NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

लगानी गरेर कसरी धनी बन्ने ? यस्ता छन् बैंकर मनोज ज्ञवालीका टिप्स

आफूसँग भएको पैसा फिक्स डिपोजिटमा राखेर मात्रै मान्छे धनी हुँदैन । त्यसलाई सही ठाउँमा लगानी गर्न पनि जान्नुपर्छ । यदि व्यवसायको सम्भाव्यता राम्रो छ भने त्यसबाट राम्रो रिर्टन प्राप्त हुन्छ । व्यवसायबाट राम्रो मुनाफा आर्जन भएका थुप्रै उदाहरणहरू छन् ।

भाटभटेनीका सञ्चालकले सन् १९८४ मा साथीसँग ३५ हजार रूपैयाँ ऋण लिएर व्यवसाय सरु गर्नुभएको थियो । आज अर्बौंको मालिक बन्नुभएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल त्यसरी नै व्यवसायमा आउनुभएको हो । व्यापार–व्यवसायको ज्ञान नभएको जागिरेले सेयर बजारमा बुझेर लगानी गर्नु राम्रो हुन्छ ।

सेयर बजारबारे सुरुमा मलाई पनि केही ज्ञान थिएन । मेरा अग्रज स्वर्गीय ज्ञानबहादुर जिसीले यसबारे बताउनु भएपछि मैले थाहा पाएको हुँ । उहाँले सुरुमा अलिअलि लगानी गरौँ भन्नुभयो । त्यतिबेला तत्कालीन किष्ट बैंक (हाल प्रभु बैंक) को सेयर १२५ रूपैयाँमा किनबेच भइरहेको थियो । अलिअलि किनेँ, पछि त्यसलाई बढाउँदै लगे । त्यसमा राइट आउँदै गयो, सेयर थपिँदै गयो । पछि उक्त सेयरको मूल्य १ हजार ८०० रूपैयाँसम्म पुग्यो । आफूसँग भएको १८ हजार कित्ता सेयरलाई १ हजार ७०० देखि १ हजार ८०० सम्म बेचेँ र घर किनेँ । जहाँ अहिले म बसिरेहको छु ।

पुँजीबजारमा कम्पनी छनोट

धेरैजसो लगानीकर्ताले नबुझीकनै लहैलहैमा लगानी गरेको पाइन्छ । कम्पनीको वित्तीय विवरण कस्तो छ, व्यवस्थापन कस्तो छ भन्ने अध्ययन गरेर लगानी गर्नुपर्नेमा हचुवामा गरेको पाइन्छ । यसरी लगानी गर्नु भनेको जुवा खेल्नुजस्तै हो, दाउभित्र पर्न पनि सक्छ, बाहिर पर्न पनि सक्छ ।

लगानीकर्ताले बजारको कुरा सुनेर होइन कम्पनीको आधारभूत अवस्था विश्लेषण गरेर लगानी गर्नुपर्छ । फण्डामेन्टलमा बसेर लगानी गर्दा छोटो समयमा तलमाथि भए पनि दीर्घकालीन रूपमा राम्रो प्रतिफल मिल्छ ।

सेयरमा लगानी गर्दा सम्भाव्यता भएका कम्पनीमा मात्र लगानी गर्नुपर्छ । कम्तीमा पनि कम्पनीको वित्तीय विवरण र कम्पनीको व्यवस्थापन हेरेर लगानी गर्नुपर्छ । पुँजीबजार जहिले पनि तलमाथि हुन्छ । तर एउटा समयमा करेक्सन हुन्छ । हामीले छोटो समयको लागि भन्दा पनि लामो समयका  लागि लगानी गर्नुपर्छ । कर्जा लिएर सकेसम्म लगानी गर्नुहुँदैन । कर्जाबाट गर्नै परे बचतबाट तिर्नसक्ने गरी गर्नुपर्छ ।

दोस्रो बजारमा लगानी गर्न चाहेर जोखिम मोल्न नचाहनेहरूले म्युचल फण्डमा लगानी गर्न सक्छन् । अहिले त अनलाइन, सामाजिक सञ्जालको जमाना छ । विभिन्न प्लेटफर्महरूमा लगानीसम्बन्धी कार्यक्रमहरू प्रसारण तथा प्रकाशन भइरहेका हुन्छन् । त्यहाँबाट ज्ञान लिएर पनि लाभान्वित हुन सकिन्छ ।

एकचोटि आधारभूत कुरा सिकिसकेपछि त्यो अभ्यास बन्छ । अभ्यास भइसकपछि त्यति ठूलो समस्या आउँदैन । त्यसमा पनि सेयर बजारमा लगानी गर्छु भनेर आउनेहरूलाई त्यति गाह्रो हुँदैन ।

व्यवसायमा हामीले धेरै कुरा देखेका छौं । गजब गरेका व्यवसायी पनि भेटेका छौं, डुबेर खरखेत बिक्री गर्ने पनि देखेका छौं । वित्तीय व्यवस्थापनमा ध्यान दिएर वित्तीय अनुशासनमा बस्ने व्यवसायी कहिल्यै डुब्दैनन् । क्यासफ्लो र फाइनान्सियल म्यानेजमेन्टमा ध्यान दिएर व्यवसाय गरेकाहरू डुबेका छैनन् ।

अर्को कर्जाको दुरूपयोग । एक करोडको ओडी (ओभर ड्राप्ट कर्जा) लिएर सेयर र जग्गामा लगानी गरिन्छ । यत्तिसम्म कि छोरीको बिहेमा समेत त्यही कर्जा चलाइन्छ । यसले वित्तीय अनुशासन कायम हुँदैन । यसरी कर्जा दुरूपयोग भएपछि कहिल्यै माथि उक्सँदैन । जुन उद्देश्यका लागि कर्जा लिएको हो, त्यसमा मात्रै खर्च गर्नुपर्छ । बिजनेसका लागि लिएको कर्जा बिजनेसमै प्रयोग नगरेर अन्यत्र प्रयोग गरियो भने राम्रो हुँदैन ।

धनीबाट गरिबले सिक्ने कुरा

गरिबको तुलनामा धनी मान्छेसँग आत्मविश्वास, मिहिनेत र धैर्यता उच्च हुन्छ । सफल व्यक्तिहरू ‘आउट अफ बक्स’ सोच्छन् । अरूले गरिरहेकै काम गर्यो भने त्यसले अरूले प्राप्त गरेकै चीज प्राप्त हुन्छ ।

विनोद चौधरीले व्यवसाय सुरु गर्दा वाईवाईको अवधारणा ल्याउनुभयो । चन्द्र ढकालले चाहिँ आईएमई मनी एक्सचेञ्जको । आज विनोद चौधरी भन्नेबित्तिकै वाईवाई र चन्द्र ढकाल भन्नेबित्तिकै आईएमई मनी ट्रान्सफरको सम्झना हुन्छ ।  त्यसैले केही गर्ने र बन्ने हो भने अरूको कपीभन्दा नयाँ ढंगबाट सोच्नुपर्छ । त्यसैमा निरन्तरता, धैर्यता र मिहिनेत गर्नुपर्छ । यस्तोमा जोखिम बढी हुने भएकाले डराउनु हुँदैन । जोखिम जति मोल्न सक्यो, प्रतिफल पनि उति नै उच्च हुन्छ ।

एसएलसीपछि बस चढेका सिइओ