NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

‘ब्लडलेस’ गढीमाई मेला सम्भव छ ?

काठमाडौं । पशुबलि सही कि गलत ? यो प्रश्नको उत्तर एउटै नआउन सक्छ । कोही पशुबलिको पक्षमा त कोही विपक्षमा खडा हुन सक्छन् । कसैले परम्परादेखि चल्दै आएको पशुबलिलाई निरन्तरता दिनुपर्ने धारणा राख्ने गर्छन् भने कसैले निरुत्साहित गर्दै लैजानुपर्ने सुझाव दिँदै आइरहेका छन् ।

वास्तवमा भन्ने हो पछिल्लो समय पशुबलिको सम्बन्धमा पक्ष र विपक्षतर्फबाट ठूलो बहस हुन थालको छ । नेपाली समाजकै कुरा गर्ने हो भने पशुबलि निकै जरा गाडेर बसिसकेको छ । त्यसैले यसको निर्मूल आजको भोलि नभएर केही समय लाग्छ नै ।

लामो समयदेखि चल्दै आएको यो पशुबलि आजसम्म पनि जारी नै छ । आजको समयमा पनि धर्मकर्मकै नाममा विभिन्न मन्दिरमा लाखौँ अबोध पशुको बलि हुुने गर्छ । नेपालको सन्दर्भमा सबैभन्दा धेरै पशु बलि हुने ठाउँ  गढीमाई मन्दिर हो । त्यहाँ हरेक पाँच वर्षमा एक पटक ठूलो संख्यामा पशुहरुको बलि दिने गरिन्छ । पशुबलिकै लागि देश तथा विदेशबाट तीर्थालु आउने गरेका छन् ।

पशु अधिकारकर्मीहरूले पशुबलिविरुद्धको आवाज सन् २००९ देखि नै थालेको त्यही क्षेत्रका सरोकारवालाहरू बताउँछन् । त्यसैको परिणामस्वरूप सन् २०१४ मा पशुबलि आधाभन्दा कम भएको थियो । सन् २००९ मा भने पाँच लाखभन्दा बढी पशुको बलि भएको थियो । पशुअधिकारकर्मीको पहलकै कारण नेपालको सर्वोच्च अदालतले पशुबलिलाई निरुत्साहित गर्दै लैजानुपर्ने आदेश दियो । भारतको सर्वोच्च अदालतले पनि सन् २०१४ को अन्तरिम आदेशमा पशु ढुवानीमा रोक लगाएको थियो । सर्वोच्चको आदेश आए पनि पशु अधिकारकर्मीहरूले पशुबलिविरुद्ध आवाज उठाइरहँदा पनि वास्तविक रूपमा भने पशुबलि रोक्न सकेको छैन । यसमा एउटा मात्रै कारण नभएर विविध रहेको सरोकारवालाहरूको भनाइ छ ।

गढीमाई मेलाको इतिहास

गढीमाई मेलामा विश्वकै सबैभन्दा धेरै पशुबलि दिने गरिन्छ । गढीमाई मेला करिब ५००–६०० वर्षअघि सेनाकालमा सुरु भएको मानिन्छ । गढीमाई मन्दिर बारा जिल्ला, गढीमाई नगरपालिकामा  पर्छ । मेलामा देश तथा विदेशबाट हजारौंको संख्यामा मानिसहरू पशुबलि चढाउनकै लागि आउने गर्छन् ।

मन्दिरमा पशुबलि चढाउँदा गढीमाई देवीले सबै मनोकांक्षा पूरा गर्ने जनविश्वास रहँदै आएको छ । त्यहाँ हरेक पाँच वर्षमा गढीमाई मेला लाग्छ । मेलाको अवसरमा त्यहाँ हजारौँ पशुको बलि चढाइन्छ । विशेषगरी राँगा, सुँगुर, बोका, कुखुरालगायत जनावरको बलि चढाइन्छ ।

