उपसचिव र अधिकृत जेल चलान

काठमाडौं । आर्थिक चलखेलका आधारमा परीक्षाबिना नै लाइसेन्स वितरणको धन्दामा संलग्न उपसचिव र अधिकृत जेल चलान भएका छन् ।
यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुख केशव अर्याल र यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अधिकृत पदमराज आचार्यलाई जिल्ला अदालत, काठमाडौंले थुनामा पठाएको हो । उपसचिव अर्याल लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । सिआइबीले पक्राउ गरेका अन्य तीन कर्मचारी र एक बिचौलिया भने धरौटीमा छुटेका छन् ।
यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय, चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल, यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीपकुमार साहलाई दुई÷दुई लाख धरौटी बुझाएर छुटेका छन् । त्यस्तै, बिचौलिया सिन्धुपाल्चोकका केशव पौडेललाई भने एक लाख धरौटीमा छाड्ने आदेश भएको छ।
सिआइबीले १५ जनाविरुद्ध मुद्दा दायर गरेकोमा बिचौलियाहरू लक्ष्मण पाण्डे, विनोद भण्डारी, ज्ञानराज पाण्डे फरार छन् । यातायात व्यवस्था कार्यालय बुटवलमा सहायक कम्प्युटर अपरेटरमा करारमा कार्यरत नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, प्रवीन भन्ने फानेश्वर सापकोटा, सन्दीप श्रेष्ठ भने अझै फरार छन् ।
यातायात व्यवस्था विभागले गरेको छानविनमा परीक्षा नदिई यातायातका कर्मचारीको मिलेमतोमा करिब एक लाख लाइसेन्स जारी भएका छन् । सिआइबीले चरण–चरणमा यसको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया