैनिक र भूपू सैनिक तथा तिनका परिवारका सदस्य र पारिवारिक निवृत्तिभरण रहेका एकल महिलालाई नेपाली सेना कल्याणकारी बोर्डको सिफारिसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रवाह गर्ने न्यून ब्याजदरको कर्जा आफ्नै लगानीमा उद्यम गर्न चाहनेका लागि वरदान बनेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अनुसार, बैंकले प्रवाह गर्ने ऋण लिएर कैयन सैनिक परिवार तथा भूपू सैनिक अरूलाई रोजगारी प्रदान गर्ने हैसियतमा उक्लिएर उद्यमी बनेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अनुसार, सैनिक र भूपू सैनिकका विशेषगरी महिला सदस्यलाई लक्षित गरेर बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरिएको हो ।

कर्जा बाँड्दै, उद्यमी जन्माउँदै बैंक 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक दशक २०७० साल माघदेखि नेपाली सेना कल्याणकारी वोर्डसँगकाे सहकार्यमा भूपु सैनिक र सैनिकका परिवार विशेषगरी महिलाहरूलाई केन्द्रित गरी सहुलियत दरमा कर्जा प्रदान गर्दै आइरहेको छ । यसका साथै बाेर्डले बैंकसँग मिलेर अवकाशप्राप्त सैनिक, सैनिकका अन्य सदस्यलाई विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ । उक्त तालिममा व्यवसाय सुरु गरिसकेका र व्यवसाय सुरु गर्न लागेकाहरूलाई ३ देखि ७ दिनसम्मको ‘सर्ट टम’ तालिम प्रदान हुने बैंकको भनाइ छ ।

व्यवसायी गरिसकेका र गर्न चाहनेहरूलाई बैंकले महिला उद्यमशीलता कर्जा कार्यक्रमतर्फ १५ लाखसम्म र व्यवसायिक कृषि तथा पशुपन्छी  कर्जा कार्यक्रमतर्फ अधिकतम ५ कराेडसम्म कर्जा प्रदान गरिने बैंकले जनाएकाे छ ।

बैंकले हालसम्म (२०८० फागुन मसान्तसम्ममा) सैनिकका परिवार ९ हजार ९८७ जना, भू.पू सैनिक एवं तिनका परिवार २३ हजार ५८ जना गरी कुल ३३ हजार ४५ जनालाई ७ अर्ब ४५ करोड ८७ लाखभन्दा बढी रुपैयाँ बराबरको कर्जा प्रवाह गरिसकेको छ । जसमध्ये तीन हजार एक सय महिलालाई साढे दुई अर्ब कर्जा प्रदान गरिसकेको बैंकले जनाएको छ । यो संख्या भने व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेकाहरुको मात्रै हो ।

कर्जा मात्रै नभएर  नेपाली सेना कल्याणकारी वोर्डले बैंकसँग मिलेर ०७२ सालदेखि  बहालवाल सैनिकका परिवार, भूपु सैनिक एव. तिनका पररिवारहरूलाई कृषि खेती, गाई गोरु, बाख्रापालनसम्बन्धी, च्याउ खेती, सुन्तला, तरकारी खेती, उद्यमशीलता तालिमजस्ता तालिमहरू प्रदान गर्दै आइरहेको छ । साथै घरेलु उद्मम व्यवसाय र बेकरीको तालिमसमेत दिने गरेको बैंकले जनाएकाे छ ।

यस्तो तालिम वार्षिक २ हजारभन्दा बढीलाई दिने गरिएको र ८ वर्षको अवधिमा १८ हजार सातसयभन्दा बढीले लिइसकेको बैंकले जनाएको छ ।

कार्यक्रम सञ्चालनको १० वर्ष भइसकेको अवस्थामा यस प्रकारको कार्यक्रम दुई भिन्न संस्थाबीचको आपसी सम्बन्धको एउटा अनुपम उदाहरण भएको पनि बैंकको भनाइ छ ।

यस कार्यक्रममा सहभागिताहरुको संख्या दिनानुदिन बढ्दो छ भने कर्जा कार्यक्रमबाट लाभ लिएर उद्यम व्यवसाय विस्तार गर्नेहरु उल्लेखीनीय रुपमा रहेको बैंकले जनाएको छ ।

यस कार्यक्रमको उद्देश्य आर्थिक अभावमा नयाँ व्यवसाय सञ्चालन गर्न र संचालित व्यवसायको विस्तार गर्न असमर्थ भएकाहरुलाई सहुलियत कर्जा उपलब्ध गराई स्वः रोजगारको अवसर सिर्जना गर्ने, महिला उद्यमशील क्षमताको विकास गर्ने र अन्तत उनीहरुको आर्थिक तथा सामाजिक जीवन स्तरमा अभिवृद्धि ल्याउने रहेको छ ।

यी काम गर्न पाइन्छ ऋण

उद्यम व्यवसाय

कर्जा लिएपछि पाँच वर्षभित्र किस्ता चुक्ता गर्नुपर्ने यस कार्यक्रमबाट अधिकतम १५ लाखसम्म कर्जा पाइन्छ भने कर्जाको किस्ता ३/३ महिनामा तिर्नु पर्दछ । जग्गा खरिद गर्न, गाडी किन्न र घर बनाउनबाहेक सामान्यता स–साना सबै प्रकारका उद्यम व्यवसाय सञ्चालन गर्न महिलाको लागि मात्र ८०ः२० को अनुपातमा यस प्रकारको कर्जा प्रवाह हुन्छ ।

कर्जा लिनको लागि अनिवार्य रुपमा व्यवसाय दर्ता गरी प्यान नम्बर लिनुपर्दछ । यसका साथै कुन व्यवसाय कसरी सञ्चालन गर्ने हो, त्यसको संक्षिप्त वित्तिय प्रस्ताव पेश गरी व्यवसायको अनिवार्य रुपमा बीमा गर्नु पर्ने हुन्छ ।

व्यवसाययिक रूपमा कृषि  एवं पशुपन्छी पालन उद्यम गर्न

यो कर्जा कृषि तथा पशुपन्छी पालन  व्यवसासँग सम्बन्धित व्यवसायकाे लागि मात्रै  पाइन्छ । कर्जा लिएपछि पाँच वर्षभित्र किस्ता चुक्ता गर्नुपर्ने यस कार्यक्रमबाट अधिकतम पाँच करोडसम्म कर्जा पाइन्छ । अरु प्रकृया महिला उद्यमशील कर्जाको जस्तै हो ।