गढीमाई मेला स्थापनाको रोचक इतिहास छ । धेरै वर्ष पहिले गाउँकै जग्गाधनी भगवान् चौधरीको घरमा एक जना चोर आएका थिए । गाउँलेहरूले यो कुरा थाहा पाएपछि मिलेर चोरलाई कुटीकुटी मारिदिए । चोरलाई मारेको दोष आफूहरूमाथि आइलाग्छ भन्ने कुराले सबै गाउँले डराएका थिए । तर भगवानले सबै दोष आफूमाथि लिए । उनी धार्मिक व्यक्ति थिए । जेलमा हुँदा सपनामा कालीमाताले दर्शन दिएको र ब्युझिँदा आफू जेलबाहिर पाएको थाहा पाए ।

त्यसपछि उनले कालीमाताको मन्दिर बनाउँछु भनेर वचन दिएर आफ्नो घर फर्किए । उनले आफ्नो खुट्टामुनिको माटो मन्दिरमा प्रयोग गरे जहाँ उनलाई कालीमाताले दर्शन दिएका थिए । त्यही माटो पगडीमा बाँधेर आफ्नो गाउँ बरियारपुर फर्किए ।

मकवानपुरको किल्लादेखि आफ्नो गाउँ बरियारपुरसम्मको बाटो टाढा भएकाले उनी ठाउँठाउँमा आराम गर्दै गए । उनी आराम गरेको एक ठाउँमा माटोको एक अंश खस्यो, जहाँ–जहाँ माटोको अंश खस्यो, पछि ती ठाउँ गढीमाई देवीको पूजास्थल बन्यो । जसमध्ये मकवानपुर गढी, जीतपुर गढी आदि हुन् । गढीमाईमा पुग्न नसक्नेहरू ती ठाउँमा गएर पूजा गर्छन् ।

भगवान् गाउँ पुगेपछि वाचाअनुसार मुख्य मन्दिर निर्माण गरे । उनले गढीमाईलाई केही अर्पण गर्न चाहन्थे । उनले आफ्ना शरीरका विभिन्न पाँच भागबाट रगत चढाए ।

पछि देवीलाई आफ्नो रगतको सट्टामा पशुहरू चढाउन थाले । त्यहीँबाट गढीमाईमा पशुबलि सुरु भएको हो ।

पशुबलिबारे धार्मिक ग्रन्थमा के लेखिएको छ ?

संसारमा रहेका प्रमुख धर्मग्रन्थहरूको सूक्ष्म तरिकाले अध्ययन गर्ने हो भने त्यहाँ कतै पनि पशुबलिलाई प्रेरित गरेको पाइँदैन । मानिसहरूले नै आफ्नो स्वार्थ र चाहनाअनुसार व्याख्या गरेको पाइन्छ । त्यही व्याख्याअनुसार संसार चलेको देखिन्छ । जसअनुसार आममानिसमा पशुबलि दिँदा मात्रै मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।

तर धार्मिक ग्रन्थको अध्ययन गर्ने हो भने कुनै पनि धर्मले त्यसो भन्दैन । बरू उल्टै हिंसा, हत्या त्याग्ने तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा उल्लेख गरिएको छ ।

प्रसिद्ध ग्रन्थ महाभारतमा लेखिएको छ ..

वर्षेवर्षेक्श्वमेधेन यो यजेत शतं समाः।

यस्तु मांसं न खादेत तयोः पुण्यफलं समम्।।

अर्थात् ‘लाखौं खर्च गरेर सय वर्षसम्म अश्वमेध यज्ञ गरेको फल हिंसा हत्या त्यागे र मासु नखाए बराबरी हुन्छ भनिएको छ ।’

संसारमा ईश्वरले मानिसलाई मात्रै नभएर विभिन्न पशुप्राणीलाई पनि सृष्टि गरेको छ । त्यसैले संसार मानिसको लागि मात्रै होइन, पशुको लागि पनि हो । जसरी मानिसलाई बाँच्ने हक छ, त्यसैगरी पशुलगायत चराचर जगतका सबै प्राणीलाई छ । पृथ्वी मानिससहित सबै प्राणीको साझा घर हो ।

