बरदान हुनसक्छ काठमाडौंको फोहोर व्यवस्थापनमा ‘इन्दोर मोडल’
फोहोर अरूको नभएर मेरो हो भन्ने सोच नराखेसम्म यसको दिगो व्यवस्थापन सम्भव छैन
बिहीबार बिहानै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा एउटा सनसनीपूर्ण पोस्ट् गरे। हुन त, बालेनका हरेक जस्ता पोस्ट्हरू अर्थपूर्ण नै हुने गर्छन् । उनले गरेका पोस्ट्हरू क्षणभरमै डिजिटल पत्रिकालगायतका हेडलाइन बन्नुले पनि उनको राप, ताप र माग कति त भन्ने झल्काउँछ ।
बिहीबार बिहानको उनको पोस्ट्चाहिँ अझै धेरै मानिसको ध्यान खिच्ने किसिमको थियो किनभने यसमा उनले वर्षौंदेखि काठमाडौं उपत्यका र मेयरमा निर्वाचित भएपछि उनी आफ्नै लागि समेत टाउको दुखाइको विषय बनेको फोहोरको दीर्घकालीन समाधानमा देखिएका व्यवधान र यसको अचुक उपायको प्रसंग उल्लेख गरेका थिए ।
आफ्नो उक्त पछिल्लो पोस्टमा बालेनले काठमाडौंको फोहोर व्यवस्थापन र यसमा भइरहेको राजनीतिमाथि प्रश्न मात्रै उठाएका छैनन्, आम जनतासामु आफूले यस क्रममा खेपेका भुक्तमानबारे गुनासो पनि पोखेका छन् । सबैले ध्यान दिनुपर्ने महत्त्वपूर्ण प्रसंग के छ भने फोहोर व्यवस्थापनका लागि विगतमा गरिएका बाचा र त्यसको कार्यान्वयन निम्ति गरिएका अनुसन्धानबारे व्याप्त भ्रम चिर्दै त्यसबारे पनि सविस्तार वर्णन गरेका छन्, उनले ।
‘फोहोर अरूको हो’ भन्ने गैरजिम्मेवार सोचबाट माथि उठेर ‘मेरो हो’ भन्ने भाव विकास नगरेसम्म काठमाडौंलगायत घना आवादि रहेका शहरका फोहोर व्यवस्थापन हुन सक्दैन
कुनै छिद्र खोजेर यतिबेला बालेनको आलोचना भइरहेको छ भने त्यो फोहोर व्यवस्थापन नै हो । ‘अरूले जस्तै बालेनले पनि फोहोर व्यवस्थापनकेो गफ मात्रै दिए’ भन्ने आरोप बालेनमाथि छ । सतही ढंगले हेर्दा यो स्वाभाविक पनि छ किनभने कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने उनको सुरुआती बाचा त्यसै कतै अलपत्र परेको छ । तर यसको अन्तर्यमा पस्दै जाँदा यसमा बालेनको कुनै चुक देखिँदैन, अथक प्रयास गर्दागर्दै पनि असहयोगका बावजुद उनी निरीह बन्न पुगेको देखिन्छ । जसबारे बिहीबारको फेसबुक पोस्ट्मार्फत बालेनले सुस्पष्ट पारेका छन् । उनको भनाइमा संघीय सरकारको बरोबर हस्तक्षेप, असहयोग र प्राइभेट कम्पनीहरूको फोहोर व्यवस्थापन लापरबाहीले यसको व्यवस्थापनमा चाहेको ‘पाराडाइम सिफ्ट’ सम्भव हुन सकेन ।
सिसडोलका स्थानीयबासिन्दाको अवरोधपछि चर्चामा आएर त्यसको टालटुले समाधान निकालिएसँगै परालको आगो जसरी सेलाएर जाने काठमाडौंको फोहोर व्यवस्थापनको प्रसंग बालेनको यस्तो सार्वजनिक अभिव्यक्तिपछि पुनः चर्चामा आएको छ । यसमा पनि मेयर शाहले आफ्नो पोस्ट्मा उल्लेख गरेको ‘इन्दोर’ मोडेलले धेरैको ध्यान खिचेको छ। के साँच्चै बालेनले काठमाडौंको फोहोर व्यस्थापनको उपाय भेटाएकै हुन् त ? के बलेनले भने जस्तै इन्दोर मोडेल काठमाडौंको फोहोर व्यवस्थापनको लागि उपयुक्त र अचुक उपाय सावित हुन सक्ला त ? आखिर के हो यो फोहोर व्यवस्थापनको इन्दोर मोडल जसलाई नयाँ पुस्ताका आशा गरिएका राजनीतिक पात्र बालेनले समेत प्राथमिकतापूर्वक उठाइरहेका छन् ? यो छोटो आलेखमा यसबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
के हो इन्दोर मोडल ?
