NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ९ गते

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौं । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ ।

वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो ।

अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए ।

उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा छ ।

इंग्ल्याण्ड दुई खेलमा एक अङ्कका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।