NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ११ गते

नेपाली सेनाको कमाण्ड फेरियो, सिग्देल आजदेखि प्रधनसेनापति

काठमाडौं । नेपाली सेनाको कमाण्ड आजबाट परिवर्तन भएको छ । प्रभुराम शर्मा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सैनिक नेतृत्व परिवर्तन भएको हो ।

प्रधानसेनापतिको जिम्मेवारी औपचारिक रूपमा आजदेखि अशोकराज सिग्देलले सम्हाल्दै छन् ।

उनलाई अहिले बिहान १० बजे राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्दैछन् । लगत्तै उनले पदभार ग्रहण गर्ने जंगीअड्डाले जनाएको छ ।

२४ साउनदेखि बिदामा बसेका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मालाई पनि जंगीअड्डाले आजै साँझ बिदाई गर्दैछ ।

नेपाली सेनाका ४५औं प्रधानसेनापति हुने सौभाग्य पाएका भैरहवाका सिग्देल ३७ वर्षदेखि सैनिक सेवामा छन् । रणनीतिक अध्ययन विषयमा त्रिवि र चीनबाट स्नातकोत्तर सिग्देलसँग युद्ध कार्य विभाग, व्यवस्था, नीति तथा योजना महानिर्देशनालय, सैनिक सचिवलगायत जिम्मेवारी सम्हालिसकेको अनुभव छ ।

प्रधानसेनापतिको रोलक्रममा रहेका ताराध्वज पाण्डेले राजीनामा दिएपछि सिग्देलको प्रधानसेनापति हुने बाटो खुलेको थियो । त्यसो त, सिग्देल आफैं पनि नागरिकता विवादमा तानिएका थिए । तर सेनिाभित्रै भएको छानबिनको क्रममा उनको नागरिकतामा कुनै कैफियत नरहेको पुष्टि भएको थियो ।

अघिल्ला प्रधानसेनापति शर्मालाई पारदर्शिता कायम नगरेको, अघिल्लो नेतृत्वले गरेका काम उल्ट्याउन केन्द्रित भएको जस्ता अपजस लागेको थियो । शर्मामाथि आलोचनाको तिर सोझिइरहँदा सिग्देलले नयाँ बाटो पक्डलान् कि पूर्ववर्तीकै पदचाप पछ्यालन् ? जिज्ञासाको विषय बनेको छ ।