NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

दोस्रो बजार : कतिबेला प्रवेश गर्ने, कतिबेला बाहिरिने ?

पुँजीबजारमा ट्रेडर हाबी, लगानीकर्ताको मोटिभेसन ‘सर्ट टम गेन’

हिले पुँजीबजारमा लगानीकर्ता एकदमै उत्साहित छन् । लगानीकर्तामा जुन किसिमको उत्साह देखिएको छ, यससम्बन्धमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने बेखबर छ । बेखबर यस अर्थमा कि बोर्डमा न नेतृत्व छ, न त त्यसको चयनका लागि कुनै किसिमको तत्परता नै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बजार जता गए पनि खासै फरक पर्दैन । विगत ११ महिनामा उठ्न नसकेको पुँजीगत कर एकै महिनामा उठेकाले सरकार पनि यसैमा मख्ख छ । सबैतिर पुँजीबजारप्रति अहिले आशा, उत्साह देखिन्छ ।

बजार वृद्धिसँगै उच्च जोखिम

विगत लामो समयदेखि ओरालो लागेको सेयर बजार एक महिनायता उच्च अंकले बढ्दा लगानीको चहलपहल पनि ह्वातै बढेको छ । बजार उच्च अंकले बढ्नुका दुई/तीन वटा आयाम छन् । पहिलो, लामो समयदेखि बजार शिथिल हुँदै एउटा मात्रै बिन्दुमा स्थिर थियो । यसरी लामो समय तल्लो बिन्दुमा रहेको बजार एकपल्ट करेक्सन हुनै पथ्र्यो । सेयर बजारमा करेक्सन आउनुमा दुई/तीन कुराले भूमिका खेलेका छन् । नयाँ सत्तासमीकरण भएसँगै अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन हुनु र त्यही समयमा लचिलो मौद्रिक नीति सार्वजनिक हुनु बजार चलायमान हुनुको मुख्य कारण हो । यी दुई कुराले पुँजीबजार करेक्सन गर्न ठूलो भूमिका खेलेको छ । विष्णु पौडेललाई पुँजीबजारले रुचाएको अर्थ मन्त्रीका रूपमा हेरिन्छ । त्यस्तै, यो पटक अघिल्ला वर्षहरूमा भन्दा निकै लचिलो मौद्रिक नीति सार्वजनिक हुँदा यसले पुँजीबजारलाई ठूलो राहत दियो ।

बजार वृद्धिसँगै कमजोर वित्तीय विवरण भएका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यसमा थप जोखिम टड्कारो देखिन्छ । आधार राम्रा भएका कम्पनीहरू बढ्नु स्वाभाविक हो । केही कम्पनीहरू जसको कमाइ, नेटवर्थ नै नकारात्मक छन् त्यस्ता कम्पनीहरू सर्किट लाग्ने गरी बढेका छन् । यतिबेला लगानीकर्ता सचेत हुन जरुरी छ । ‘अरूले यति किनिसक्यो, कमाइसक्यो । म पनि लगानी गर्छु’ भनेर लहैलहैमा लगानी गर्दा डुब्ने सम्भावना बढी हुन्छ ।

अर्को कारणमा वित्तीय साक्षरताको अभावलाई लिन सकिन्छ । लगानीकर्ताहरूमा आधाभूत पुँजीबजारसम्बन्धी ज्ञानको अभाव छ । कम्पनीको सेयर मूल्य उसको विगतको पर्फमेन्स र भविष्यको परिप्रेक्षले निर्धारण गर्ने हो । विगतमा कम्पनी नोक्सानमा गएको छ । भविष्यको परिप्रेक्षमा कसरी निर्धारण गरेको छ, स्पष्ट छैन । त्यस्ता कम्पनीमा लगानी गर्दा डुब्ने सम्भावना हुन्छ ।

ट्रेडर हाबी

बजार बढ्नु राम्रो हो । यही बेलामा फण्डामेन्टल राम्रा भएका कम्पनीभन्दा पनि कमजोर कम्पनी मूल्य उच्च अंकले बढिरहेको छ । यो अवस्थामा वित्तीय विवरण हेरेर लगानी गर्नुपर्छ भन्दा मानिसहरूले उल्टै त्यसमाथि नै खनिएका देखिन्छन् । यसो हुनुमा यसमा एक/दुई कारण छन् ।