हिन्दु धार्मिक ग्रन्थ स्कन्दपुराणमा लेखिएको छ,

धर्ममूलमहिंसा च मनसा तां च चिन्तयन्।

कर्मणा च तथा वाचा तत् एतां समाचरेत।।

अर्थात् धर्मको मूल अहिंसा हो । त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नू । पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ ।

बलि रोक्न सकिँदैन, परिमार्जन आवश्यक  : संस्कृतविद्

संस्कृतविद् जगमान गुरुङ बलिप्रथा आदिमकालदेखिको प्रचलन भएको बताउँछन् । बलिप्रथा आदिमकालदेखि चल्दै आएको परम्परा भएकाले यसलाई हटाउन सम्भव नभएको बरू समयसँगै परिमार्जन र संशोधन गर्दै लैजान सकिने उनको भनाइ छ ।

‘समय परिवर्तन हुँदै आएसँगै पशुबलि दिनुहुन्न भनेर आएको छ । पछिल्लो समय पशुबलि दिनुको सट्टामा अरू नै चिज दिन थालिएको छ । जस्तो, दशैँमा राँगो बलि दिनुको सट्टा कुभिण्डोको बलि दिने गरिन्छ । पहिले हवन गर्ने बेला नरबलि दिने चलन थियोे । अहिले नरिवल बलि दिने गरिन्छ । त्यस्तै पूजामा सुपारी चढाइन्छ । यी सबै समयसँगै बलिमा आएको परिवर्तन हो ।’

बलि चढाउन प्रोत्साहित गर्दैनौँ, इन्कार पनि गर्न सक्दैनौँ

गढीमाई मन्दिरका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शाह बलि प्रथा आफ्नो मनखुशी चढाउन आउने भएकाले यसमा केही गर्न नसक्ने तर्क गर्छन् ।

एक महिनादेखि डेढ महिनासम्म गढीमाई मेला लाग्ने बताउँदै उनले भने, ‘भाकल गरेर यहाँ आउनेको भीड हुन्छ । कसैले कपाल कटाउने, परेवा उडाउने, नरिवल बलि दिनेहरू पनि हुन्छन् । हामी कसैसँग माग्न जाँदैनौँ, ल्याऊ पनि भन्दैनौँ, भक्तजन आफैंले ल्याउने हो । बलि दिएर जान्छन् । यसमा हामी केही गर्न सक्दैनौँ ।’

बलिप्रथाविरुद्ध आवाज उठाउनेहरूलाई जनताको घरघरमा गएर प्रचारप्रसार गर्न अध्यक्ष शाह सुझाउँछन् । समाजमा पुस्तौंदेखि चल्दै आएको बलि प्रथा जनता आफैं तयार भए मात्रै रोक्न सम्भव हुने उनको भनाइ छ ।

गढीमाईमा कसैले बलि चढाए पनि नचढाए पनि मन्दिरको कुनै आपत्ति नभएको उनले बताए । साथै उनले गढीमाईमा मात्रै नभएर नेपालका विभिन्न मन्दिरहरुमा पशुबलि हुने गरेकाले समितिले कहाँ–कहाँ गएर पशुबलि रोक्न सकिन्छ र ? भनेर प्रश्न गरे ।

गढीमाई नगरपालिकाका नगर प्रमुख रामप्रसाद यादव पशुबलिमा कमी आएको कुरामा सत्यता नभएको बताउँछन् । ‘हामीले पूजामा ५ देखि १० वटासम्म पशुबलि चढाउँछौँ, बाँकी मानिसहरूले भाकल गरेर ल्याउँछन् । उहाँहरूले ल्याएको पशु चढाएर जानु हुन्छ ।’

सर्वोच्चले पशुबलिलाई निरुत्साहित गर्दै लैजानुपर्छ भन्ने आदेश आएसँगै भारतले पनि पशु नेपाल निर्यात गर्न रोक लगाउँदा धेरै पशुहरूले नेपाल भित्रिन पाएका थिएनन् । तर भारतीय नागरिकले बोर्डरमै पशु बलि दिएर फर्किने भएकाले कमी आएको भन्न नमिल्ने उनले बताए ।

