NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

पूर्वमा बाढी–पहिरो, उपत्यका र पश्चिममा उच्च गर्मी

काठमाडौं । पूर्व क्षेत्रमा मनसुन भित्रिएर बाढी–पहिरो सुरु हुँदा देशका पश्चिमी भाग र काठमाडौं उपत्यकामा भने गर्मी झन् बढेको छ । मनसुन देशभर फैलन ढिलाइ हुँदा तापक्रम उच्च छ । लुम्बिनी र सुदूरपश्चिमका तराईमा त साढे दुई सातदेखि तातो हावा चलिरहेको छ। ती क्षेत्रमा आगामी आइतबारसम्म तातो हावाको लहर कायमै रहने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’ यसमा पनि रुपन्देहीदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा चलिरहेको तातो हावा कायमै छ। त्यस क्षेत्रका उपत्यकामा पनि तापक्रम उच्च छ ।

बिहीबार नेपालगन्जमा अधिकतम तापक्रम ४३.८ र न्यूनतम तापक्रम २८ डिग्री सेल्सियस मापन भएको छ । त्यसैगरी, धनगढीमा ४३.१, दिपायलमा ४१.३, वीरेन्द्रनगरमा ४०.१, घोराहीमा ३८.८ र भैरहवामा ४०.४ डिग्री सेल्सियस मापन भएको छ।

काठमाडौंको तापक्रम पनि ३४.३ डिग्री सेल्सियस मापन भएको छ। कोशी प्रदेशमा भने मनसुन भित्रिएर पहाडी जिल्लामा बाढी–पहिरो सुरु भएको छ । पश्चिमी हावाका कारण पूर्वबाट मनसुन भित्रन नसकेको हो ।