अख्तियार थप शक्तिशालीः सम्पत्ति शुद्धीकरणमा पनि अभियोजन सुरु
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा पनि अनुसन्धान र अभियोजन सुरु गरेको छ । आयोगले बिहीबार लुम्बिनी विकास कोषका तत्कालिन योजना प्रमुख सरोज भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा मुद्दा दायर गरेको छ ।
कोषमा कार्यरत रहँदा उनले ठेकदारहरुसँग घुसवापत आमाको नाममा जग्गा लिएका थिए । भक्तपुरको गुन्डुमा आमा जनक नन्दीनी भट्टराईको नाममा दुई रोपनी ११ आना घुसवापत लिएको खुलेको थियो । यसरी भ्रष्टाचारको पैसा शुद्धीकरण गर्ने प्रयास गरेको देखिएपछि दुवै जनाविरुद्ध मुद्दा दायर भएको छ । सो जग्गाको मुल्य एक करोड ८५ लाख रुपैयाँ भएको मुल्याङकन आधारमा सोही बराबर बिगो कायम गरी मुद्दा दायर भएको छ ।
सोही कसुरमा यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । सम्बद्ध कसुरमा आयोगले सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान गर्न पाउने भएकाले त्यसको छुट्टै अनुसन्धान गरी मुद्दा दायर भएको हो ।
गत चैतमा संशोधन भएको सम्पत्ति शुद्धीकरणसम्बन्धि ऐनले अख्तियार, प्रहरी लगायत निकायलाई सम्बद्ध कसुरमा आफैं अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार दिएको हो । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र मुद्दा दायर गर्न पाउथ्यो । थप अधिकार पाएसँगै अख्तियार थप शक्तिशाली बनेको छ ।
आइटी क्षेत्रको भ्रष्टाचारमा संलग्न विकल पौडेल, सुनिल पौडेल लगायतमाथि पनि आयोगले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया