NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते
विचार

रेमिट्यान्स, यसको उपभोग र हुन्डीको पासो

नेपालमा पैसाको सप्लाई हुनु, निक्षेप बढ्नु, क्रय क्षमतामा सुधार आउनु तथा केही मात्रामा मानिसको जीवनस्तर उकासिनुमा रेमिट्यान्सको ठूलो हात छ । विदेशमा पसिना बगाएर युवाले रेमिट्यान्स पठाए पनि त्यसको करिब ८० प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको छ ।

विदेश जान केही न केही रकम लाग्छ, त्यसैले रोजगारीको खोजीमा भौतारिहेका युवामध्ये धेरै ऋणधन गरेरै त्यसतर्फ गएका हुन्छन् । अरूबाट रकम सापटी गरेर विदेश जाने भएकाले कुल कमाइको लगभग ७.५ प्रतिशत रकम कर्जा तिर्नमै प्रयोग हुने गरेको छ । रह्यो बाँकी ९२.५ प्रतिशत । यसमध्ये पनि अधिकांश रकम शिक्षादीक्षा, उपभोगलगायतमा खर्च हुने गरेको छ । जसका कारण बच्ने रकम निकै कम हुन्छ । विदेशको कमाइ कसरी बचाउने भन्ने प्रश्न टड्कारो त छ नै उत्तिकै महत्त्वपूर्ण पनि छ ।

विदेशबाट पैसा पठाउँदा औपचारिक च्यानल मात्रै प्रयोग गर्नुपर्छ । तर नेपालीहरूले वैधानिक बाटो अवलम्बन नगरी विभिन्न अनौपचारिक माध्यम प्रयोग गर्ने गरेकाले समस्या देखिएका छन् 

पछिल्लो १० वर्षको तथ्यांक नियाल्दा जिडिपीको २० प्रतिशतको हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिरहेको छ । कुनै वर्ष जिडिपी वृद्धि हुँदा त्यहीअनुसार रेमिट्यान्स पनि बढेको छ । श्रमस्वीकृति लिएर जाने श्रमिकहरूको संख्याको आधारमा सबैभन्दा बढी रेमिट्यान्स कतारबाट भित्रिरहेको छ । त्यसपछिको सूचीमा भारत, साउदी अरेबिया आउँछन् । पछिल्लो समय साउथ कोरियाबाट पनि ४ प्रतिशतको हाराहारीमा रेमिट्यान्स भित्रिरहेको छ । केही वर्षअघिसम्म हुन्डीमार्फत त्यहाँबाट रेमिट्यान्स आउने गरेकोमा अहिले त्यो प्रवृत्ति सुधारिएर औपचारिक माध्यम प्रयोग हुन थालेको छ ।

विदेशबाट पैसा पठाउँदा औपचारिक च्यानल मात्रै प्रयोग गर्नुपर्छ । तर नेपालीहरूले वैधानिक बाटो अवलम्बन नगरी विभिन्न अनौपचारिक माध्यम प्रयोग गर्ने गरेकाले समस्या देखिएका छन् । यो गैरकानूनी कार्य भएकाले कसैले पनि विदेशबाट पैसा पठाउँदा हुण्डी प्रयोग गर्न हुँदैन ।

बैंक तथा वित्तीय संस्थाहरू, रेमिट्यान्स कम्पनी, भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) लगायत रेमिट्यान्स पठाउने भरपर्दा माध्यम हुन् । माथि उल्लेख गरिएको औपचारिक माध्यम भनेको यिनै हुन् ।

केही वर्षअघिसम्म विदेशबाट पैसा पठाउँदा क्यासमै कारोबार हुन्थ्यो । तर अहिले डिजिटलाइज्ड माध्यमबाट पनि पठाउन सकिने भएको छ । खल्ती, ईसेवा, प्रभु पे, आईएमई पेज नेपालका चल्तीका मोबाइल वालेट हुन्, जसको प्रयोग गरेर सिधै परिवारका सदस्यको खातामा नेपाल पैसा पठाउन सकिन्छ ।

