NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

प्रचण्ड सरकारलाई नै निरन्तरता दिने ओलीद्वारा जानकारी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल गठबन्धन हेरफेर नहुने जानकारी गराएका छन् । बालकोट पुगेका पार्टीका पदाधिकारी तथा केही मन्त्रीहरुलाई उनले यस्तो ब्रिफिङ गरेका हुन् ।

नेपाली कांग्रेसले गठबन्धनको प्रस्ताव गरेपनि तत्काल त्यतातर्फ जान नसकिने उनको भनाई छ । प्रचण्डलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने र कांग्रेससँगको सहकार्यका विषयमा थप छलफल गर्दै जाने उनले जानकारी गराएका छन् । मन्त्रिमण्डल भने हेरफेर हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पनि सोमबारको मन्त्रिपरिषद् बैठकमा सरकार लामो समय जाने भएकाले ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

स्रोतका अनुसार नेपाल धितोपत्र बोर्ड लगायतका निकायमा नियुक्ति लगायतका विषयमा ओली–प्रचण्ड असमझदारी थियो । यहीबीचमा कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न गएपछि कांग्रेस–एमाले सरकारबीच गठबन्धन बन्न लागेको चर्चा थियो । तर, तत्कालका लागि वर्तमान गठबन्धन जोगिएको बालकोट स्रोत बताउँछ ।

सोमबार बिहान बालुवाटारमा ओली र प्रचण्डबीच लामो छलफलमा दुई नेताबीच असमझदारी हटाएर अघि बढ्ने सहमति बनेको थियो । प्रचण्डको कार्यशैली हेर्ने र कांग्रेससँगको सहकार्यको प्रस्तावमा पनि छलफल गर्दै जाने रणनीति ओलीले बनाएका छन्।