एसएलसीपछि बस चढेका सिइओ
मनाेजकाे सफलता सूत्र
दैलेख , कर्णाली प्रदेशको एउटा विकट जिल्ला । आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेकाे याे जिल्ला राजनीतिको मूलप्रवाहीकरणबाट पनि विमुख छ ।पञ्चायतदेखि अहिलेसम्म दैलेखले एउटा मन्त्रीसम्म नपाउनुले पनि यो जिल्लाकाे मूलप्रवाहीकरण अवस्था झल्कन्छ ।
बैंकर मनोज ज्ञवाली विकट भनेर चिनिने त्यही दैलेखमा जन्मिए । तर उनले कहिल्यै `म सक्दिनँ´भन्ने लघुताभाष पालेनन् । आफूभित्रको आत्मविश्वास, धैर्यता र मिहिनेतले संघर्षका कठिनाइ सहजै पार गरेकाे उनी सुनाउँछन् ।
हाल नबिल बैंकका डिसिइओ रहेका ज्ञवालीले नेपालवाचको टेलिभिजन प्रस्तुति कुरा पैसाकोमा आफ्नो संघर्ष र सफलताको कथा दिल फुकाएर सुनाए :
कर्णाली प्रदेशको दुर्गम गाउँमा मेरो जन्म भयो । त्यसैले यहाँसम्म आइपुग्न मैले राम्रै दूरी तय गर्नुप–यो । यद्यपि, गन्तव्यमा पुग्न अझै बाँकी नै छ ।
घर–परिवार छाडेर काठमाडौंमा आएपछि धेरैले संघर्ष गर्नुपर्छ । संघर्षमा होमिनु पर्ने भएकाले यो स्वप्ननगरीमा दुःख, कष्ट पाउने धेरै हुन्छन् । भाग्यवश, मैले भने यहाँ दुःख पाइनँ ।
कर्णालीजस्तो दुर्गम र पिछडिएको ठाउँमा मेरो जन्म भए पनि आमाबुवाले मलाई असल संस्कार र सुविधा दिएर हुर्काउनुभयो, बढाउनुभयो । यही कारणले हुन सक्छ, मेरो आत्मविश्वास सधैं उच्च नै रह्यो । कलेज अध्ययन गर्न जाँदा होस् या सिएको विद्यार्थी हुँदा; मेरो आत्मविश्वास कहिल्यै डगमगाएन । यी सबै मेरो बावुआमाले गर्दा भएको हो । त्यसैले सफलताको पहिलो सर्त आत्मविश्वास हो ।
एसएलसी सकाएर कलेज भर्ना हुँदा एसएलसीमा बोर्ड टप गरेका साथीहरू थिए । नेपाल राष्ट्र बैंकमा काम गर्दा पनि सिनियरहरू नै धेरै हुनुहुन्थ्यो । तर मलाई कहिल्यै पनि ‘म कर्णाली प्रदेशबाट आएको हुँ, यिनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दिनँ’ भन्ने लघुताभास भएन । कर्णालीमा केही गर्न सक्छु भने यहाँ किन सक्दिनँ भन्ने आत्मविश्वास जागृत भइरह्यो ।
त्यहीँ आत्मविश्वासको आडमा आफ्नो सीप, ज्ञान र व्यवहारलाई कहीँ न कहीँ सपनाहरूसँग जोडेँ । सपनामा अडिग भएर लाग्ने मान्छे एक न एक दिन सफल भएरै छाड्छ । कतिपयले सफल हुन गलत कदम पनि चाल्ने गर्छन् । यस्तो गल्तीचाहिँ कसैले पनि गर्न हुँदैन । गन्तव्यमा पुग्न आफूसँग भएको सीप र ज्ञानलाई प्रयोग गरियो भने स्पष्ट ‘रोड म्याप’ देखिन्छ । त्यसलाई पछ्याइयो भने एक दिन अवश्य सफलता प्राप्त हुन्छ । म आफैं पनि निरन्तर लक्ष्यमा अग्रसर हुन्छु, कारण मैले आजसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।