एउटा कारण, यहाँ केही व्यक्ति, समूहले बजारलाई आफ्नो अनुकूल हेरफेर गरिरहेका हुन्छन्, बजारमा ठूलो चलखेल गरिरहेका हुन्छन् । ती चलखेल गर्ने ठूला लगानीकर्ताले बजार घट्दा पनि बढ्दा पनि कमाइरहेकै हुन्छन् । तर हामीले हेर्ने भनेको सर्वसाधारण लगानीकर्ताहरूलाई हो । उहाँहरूको हितलाई सुरक्षित बनाउने हो । साना लगानीकर्ताको हितलाई कसरी संरक्षण गर्ने, त्यो किसिमकको जनचेतना जगाउनको लागि सत्य जे हो त्यो भन्नलाई हिचकिचाउनु हुँदैन ।

अहिले पुँजीबजारमा लगानीकर्ता नभइ ट्रेडरहरू हाबी भएका छन् । बजारमा आउन चाहने नयाँ लगानीकर्ताको मोटिभेसन पनि ‘सर्ट टम गेन’ मात्रै भइरहेको छ । तर पुँजीबजारमा लगानी दीर्घकालिन रूपमा गर्दा धेरै राम्रो हो । आजको भोलि कमाउने होइन । विश्व चर्चित लगानीकर्ता वारेन बाफेटको एउटा भनाइ छ, ‘एक चोटि सेयर किनेपछि पाँच वर्षसम्म मेरो लागि बजार बन्द भयो भनेर आरामले बस्ने ।’ त्यो धैर्यता अहिलेको लगानीकर्तामा देखिँदैन । हाम्रो त एक पटक किनेको सेयर पाँच/पाँच मिनेटमा के भयो भनेर हेर्ने र त्यसकै आधारमा किनबेच गर्ने प्रचलन छ । लगानीकर्ता समस्यामा पर्नुको एउटा कारण यो पनि हो ।

‘इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ’

विश्वका प्रायः देशहरूमा अभ्यासमा आइसकेको इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ सुविधा नेपालमा भने सुरुवात भइसकेको छैन । पछिल्लो समय इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङलाई नेपालमा पनि सुरु गर्ने कुरा चलेको छ ।

पुँजीबजारको अन्तिम गन्तव्य इन्ट्रा डे, सर्ट सेलिङ नै हो । इन्ट्रा डे, सर्ट सेलिङमा नगईकन पुँजीबजारको विकास सम्भव छैन । तर हामी त्यसका लागि कति तयार छौं ? हामीसँग भएको पूर्वाधार, संस्थागत संरचना, संस्थाको क्षमता, लगानीकर्ताको वित्तीय साक्षरता, नियामक निकायको नियमन गर्ने क्षमता हेर्दा अहिले त्यसका लागि बेला भइसकेको छैन ।

सूचनामा असमानता

पुँजीबजार सूचनाको बजार हो । नेपालमा सूचनाको प्रभाव अव्यवस्थित, असमान खालको देखिन्छ । यहाँ सूचना कसैले छिटो पाउने, कसैले ढिला पाउने भइरहेको छ । कारण, छिटो सूचना पाउने व्यक्ति लाभान्वित हुने हुने र ढिला पाउनेले घाटा व्योहोर्ने भइरहेको छ ।

हाम्रोमा नियामक निकायबाट एकदमै कम सूचना प्रवाह हुन्छ । नेप्सेले केही औपचारिक सूचना त्यहीँ दिन सार्वजनिक गरिए पनि त्यो पर्याप्त छैन । कम्पनीको स्ट्राटिजी, ग्रोथ र पर्फमेन्स सर्वसाधारणसम्म पुग्नेगरी सूचना प्रवाह गर्नु नेप्से र सेबोन दुवैको कर्तव्य हो ।

न्युज पोर्टल र अन्य ठाउँबाट जति पनि सूचना पाउँछौं, त्यसमा सत्यता कम र बनावटी बढी हुन्छ । त्यही न्युजपोर्टलबाट प्राप्त सूचनाको आधारमा लगानी गर्ने हो भने लगानीकर्ताले गलत बाटो रोज्न सक्छन् । यसैले विश्वासयोग्य न्युजपोर्टलबाट आएका सूचनालाई मात्रै विश्वास गरेर लगानीको निर्णय लिनुपर्छ । अहिले विभिन्न सूचनाको आधारमा इन्साइडर ट्रेडिङ भइरहेका छन् । त्यसलाई रोक्नलाई नियामक निकायले संयन्त्र बनाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