गढीमाई मेलामा गढीमाई नगरपालिकाले विगतदेखि नै समन्वय गर्दै आइरहेको नगर प्रमुख यादवले बताए । उनका अनुसार यसभन्दा अगाडिको मेलामा नगरपालिकाले २५ देखि ३० लाखसम्म सहयोग गरेको थियो ।

पछिल्लो समय पशुबलिविरुद्ध चर्को आवाज उठिरहेको छ । सर्वोच्चले पनि पशुबलिलाई निरुत्साहित गर्न आदेश दिएको अवस्थामा नगरपालिकाले पशुबलि रोक्न सकिँदैन भन्ने नेपालवाचकर्मीको सवालमा उनले जनताको विश्वासलाई निरुत्साहित गर्न नसक्ने जवाफ दिए । ‘हामी पशुबलिको पक्षमा छैनौँ, तर जनताले पुस्तौदेखि विश्वास गर्दै आइरहेको कुरालाई एकैपटक हटाउन पनि सकिदैन,’ उनले भने ।

के भन्छन् पशु अधिकारकर्मी ?

पशुु कल्याणको लागि भनेर नेपालमा विभिन्न संघसंस्था स्थापना भएका छन् । ती संस्थाले पशु अधिकार रक्षाका लागि आवाज उठाउँदै आइरहेका छन् । साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दैै आइरहेका छन् ।

नेपालमा पशु कल्याणका लागि काम गर्दै आइरहको ती संस्थाहरूमध्ये एक संस्था हो, पशु कल्याण संघ नेपाल ।

पशु कल्याण संघले सन् २०१७ देखि गढीमाईमा हुने पशुबलि रोक्नको लागि अभियान चलाउँदै आएको संघका अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् । संघलगायत अन्य पशुअधिकारकर्मीहरूको पहलकै कारण सन् २०१९ मा पशुबलि केही कम भएको उनको भनाइ छ । अदालतले पशुबलि निरुत्साहित गर्न आदेश जारी गरे पनि नरोकिनुका विविध कारणमध्ये एक  सरकारको बेवास्ता भएको उनले बताइन् । ‘परम्परादेखि चल्दै आएको पशु बलिलाई निरुत्साहित गर्नेतर्फ सरकारी तवरबाट केही भएको छैन । पशु कल्याणको लागि सरकारले न कुनै कानून नै बनाउन सकेको छ, न त कुनै कार्यक्रम नै । जति कार्यक्रम भइरहेको छ, पशु कल्याणका लागि काम गर्ने संस्थाहरूबाट मात्रै भइरहेको छ,’ उनले भनिन् ।

जनावरका लागि अत्यावश्यक कानून निर्माण नहुँदा पशुमाथिको दुव्र्यवहार बढ्दै गइरहेको अध्यक्ष श्रेष्ठको ठम्याइ छ ।

सरकारले पशुकल्याणको प्रतिबद्धता जनाए पनि अझैसम्म पशुकल्याण ऐन निर्माण हुन सकेको छैन । पशुमाथि हिंसा गर्नेलाई मुलकी आचारसंहिता, २०७४ अनुरूप तीन महिना जेल र पाँच हजार जरिवाना हुन्छ । श्रेष्ठ पशुहिंसा गर्नेलाई यो सजाय पर्याप्त नभएको बताउँछिन् ।

पशुमाथि हिंसा बढेको उल्लेख गर्दै श्रेष्ठले चाँडोभन्दा चाँडो पशु कल्याणसम्बधी कानून बन्नुपर्नेमा जोड दिइन् । सरकारी निकायले सैद्धान्तिक अवधारणा पास भएर कानून बनाउने प्रक्रियामा छ भने पनि पशु कल्याणका लागि क्रियाशील सरोकारवालासँग कुनै समन्वय नगरेको उनको गुनासो छ ।