कुनै पनि व्यक्तिको वित्तीय ट्रयाक रेकर्ड नियाल्ने माध्यम बैंकको स्टेटमेन्ट हो । त्यसलाई ‘क्लिन’ राख्न हुन्डी नगरी बैंकिङ च्यानलबाटै कारोबार गर्नुपर्छ

परिवारका सदस्यलाई पैसा पठाउने योभन्दा पनि सजिलो, छिटो र सुरक्षित प्रविधि पनि विकास भइसकेको छ । उदाहरणका लागि म मलेसियाको कुनै कम्पनीमा कार्यरत छ । मेरो श्रीमतीचाहिँ यता नेपालमा छिन् । मलाई आफ्नो तलब नेपालमा रहेको श्रीमतीको बैंक खातामा सिधै पठाउन मन लाग्यो । मैले सिधै बैंकको एकाउण्ट टू एकाउण्ट रकम पठाउन सक्छु ।

कानूनमै हुन्डी अनधिकृत कार्य भनेर किटान गरिएको छ । हुन्डीमार्फत पैसा पठाउनु आपराधिक कार्य भएकाले भुलेर पनि यसको प्रयोग गर्न हुँदैन । मुलुकी अपराध संहिता, २०७४ संशोधन गरी हुन्डी कारोबारलाई सोही संहिताअन्र्तगत कारबाहीको व्यवस्था गरिएको छ । संहिताको दफा १२५ मा कसैले पनि हुन्डीसम्बन्धी कारोबार गर्न÷गराउन नहुने उल्लेख छ । उपदफा १ विपरीत कसैले कुनै व्यावसायिक कारोबारको वास्तविक हिसाबकिताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिनेदिने गरेमा बिगो र सोबाट बढे÷बढाएको सम्पत्तिसमेत जफत गरी एक वर्षसम्म कैद हुने ऐनमा व्यवस्था छ ।

नेपालमा कतिले हुन्डी कारोबार गर्छन् ? यकिन तथ्यांक छैन । हुन्डी कारोबार गर्ने मान्छे अगाडि देखा नपर्ने भएकाले आकलन गर्न कठिन छ । तैपनि, हाम्रो ग्रस अनुमानमा २० देखि ३० प्रतिशत रेमिट्यान्स हुन्डीबाट आउँछ । हाम्रो अध्ययनले के देखाउँछ भने वैदेशिक व्यापार चक्रसँग हुन्डीको रकम तलमाथि परेको देखिन्छ ।

हुन्डी अनौपचारिक च्यानल हो । हुन्डी गर्ने मान्छेहरूले सबै रकम खाइदिन पनि सक्छन् । हुन्डीमा संलग्न भएकाहरूलाई गृह मन्त्रालयले पनि सक्रियतापूर्वक पक्राउ गर्दै आएको छ । यसरी पक्राउ पर्दा उहाँहरूले सम्बन्धित व्यक्तिको पैसा घरमा पु–याइदिन पनि पाउनुहुन्न । यसले एकातिर सबै पैसा हराउने जोखिम हुन्छ भने अर्कातिर आर्थिक कारोबारमा हुने फाइदा गुम्ने खतरा हुन्छ । उदाहरणका लागि घरजग्गा खरिद गर्न, कर्जा तिर्न बैंक स्टेटमेन्ट चाहिन्छ । तर हुन्डीबाट पैसा आइरहेको छ भने त्यो देखाउन मिल्दैन । गाडी तथा जग्गा खरिदका लागि धेरै रकम चाहिन्छ । १० लाखभन्दा माथि कारोबार खाताबाटै गरेको हुनुपर्छ । यस्तो अवस्थामा उल्टै झमेलामा फस्ने निश्चित छ ।

कुनै पनि व्यक्तिको वित्तीय ट्रयाक रेकर्ड नियाल्ने माध्यम बैंकको स्टेटमेन्ट हो । त्यसलाई ‘क्लिन’ राख्न हुन्डी नगरी बैंकिङ च्यानलबाटै कारोबार गर्नुपर्छ । औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउँदा आफ्ना लागि मात्रै नभएर देशको लागि समेत फाइदा हुने भएकाले सर्वहितायको मन्त्र अवलम्बन गर्नु उचित हुन्छ ।

(मिश्र नेपाल राष्ट्र बैंकका गभर्नर हुन् ।)