‘इन्डोर’ मोडलले आफ्नो नाम भारतको प्रख्यात सहर इन्दोरबाट पाएको हो । जम्मा दुई ओटा वडामा पाइलट टेस्टिङ गरेर सुरु भएको यो मोडेलले आज इन्दोरको लाखौं किलो फोहोर व्यवस्थापन गर्दै आएको छ । लगातार ७ चोटि भारतकै सबैभन्दा सफा सहरको उपाधि पाएको इन्दोर ५३० स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यसो त, दैनिक उत्पादित १०२९ टन फोहोरको उचित व्यस्थापन गर्न इन्दोरका जागरुक जनताको पनि उतिकै भूमिका छ ।
यो मोडलको फोहोर व्यवस्थापन प्रक्रियामा सुरुमै इन्डोरमा ६ वटा छुट्टै भाँडोमा फोहोर जम्मा गरिन्छ। यसरी जम्मा गरिएको फोहोर घरघरमा पुगेर छुट्टाछुट्टै ६ कन्टेनरमा हालिन्छ । जब पूरै सहरको फोहोर जम्मा भएर ट्रान्सफर स्टेसनमा पुग्छ तब ती फोहोरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गरिन्छ । नकुहिने रिसाइकल गर्न मिल्ने जतिलाई रिसाइकल गरिन्छ भने नमिल्नेलाई सिमेन्टको कच्चा पदार्थमा प्रयोग गरिन्छ । यस्तो प्रयोग गर्ने सिमेन्टहरूमा विरला सिमेन्टको नाम सबैभन्दा अग्र पंक्तिमा आउँछ ।
काठमाडौंको फोहोर व्यवस्थापनमा अहिले देखिएका सबैभन्दा ठूला चुनौती सोच र दृष्टिकोणको हो । यो नबदलेसम्म काठमाडौंको फोहोर व्यवस्थापन छेपाराको उखान भइरहनेछ
यो त भयो नकुहिने फोहोरको कुरा । अब लागौं, कुहिने फोहोरतर्फ । इन्दोरमा मेकानिकल कम्पोस्टिङ प्लान्ट रहेको हुन्छ । दैनिक कम्पोस्टिङ क्षमता ६०० टन रहेको यसबाट प्रति दिन ५५ देखि ६० टन मल उत्पादन गर्ने गरिएको छ । यसको अर्को उत्साहजनक कुरा के भने यो मोडलमा संकलित कुहिने फोहोरबाट उत्पादित ग्यासबाट सहरमा बसहरू सञ्चालन हुँदै आएको छ । इन्दोरले तरकारी मन्डीको फोहोर व्यवस्थापनमा गरेको काम पनि उत्तिकै ग्रहणयोग्य र अनुकरणीय छ । त्यहाँ तरकारी मन्डी नजिकै कम्पोस्टिङ प्लान्ट बनाएर पेट्रोलियम पदार्थ नै उत्पादन गर्ने गरिएको छ ।
यसरी गरिन्छ फोहोरको विभाजन
इन्दोरमा फोहोर उत्पादन हुने मुहानलाई पनि ३ भागमा विभाजन गरिएको छ, डोमेस्टिक जेनेरेटर्स, सेमिबल्क जेनेरेटर्स र बल्क जेनेरेटर्स। यी सबैको फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको हुन्छ । यसमा एउटा कुरा भने ख्याल गर्न लायकको छ। त्यो हो, फोहोरको विभाजन घरदेखि नै गर्ने गरिन्छ।