विगत ८/९ महिनादेखि नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन सकेको छैन । जसको कारण धेरै कामहरू अघि बढ्न सकेको छैन । सरकारले पनि पुँजीबजारलाई सामान्य रूपमा हेरेको देखिन्छ । आफ्नो पक्षको मान्छेलाई लाइसेन्स दिने, जथाभावी आइपिओ/एफपिओ अप्रभुल गराइदिने काम भइरहेको छ ।

पुँजीबजारको दिगो विकास हुने गरी सरकारको ध्यान जान सकेको छैन । किनभने, सरकारको प्राथमिकतामा कहिल्यै पनि पुँजीबजार पर्न सकेको छैन । आफ्नो मान्छे अध्यक्षमा नियुक्त गर्न नसकेर विगत ८/१० महिनादेखि सरकारले ‘लिंगरिङ’ गरेको देखिन्छ ।

पुँजीबजारले गर्दा नै अर्थतन्त्र गतिमान हुन्छ । यसका लागि दिगो विकास चाहिन्छ । पुँजीबजारमा नयाँ खालको साधनहरूलाई परिचित गराउनु पर्छ । विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्छ । पुँजीबजार अर्थतन्त्रको ऐना हो । यी कुरालाई नबुझी परम्परागत रूपमा अगाडि बढाइएको हुनाले यी समस्या देखिएका हुन् ।

सरकारले पनि नियमन निकायलई स्वतः संस्थाको रूपमा काम गर्ने वातावरण बनाइदिनुपर्छ । तर अहिले बोर्डको स्वायत्तता झन् खोसिएको छ, यो अर्थ मन्त्रालयमबाट नियन्त्रित छ । अर्थ मन्त्रालयमा पुँजीबाजरको विज्ञ कहाँनिर छ ? त्यहीँमाथि उनीहरूको आफ्नै विभिन्न जिम्मेवारी हुन्छन् ।
यताm बोर्डमा पनि कर्मचारी संख्या थोरै छ । कर्मचारीको विज्ञता कति छ, त्यो पनि थाहा छैन । विज्ञता नभएकै कारण डेरिभेटिभ मार्केट बिलाएर गयो । २५/२६ मा हेर्यौं भने हामी इक्युटीमै छौं । लगानीकर्ताको आकर्षण पनि क्यापिटल गेनबाहेक अरू देखिँदैन ।

 दाेस्राे बजारमा ध्यान दिनुपर्ने कुरा

लगानीकर्ताले आफ्नो लगानी प्रतिफलको लक्ष्य निर्धारण गर्नुपर्छ । उदाहरणका लागि आफ्नो लगानीको प्रतिफल २० प्रतिशतको टार्गेट हो भने २० प्रतिशत पुग्नेबित्तिकै बजारबाट निस्किनुपर्छ । बजारमा लोभ र डरले काम गरिरहेको हुन्छ । जो लगानीकर्ता यी दुई कुराबाट बाहिर आउन सक्यो, उसले कहिल्यै गुमाउँदैन ।

अर्को कस्तो कम्पनीमा लगानी गरेको हो, त्यसमा निर्भर हुन्छ । फण्डामेन्टल बलियो भएको कम्पनीमा लगानी गर्दा लामो समय बजारमा रहिरँदा कुनै समस्या हुँदैन । यसले लगानीकर्तालाई लाभांश, बोनस सेयर दिन्छ ।

फण्डामेन्टल कमजोर कम्पनी छ भने त्यसमा लगानीकर्ता सजग हुनु पर्छ । त्यस्ता कम्पनीमा सकभर लगानीकर्ता प्रवेश नगर्दा राम्रो । यदि लगानी गरिहालेमा सर्टटम टार्गेट राखेर निस्किहाल्नुपर्छ । यसबाहेक लगानीकर्ताले बजारको अवस्था हेरेर लगानी गर्नुपर्छ ।

(डा.थापा, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन्)