गाउँबाट भर्खर शहर छिरेको भनेपछि यहाँकाले दुःख दिन्छन् । त्यसको प्रत्यक्ष अनुभव म आफैंले गरेको छु । एसएलसीपछि कलेज भर्ना हुँदा साथीहरूले ‘तँ साच्चै एससएली पास भएको हो र’ भनेर जिस्काउने, चुइगम खाएर सर्टमा चिप्काइदिन्थे । यदि मैले ‘साथीहरूले जिस्काए, सताए । म यहाँ पढ्दिनँ’ भनेर विकल्प सोचेको भए म जिन्दगीमा अघि बढ्न सक्ने थिइनँ । तर मैले कहिल्यै त्यसरी सोचिनँ ।
भारतमा सिए पढ्न जाँदा पनि मैले धेरै हेपाइ सहेँ । त्यहाँ मलाई ‘नेपालसे आए है सिए करेगा तु ?’ भन्थे । मैले त्यसलाई नकारात्मक रूपले हेरिनँ । बरु ‘पख, म तिमीहरूलाई गरेर देखाउँछु’ भन्ने इख लिएँ । यदि हेर्थेँ भने केही गर्छु भन्ने मेरो आँट र ऊर्जालाई त्यसले कम गरिदिन्थ्यो ।
मैले उनीहरूको कुरालाई सकारात्मक रूपमा लिए जसले मलाई थप जोस दियो । त्यस कारण हामीले कुनै पनि कुरालाई कतातिर लाने भनेर माइन्ड सेट गर्नुपर्छ । त्यसले नै हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ ।
गाउँबाट पहिलोपटक सहर छिर्दा यहाँको संसार बेग्लै देखिन्छ । बाटोमा खाली खुट्टाले हिड्नेदेखि प्लेन चढ्नेसम्मका मान्छेहरू भेटिन्छन् । साइकल चढ्ने क्षमता नभए पनि साथीहरूले मोटरसाइकल, गाढी चढेको देख्दा आफूलाई पनि त्यस्तै गर्ने रहर जाग्छ । यो गलत सोचाइ हो । यस्तो बेला अरूजस्तो बन्न खोज्न हुँदैन । बरु पब्लिक बस नै चढ्छु तर अबको २० वर्षपछि तिमीहरूभन्दा राम्रो बन्छु भनेर दृढ हुनुपर्छ । हामीले अहिलेको भन्दा पछाडिको सपनालाई साँच्ने हो भने चाहेको चीज एक दिन जरुर प्राप्त हुनेछ ।
गन्तव्य पहिचान
आफूले निर्धारण गरेको लक्ष्यबाट कहिलेकाहीँ दायाँबायाँ लाग्नुपर्ने अवस्था पनि आउन सक्छ । मेरो आफ्नै जीवनमा पनि यस्तो घटना भएको छ । ‘डाक्टर पढ्नुपर्छ’ भनेर बुवाले त्रि–चन्द्र कलेजमा भर्ना गरिदिनुभएको थियो । जीवनमा कतिपय कुरा सोचेभन्दा फरक भइदिन्छ । भाग्यले अन्त कतै गन्तव्य कोरेको छ भने नचाहेर पनि बाटो मोडिन्छ । त्यस्तो बेला दुःखी हुनु हुँदैन । भइयो भने हामी गन्तव्यविहीन बन्छौं । बाटो मोडिएपछि त्यसको सुन्दर गन्तव्य कहाँ छ भनेर सोच्नु पर्छ ।
बाटो मोडिनुमा पनि केही कारणहरू हुन्छन् । उदाहरणका लागि कोभिडको समयमा मैले ज्योति विकास बैंकको सिइओको जागिर छोडेँ । दुई/तीन महिना त्यसै बित्यो । जागिर गरिराख्ने मान्छे, त्यतिकै बस्दा समय कटाउन गाह्रो भयो । फेरि हाम्रो समाजमा त्यतिकै बस्दा नराम्रो सोच्ने । मैले जागिर नगर्दा मलाईभन्दा बढी आफन्तलाई तनाव भयो । म आफैंलाई पनि यत्तिकै बस्न हुन्न भन्ने अनुभूति भयो । जागिर छाडेको चिन्ताभन्दा नयाँ के गर्ने भन्ने भयो । किनभने, छोडिसकेको कुरामा गुनासो गर्नेभन्दा अर्को के गर्ने भनेर सोच्ने हो । यस्तो बेला हामीले अरूको सल्लाह/सुझाव लिनुपर्छ । विश्वास गरेको, आफूभन्दा बढी अनुभवप्राप्त व्यक्तिसँग सल्लाह लियौं भने त्यसले असल दिशानिर्देश गर्न मद्दत गर्छ । मैले पनि ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यसँग सल्लाह लिन्थेँ, आज पनि लिइरहन्छु । सल्लाह अरूसँग लिए पनि विवेक भने आफ्नै प्रयोग गर्नुपर्छ ।
