के थियो प्रशासनवृत्तको कविता ‘काण्ड’ ?
काठमाडौं । तत्कालिन राजा विरेन्द्र शाहको दिपालयमा सवारी थियो । बाहिर कर्मचारीहरुको कविता पाठ सुरु भयो । त्यसमध्ये कविता भन्नेमध्ये एकजना थिए, विश्वनाथ सापकोटा । उनेले कवितामा भने, ‘मैले केही गल्ती गरेको छैन, मेरो पेनसन नपाकी म घर जानुपर्ने भयो ।’ कविताको शिर्षक यही थियो ।
भित्र बसेका राजाले यो कविता सुनेपछि सहयोगीलाई भने, ‘यो त गम्भीर कुरा भयो । यो कुरा टिप’ । त्यसपछि सञ्जीवकुमार पहाडी लगायतले कविता वाचन गरे । त्यहाँ भ्रमणमा जाने थुप्रैले कविता पाठ गरे ।
त्यतिबेला मरिचमान सिंह प्रधानमन्त्री थिए । हप्तामा एकपटक मन्त्रिपरिषद् बैठक हुन्थ्यो । बैठकमा राजाले साधेछन्, ‘ए पिएम, यो बिना गल्ती प्रमोसनबिना घरै जानुपर्ने के नियम बनायौ तिमिहरुले ?’ जवाफमा प्रधानमन्त्री सिंहले भने, ‘मलाई पनि कहाँ थाहा हुन्छ सरकार ? म गएर छलफल गरेर जाहेर गर्छु ।’ त्यतिबेला उपसचिवमा दश वर्षसम्म बढुवा नभएमा स्वतः घर जानुपर्ने व्यवस्था थियो ।
यत्ति बुझेपछि प्रधानमन्त्री सिंहले सबैसँग सल्लाह गरे । तर यो समस्या समाधानका लागि ऐन नै संशोधन गर्नुपर्ने हुँदा समय लाग्थ्यो । समय लाग्ने भएपछि राजाले भनेका जति सबैको हुप्र(हुकुमी प्रमाङ्गी) बाट बढुवा गर्ने निर्णय भयो । त्यसपछि रामविनोद भट्टराई, भिम बहादुर अधिकारी, विश्वनाथ सापकोटालगायत चारजनालाई हुप्रमार्फत बढुवा गरियो । सहसचिवमा जम्मा चार/पाँचवटा सिटमात्रै खाली थियो । त्यसपछि बढुवाको मुखमा पुगेकाहरुलाई अन्याय भयो, कोही पनि बोल्न सक्दैनथे । त्यसैले यसलाई प्रशासनवृत्तमा कविता राम काण्ड भनिन्छ । यसरी विभिन्न कालखण्डमा प्रशासनमा हुप्रको दुरुपयोग भएको छ ।
प्रशासनमा राजनीति हावी भएको विषय सधैं चर्चाको विषय बन्दै आएको छ । यो विषयलाई प्रमाणित गर्नेगरी इतिहासका विभिन्न कालखण्डमा प्रशासनमा कविता काण्ड जस्ता घटना नभएका होइनन् ।
स्टाफ कलेजका प्रमुख डा.राजन खनालका भनाईमा प्रजातन्त्र आइसकेपछि पनि नेपालको प्रशासन राजनीतिबाट प्रताडित भएको छ । त्यसकारण नेपालको सन्दर्भमा राजनीति र प्रशासनको सम्बन्ध शंकास्पद मानिन्छ । पछिल्लो समय झनै राजनीतिले प्रशासनलाई उपयोग गरेका परिघटनाहरू छन् ।
पूर्वसचिव उमेश मैनालीका भनाईमा ०४७ सम्म प्रशासनले राजनीति चलायो । कसलाई जिताउने कसलाई हराउने ? भन्नेसमेत निर्धारण गथ्र्यो र पैसासमेत उसैमार्फत जान्थ्यो । ०४७ सालपछि राजनीतिले पार्टीपिच्छेका कर्मचारी युनियन स्थापना गरेर प्रशासन हुँडलेको उनले बताए । पार्टीपिच्छेको युनियनले सेवाग्राहीको राजनीति सुरु भएर अवस्था झनै भद्रगोल भएको मैनालीको भनाई छ ।
राजनीति र प्रशासनबीचको अन्तरसम्बन्ध र यसबीच भएका मतभेदबारे गरिएको संवादको पूरा अंश तलको भिडियोमा हेरौंः
प्रतिक्रिया