सरकारको तर्फबाट कुनै काम नभए पनि आफ्नो क्षेत्रबाट विभिन्न अभियानहरू आयोजना हुँदै आइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार, संघले सबैभन्दा बढी पशु बलि हुने ठाउँ गढीमाईलक्षित ‘क्याम्पिएन’ चलाउँदै आएको छ । संघले यो अभियानको नाम नै ‘ब्लडलेस गढीमाई’ दिएको छ ।

गढीमाईमा मेला लाग्नै नहुने पक्षमा पशुअधिकारकर्मी नभएको श्रेष्ठको भनाइ छ । ‘गढीमाई मेला लाग्नै हुन्न भन्ने हाम्रो मान्यता होइन, मेला हुनुपर्छ, रमाइलो हुनुपर्छ, तर धर्मको नाममा निर्दोष पशु बलि दिनु हुन्न भनेर हामीले आवाज उठाइरहेका छौं । निर्दोष पशुको बलि रोकिनुपर्छ भन्ने हाम्रो मान्यता हो । पशु बलिको सट्टामा विकल्प खोज्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले प्रष्ट पारिन् ।

मानिस र पशु दुवै ईश्वरको सृष्टि भएकाले स्वतन्त्रपूर्वक बाँच्ने हक दुवैलाई भएको तर्क गर्दै उनले कसैले कसैमाथि निर्दयी व्यवहार गर्न नहुने बताइन् । पशुबलिको सट्टामा कुभिण्डो, नरिवलजस्ता शाकाहारी बलि चढाउन उनले सुझाव दिइन् ।

एनिमल नेपालकी अध्यक्ष प्रमदा शाह कुनै पनि धर्मले पशुबलिलाई प्रोत्साहन नगरेकाले आफ्ना अवगुणहरूको बलि दिनुपर्ने बताउँछिन् ।

‘बलि दिन्छाैँ भने आफ्नो अवगुणको र शाकाहारी बलि देऊ न कि एउटा प्राणीको,’ लामो समयदेखि पशु कल्याण क्षेत्रमा सक्रिय उनले भनिन् ।  पशुबलि परम्परा र अन्धविश्वासमा आधारित प्रथा रहेको उल्लेख गर्दै उनले सुधार गर्दै लानुपर्नेमा जोड दिइन् ।

पशुबलिविरुद्ध एनिमल नेपालले विभिन्न समयमा विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको उनले बताइन् । विशेषगरी दशैंको समयमा सबैभन्दा धेरै पशुबलि हुने भएकाले अभियान पनि त्यतिबेला बढी केन्द्रित हुने गरेको उनको भनाइ छ । संस्थाले चलाउँदै आइरहेका अभियान गढीमाई मात्रै नभएर पूरा पशुबलिविरुद्धको अभियान भएको उनले जानकारी दिइन् । पशुअधिकारको अभियान संस्थाको मात्रै नभएर हरेकले सोच्नुपर्ने उनले भनिन् ।

साथै उनले पशुकल्याणसम्बन्धी ऐनको कुरा गरेको १० वर्ष बितिसक्दा पनि नआउनुमा सरकारको ठूलो बेवास्ताले काम गरेको टिप्पणी गरिन् । ‘जनावर भनेपछि ऐन बनाउने निकायलाई मतलब छैन, कम महत्त्व दिइएको छ,’ उनले गुनासो गरिन् ।

पछिल्लो समय  धेरै जनामा पशुमाथि दया भाव जागृत हुँदै गए पनि पशुमाथिका हिंसा रोकथामका लागि कानूनमा नै दण्डनीय कार्यका रूपमा व्यवस्था गर्नुको विकल्प नरहको उनले बताइन् ।

