सेक्युरिटी प्रेस खरिदमा विकललाई २ वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धि भ्रष्टाचारमा चार जना दोषी ठहर भएका छन् । ६९ करोड घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्दामा मंगलबार फैसला भएको हो । जसमा चार जना दोषी ठहर भएका छन् ।
पौडेललाई २ वर्ष कैद र २५ करोड रुपैयाँ जरिवाना भएको छ । त्यस्तै, त्यसबेला शिक्षा मन्त्रालयबाट केन्द्रमा प्रतिनिधि रहेर ठेक्कामा संलग्न सिडिई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५ रुपैयाँ मुद्दा दायर भएकोमा ६ महिना कैद र ५ करोड जरिवाना भएको छ ।
इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध–निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ बिगो कायम गरी मुद्दा दायर भएकोमा उनीहरु पनि दोषी भएका छन् । उनीहरुलाई पनि ६ महिना कैद र प्रतिव्यक्ति ६ करोड रुपैयाँ जरिवाना भएको छ ।
प्रेस खरिद हुँदा सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत रहेका मनिकमान महर्जनविरुद्ध तीन करोड ४४ लाख ६८ हजार सात सय २९, केन्द्रमा लेखा अधिकृतबाट सेवानिवृत्त भइसकेका रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, तत्कालीन समयमा मुद्रण केन्द्र र अहिले जिल्ला समन्वय समिति काठमाडौंमा कार्यरत शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ४६ बिगो दाबी गरि मुद्दा दायर भएकोमा उनीहरुले सफाइ पाएका छन् । परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध–निर्देशक मित्रलाल गुरौविरुद्ध आठ लाख ६९ हजार बिगो रहेकोमा उनले पनि सफाई पाएका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया