ट्रम्प पुनरागमनका ५ कारण
काठमाडौं । दोस्रो कार्यकालका लागि सन् २०२० को राष्ट्रपति निर्वाचनमा प्रत्यासी बनेका डोनाल्ड ट्रम्पले जो बाइडनसँग नमिठो हार व्यहोरे । अनेक काण्ड र विवादमा मुछिएका ट्रम्पको यो हारपछि अमेरिकी राजनीति बुझेका विश्लेषकहरूको निचोड थियो, उनको राजनीतिक करिअर अब सदाका लागि समाप्त भयो ।
विश्लेषकहरूको यस्तो निचोड गलत पनि थिएन किनभने पहिलो कार्यकालको गतिविधिका कारण उनको लोकप्रियताको रेटिङ ४१ प्रतिशतमा खुम्चिएको थियो । दोस्रो विश्व युद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको लोकप्रियतामा ठूलो गिरावट आएको थियो भने त्यो ट्रम्प नै थिए ।
अन्तिम समयमा त उनको लोकप्रियता ग्राफ अझै ओरालो लाग्यो र ३४ प्रतिशतमा खुम्चिन पुग्यो ।
ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजासमेत अस्वीकार गरेका थिए । सन् २०२१ को जनवरी ६ मा उनका समर्थकले क्यापिटल हिल्समा प्रदर्शन नै गरे । जसले ट्रम्पको छविलाई थप धुमिल पारेको थियो ।
ट्रम्प अमेरिकाका त्यस्ता राष्ट्रपति हुन्, जसविरुद्ध ह्वाइट हाउसबाट बाहिरिएसँगै विभिन्न अभियोगमा अदालतमा मुद्दा दायर भए । कतिपय मुद्दामा त ट्रम्प दोषी ठहर भए । म्यानहट्न अदालतले ३४ ठूला अपराधमा यसै वर्ष दोषी ठहर गरेको थियो । जसमा एडल्ट फिल्म स्टारलाई मौन रहनका लागि आर्थिक प्रलोभनमा पारिएको विषय समेत सामेल थियो । अदालतमा अनेकन मुद्दा खेपिरहेका र कतिपयमा दोषी ठहर भइसकेकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार हुनेबारे अन्योल थियो । तर २०२४ जुलाइमा त्यहाँको सर्वोच्च अदालतले एउटा फैसला गरिदियो जसले राष्ट्रपति उम्मेदवार बन्ने उनको योजनालाई साथ मिल्न गयो ।
अनेक विवाद र धुमिल छवि बोकेर चार वर्षअघि ह्वाइट हाउसबाट बाहिरिएका उनै ट्रम्प अमेरिकी नागरिकको मतादेशबाट पुनः अमेरिकी राष्ट्रपतिमा निर्वाचित बनेका छन् । उनीबारेका विगतका अनुमान र अड्कलहरूलाई गलत सावित गर्दै ट्रम्प डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई परास्त गर्न सफल भएका छन् । अब उनले बाइडन प्रशासनको कार्यकाल समाप्तिपछि चार वर्ष अमेरिकालाई नेतृत्व प्रदान गर्नेछन् ।
विवादास्पद छविका ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै विश्व तरंगित बनेको छ । अमेरिकाले लिने नीतिले विश्वको अर्थ–राजनीति प्रभावित पार्ने भएकाले उनको आगामी यात्रा कसरी अघि बढ्ला भन्ने चासो बढेको छ । त्योभन्दा पनि बढी चासोचाहिँ पहिलो महिला राष्ट्रपति विजयी गराएर इतिहास रच्ने अवसर थाती राखेर विवादास्पद छविका ट्रम्पलाई नै विश्वकै सुशिक्षित अमेरिकी नागरिकले किन फेरि राष्ट्रपति बनाए भन्ने देखिएको छ ।
जानकारहरूका अनुसार विवादका थुप्रोमा उभिएका ट्रम्पको पुनरागमनका खास ५ कारण रहेका छन् ।
अर्थ व्यवस्था
कोरोनाभाइरस महामारीपछि अमेरिकी अर्थतन्त्र निकै नराम्रो अवस्थाबाट गुज्रियो । जो बाइडेन प्रशासनको प्रारम्भिक वर्षहरूमा मुद्रास्फीतिले यस्तो कहर सिर्जना गर्यो कि अमेरिकी जनता हायलकायल भए । जून २०२२ मा अमेरिकाको मुद्रास्फीति ४० वर्षयताकै उच्च ९.१ प्रतिशत पुगेको थियो ।
यो समस्या निराकरण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने नीति अवलम्बन गर्यो । जुन सही सावित पनि भयो, सेप्टेम्बर २०२४ सम्ममा मुद्रास्फीति २.४ प्रतिशतको हाराहारीमा झ–यो ।
तर ब्याजदर वृद्धि हुँदा कर्जा महँगो हुन गयो । फलतः यो नीतिले अर्थतन्त्रलाई नै शिथिल बनायो ।
अमेरिकाको राष्ट्रपति निर्वाचनपूर्व गरिएका सर्भेक्षणहरूमा मतदाताले अर्थतन्त्रको मुद्दा प्रमुख रहेको र यसलाई कमला ह्यारिसले भन्दा ट्रम्पले राम्रोसँग समाधान गर्नसक्ने औंल्याएका थिए । बिबिसीका अनुसार करिब ५४ प्रतिशत मतदाताले यस्तो मत राखेका थिए ।
बफादार मतदाता
ट्रम्पको जितमा विभिन्न फ्याक्टरहरूले काम गरे पनि सबैभन्दा महत्त्वपूर्ण योगदान उनका बफादार मतदाताको रह्यो । विश्वभरका विश्लेषक र सञ्चारमाध्यमले ट्रम्पको आलोचना गर्दै उनी अमेरिकी राष्ट्रपतिका लागि लायक नरहेको न्यारेटिभ बनाइरहे । तर आफूमाथि भएका प्रहारमाझ ट्रम्प बफादार समर्थक निर्माण गर्न भने सफल रहे ।
ट्रम्पका फ्यानहरू खासगरी उनको ‘मेक अमेरिका ग्रेट अगेन’ नाराबाट सबैभन्दा बढी प्रभावित रहे ।
सन् २०१६ को राष्ट्रपति निर्वाचनमा केही समुदाय ट्रम्पबाट टाढा रहेका थिए । यस पटक ती समुदायलाई पनि आफूतर्फ आकर्षित गर्न ट्रम्प सफल रहे ।
अर्को महत्त्वपूर्ण कुरा ट्रम्पले अश्वेत युवा र मुस्लिम समुदायका मतदातालाई पनि आफूतिर तान्न सके । तीमध्ये अधिकांश नाजुक आर्थिक अवस्थाका भएका क्षेत्रका थिए ।
बसाइँसराइ र सीमा
ट्रम्पले चुनावी दौरान अध्यागमनको मुद्दालाई जोडतोडका साथ उठाएका थिए । जुन मुद्दामा उनले जनताको पूर्ण साथ पाएका थिए ।
दक्षिणी सीमानाबाट अवैध ढंगले शरणार्थीको प्रवेश अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको छ । बाइडेन प्रशासनको पहिलो तीन वर्षमा मात्रै अमेरिकामा अवैध शरणार्थीको संख्या बढेर ६३ लाख पुगेको थियो । त्यसैले अमेरिका प्रवेश गर्नेहरूको मुद्दा अमेरिकामा चर्चामा रहँदै आएको छ ।
यसैलाई क्यास गर्दै ट्रम्पले डेमोक्र्याट सरकारको खुला सीमा नीतिका कारण समस्या विकराल बनेका तर्क अघि सारेका थिए । आफ्नो चुनावी अभियानमा ट्रम्पले अघिल्लो पटक जस्तै यसपालि पनि अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने बाचा दोहो–याइरहे । उनले अमेरिकामा कागजपत्रबिना बसिरहेका आप्रवासीलाई फिर्ता पठाउने भनेर जनाएको प्रतिबद्धतालाई पनि अमेरिकी मतदाताले निकै रुचाए ।
युक्रेन र गाजा युद्ध
अहिले युक्रेन र गाजामा जे भइरहेको छ त्यसमा अमेरिकाले दोस्रो विश्वयुद्धपछिको आफ्नो अमेरिका फस्ट भन्ने नीति अंगीकार गरिरहेको छ ।
सन् २०१६ मा डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेपछि अधिकांश अमेरिकी नागरिक इराक युद्धबाट वाक्क दिक्क थिए ।
इराकपछि अमेरिकाले तथाकथित इस्लामिक स्टेटसँग लड्न थाल्यो जसले अमेरिकालाई अन्त्यहीन युद्धको दलदलमा फसायो । तर चाखलाग्दो कुरा के भने इराक र अफगानिस्तानका दुवै युद्ध रिपब्लिकन राष्ट्रपतिको कार्यकालमा सुरु भएको थियो ।
पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा ट्रम्पले आफूले गरेको नयाँ युद्ध नलड्ने बाचा पूरा गरेका थिए । यसले उनलाई युद्धविरोधी उम्मेदवारका रूपमा उभ्यायो । रुसविरुद्धको युद्धमा अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको विश्वास गर्ने अमेरिकी मतदाताको समर्थन यस पटक ट्रम्पले पाए । ट्रम्पले आफू पुनः राष्ट्रपतिमा निर्वाचित भए २४ घण्टाभित्र रुस–युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए ।
यति मात्र होइन, उनले गाजाको युद्ध अन्त्य गराउने बचन पनि दिएका थिए् । यद्यपि, त्यो कसरी भन्ने प्रश्नको चित्तबुझ्दो आधार मतदातामाझ प्रस्तुत गर्न भने उनी चुकेका थिए । र पनि उनको बाचामा मतदाताले विश्वास गरेको देखिएको छ ।
प्रत्यासी परिवर्तन
डेमोक्र्याटिक पार्टीले सुरुमा हालका राष्ट्रपति बाइडेनलाई नै उम्मेदवारका रूपमा अघि सारेको थियो । तर चुनावी दौडानमा भएका बहस र उनको बयोवृद्ध उमेर अवस्थाको चर्को आलोचना भयो । फलतः डेमोक्र्याटिक दल आफ्नो उम्मेदवार परिवर्तन गर्न बाध्य भयो । जसको सिधा फाइदा ट्रम्पलाई भयो ।
बाइडेनको विकल्पमा कमला ह्यारिस मैदानमा उत्रिए पनि उनले चुनावी अभियानमा बाइडेन नीतिबाट आफूलाई अलग राख्न सकिनन् । विशेष गरी मुद्रास्फीति र कमजोर अर्थव्यवस्थाको मुद्दामा उनी रक्षात्मक बनिन् ।
ताजा अपडेट
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल
-
आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
-
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
प्रतिक्रिया