पशु सेवा विभागका फोकल पर्सन आभाश पौडेल पशु कल्याण र यससम्बन्धी कानूनहरूको परिपालनाका लागि बेलाबेला कार्यक्रमहरू हुुुँदै आइरहेको बताउँछन् । यद्यपि, उनले पशुबलिको सन्र्दभमा कसैको विश्वासलाई चोट पु¥याउन नहुने तर्क गरे । विभागले पशुलाई मार्नै हुँदैन भन्नेमा भन्दा पनि पशु कल्याणको लागि काम गर्दै आइरहेको उनको भनाइ छ । छिट्टै समितिको बैठक बसेर पशु कल्याणको लागि थप काम गर्दै जाने जानकारी पनि उनले दिए ।

पशु कल्याणसम्बन्धी प्रचलित कानूनहरू

पशु कल्याणलाई नै भनेर नेपालमा ऐनहरू बनेका छैनन् तर विभिन्न कालखण्डमा पशु कल्याणलाई सम्बोधन गर्ने खालका ऐनहरू भने आएका छन् ।

नेपालमा किराँतकाल, लिछ्वीकाल र शाहकालमा पशु कल्याणसम्बन्धी केही कानूनी व्यवस्था भएको पाइन्छ । त्यति बेला राजा, सनद, सवाल, रुक्का जारी हुन्थे र तिनैले कानूनी हैसियत पाउँथे ।

वि.सं. १९९० पछि भने मुलुकी ऐनले पशु कल्याणसम्बन्धी केही व्यवस्थाहरू गरेको पाइन्छ । नेपालको संविधानमा पनि पशु कल्याणसम्बन्धी व्यवस्था गरिएको छ ।

नेपालमा पशु कल्याणसम्बन्धी प्रचलित कानूनहरूध्ये मुलुकी अपराध संहिता, २०७४, पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५  यसको नियमावली २०५६, पशु बधशाला र मासु जाँच ऐन, २०५५ र यसको नियमावली, २०५७,  पशु ढुवानी मापदण्ड, २०६४, पशु कल्याण निर्देशिका, २०७३, पशुप्रति निर्दयी व्यवहार रोक्नका लागि समिति गठन २०७८ लगायत छन् ।

मुलुकी अपराध संहिता, २०७४ मा पशु कल्याणका विषयमा केही ऐनहरूको व्यवस्था गरेको छ । जसमध्ये मुलुकी आचारसंहिता, २०७४ को दफा २९० मा पशुपन्छीमाथि निर्दयी व्यवहार गर्न नहुने व्यवस्था छ । कसैले कुनै पशुपन्छीलाई कुटी, हिर्काइ वा बोक्न  सक्ने क्षमताभन्दा बढी भारी बोकाइ सामथ्र्यभन्दा बढी दौडाइ रोग, घाउ, खटिरा अन्य कुनै कारणबाट यातना दिन वा आफूले पालेको पशुपन्छी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा क्रूर व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ ।

माथि उल्लिखित कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजय हुने व्यवस्था छ ।

त्यस्तै, मुलुकी आचारसंहिता, २०७४ को दफा २९१ मा सार्वजनिक स्थानमा पशु वा पन्छी मार्न नहुने भनिएको छ । यस ऐनमा अन्यथा व्यवस्था भएकामा बाहेक कसैले पनि कुनै पशु वा पन्छीलाई परम्परादेखि बलि हुँदै आएको धार्मिक स्थलबाहेक कुनै पनि स्थानमा पशु मार्नु हुँदैन । उपदफा (१)  बमोजिम पशु वा पन्छीको बलि दिनुपर्दा बलिको विकल्पमा हुन सक्ने उपाय भएमा त्यस्तो उपाय अलवम्बन गर्नुपर्ने उल्लेख छ ।

नेपालमा पशु कल्याणका यति धेरै ऐनहरू भए पनि पशुको हक–हितका लागि ठोस काम भएको देखिँदैन । पशु कल्याणका लागि बनेका यी कानुन लिखितमा मात्रै सीमित देखिन्छन् । वास्तवमै पशु अधिकार, हक र संरक्षणका लागि बनेका यी कानून कार्यान्वयनमा ल्याउन सके पशुमाथि हुने हिंसा, दुर्व्यवहारमा कमी हुन्थ्यो कि ?