NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

पूर्वमन्त्रीले पाँच हजार घुस खुवाएपछि..

काठमाडौं । देशमा पूर्वमन्त्रीले नै पाँच हजार घुस खुवाएर काम गराएको खुलेको छ । जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले हिजो मात्र आफूले पाँच हजार रुपैयाँ घुस दिनुपरेको संसदमै गुनासो गरेका छन् ।

बिचौलिया र भ्रष्टाचारले मुलुकमा जरा गाडेको बताउँदै मन्त्री महतोले घुस दिएको विवरण आइतबार संसदमै सुनाए । प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि धारणा राख्न रोस्ट्रममा उभिएर महतोले यससम्बन्धि बताएका हुन् ।
‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूतपूर्व मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु,’ उनले भने, ‘मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो। मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ। म आफैँ गएँ, एउटा अधिकृतले यो कागज मिलेको छैन भने, मेरो चिया खाने टाइम भयो भनेर गए। चार बजेसम्म कुरेँ आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपैयाँ दिएँ, म बसिरहेँ, पाँच मिनेटमा काम गरेर ल्याए।’

उनले निजामती कर्मचारीको तलब निकै कम भएको भन्दै तलब कम भएका कारण उनीहरूले घुस खाने गरेको जिकिर गरे। यसरी सार्वजनिक रुपमै घुस दिए भन्ने मन्त्री महतोमाथि समेत कारबाही गर्नुपर्ने माग सर्वसाधरणले गरेका छन् ।