पछि मैले नबिल बैंकमा जागिर सुरु गरेँ । आज डिसिईओका रूपमा नेतृत्व सम्हालिरहेको छु । त्यस कारण मेरो गन्तव्य नबिल बैंकको डिसिइओ हुन रहेछ त ज्योति विकास बैंकमा कहाँ बसिराख्नु ? त्यस कारण सुन्दर गन्तव्यमा पुग्नका लागि पनि हिँडिरहेको बाटोबाट बीचमै मोडिनुपर्छ ।
संसारमा अर्बपति पनि छन्, केही नभएका सडकमा मागिखाने पनि छन् । हरेकसँग सुख, दुःख, तनाव सँगसँगै छ । संसारमा सबै चिज भएर पनि दुःखी मान्छेहरू छन् । झुपडीमा मुस्किलले एक छाक खाएर हाँसिरहेका अनुहारहरू पनि छन् । त्यस कारण कसैलाई असर नपर्ने गरी एउटा लक्ष्य लिएर अघि बढ्दै जाने हो भने पक्कै पनि गन्तव्यमा पुगिन्छ । सफल भइन्छ ।
छाडिहालौं यस्तो भावना
युवाहरूलाई आफैंमाथि, आफ्नो क्षमतामाथि विश्वास छैन । आफ्नो भूमिकालाई न्याय दिनेभन्दा नहुने कुराहरूमा दोष थोपर्ने समस्या उनीहरूमा छ ।
जागिर पाएन भने उनीहरू सजिलै अरूलाई दोष थोपरेर उम्कन्छन् । ‘भनसुन गर्ने मान्छे छैन त के जागिर पाइन्थ्यो’ भन्ने उनीहरू सोच्छन् । यसरी सोच्ने हो भने दैलेखबाट आएको मेरो अवस्था के हुन्थ्यो होला ? दैलेख यस्तो जिल्ला हो जहाँका पञ्चायतकालदेखि अहिलेसम्म चुनाव जितेर आएका एक जना पनि मन्त्री बनेका छैनन् । त्यस्तो स्थानको पहिलो चार्टर्ड एकाउन्टेन्ट मै हुँ । उक्त जिल्लाबाट राष्ट्र बैंकको हाकिम त भएँ नै बैंक तथा वित्तीय संस्थाको पहिलो सिइओ भएर पनि जिम्मेवारी सम्हालेँ । अब म जतिको ठाउँको मान्छे यहाँसम्म पुग्छु भने अहिलेको समयमा त धेरै अवसरहरू छन् । यति धेरै अवसर भएको ठाउँमा अरूलाई दोष लगाउने होइन, आफूलाई सुधार गर्दै जानुपर्छ । अहिलेका युवाहरूमा सपना धेरै ठूलो राख्ने तर मिहिनेत नगर्ने बानी छ । आफ्नो क्षमता त्यो लेभलमा पु–याउन कोसिस नगर्ने अनि अरूलाई दोष दिने ? यसरी पनि हुन्छ ?
अर्को आफ्नो भूमिकामा न्याय गर्नुपर्छ । मेरो भूमिका के हो, त्यसमा रमाउन सक्नुपर्छ । आफ्नो भूमिकामा गजबसँग न्याय गर्दै गयो भने भूमिका थपिँदै जान्छन्, जति भूमिका थपिँदै गयो त्यति पारिश्रमिक पनि बढ्दै जाने हो ।
म दैलेखमा जन्मेको मान्छे । बस नै एसएलसीपछि चढेको हुँ। त्यो ठाउँबाट आएर यहाँसम्म पुगेँ । नेपाल राष्ट्र बैंकमै जागिर गर्दा तीन कोठाको सानो घर भए हुन्थ्यो भन्ने कल्पना गर्थे । अहिले त्योभन्दा धेरै छ ।
आजको दिनमा युवाहरूमा हरेक कुराको एक्सेस छ । सकारात्मक सोच, मिहिनेत र इमान्दारिता राखेर काम गर्दै जाने हाे भने आफूले चाहेको चीज प्राप्त हुन्छ । यसरी हासिल वस्तु दिगो पनि हुन्छ ।
प्रतिक्रिया