यदि घरबाटै फोहोरको विभाजन हुँदैनथ्यो भने इन्दोरलाई यसरी लगातार ७ चोटि सफा सहरको उपाधि जित्न सम्भव थिएन ।
नेपालले सिक्नुपर्ने पाठ
इन्दोरका जनताले त आफ्नो बुद्धि पुराए र आफ्नो स्थानीय सरकारलाई साथ दिए । आफ्नो फोहोरको आफैं उचित व्यस्थापन गरे । तर हामी काठमाडौंबासीको घैंटोमा भने अझैसम्म घाम लाग्न सकेको छैन । कुनै समय कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थित ढंगले व्यवस्थापन गर्न महानगरपालिकाले पहलकदमी नउठाएको होइन । तर त्यसलाई हामी काठमाडौंबासीले साथ दिनुको सट्टा बेवास्ता ग–यौं । खासमा भन्नु पर्दा हामी नेपालीहरू अरूलाई दोष लगाउन र अर्काले काम गरेन भनेर भन्न खप्पिस छौं। आफूलाई नपरुन्जेल समस्यालाई समस्या हो भन्ने ठान्दैनौं । हामीमा जिम्मेवारीबोधको चर्को खडेरी छ । हामी आफ्नो घरबाट फोहोर त फाल्छौं तर त्यो फोहोर कता गइरहेको छ, त्यसले अन्य व्यक्ति, पर्यावरणलाई कस्तो असर गरिरहेको छ भन्ने ख्याल गर्दैनौं ।
हामीले जबसम्म आफ्नो फोहोरको जिम्मेवारी आफैं लिँदैनौं, तबसम्म हामीसँगै सुन्दर र सफा काठमाडौंको कल्पना गर्ने हक रहन्न
हामी नेपालीको बेमतलबी रूप सडक गल्ली जताततै छताछुल्ल देखिन्छ । हामी चकलेट खान्छौं, चाउचाउ, बिस्कुट खान्छौं तर त्यसको खोल लापरबाहपूर्ण ढंगले बाटोमै फाल्न कति पनि संकोच मान्दैनौं । हामीलाई लाग्छ, यो फोहोर उठाउने काम मेरो होइन, सरकारको । मेरो होइनन, बाटोको हो । सुन्दा तीतो र नमिठो लाग्न सक्छ तर खासमा यो हाम्रो सभ्यता माथि पोतिएको मोसो हो ।
हामीले फालेको चकलेटको खोल होस् वा हाम्रो घरबाट निस्कासन भएको फोहोर, त्यो सरकारको नभएर हाम्रो हो । हामीले जबसम्म आफ्नो फोहोरको जिम्मेवारी आफैं लिँदैनौं, तबसम्म हामीसँगै सुन्दर र सफा काठमाडौंको कल्पना गर्ने हक रहन्न । त्यसैले आजबाटै हामीले दृढ संकल्प गरौं र हात अगाडि बढाऔं, फोहोर अब मेरो अभियानमा । आफ्नो टोल, छरछिमेकमा फोहोर अब मेरो जनचेतना फैलाऊ । हाम्रो भाइबहिनीलाई सानै उमेरदेखि आफ्नो फोहोरको जिम्मा आफैं लिन सिकाऊ । कसैले सार्वजनिक स्थल वा खोलानाला वरिपरि फोहोर फालेमा फोहोर मेरो अभियानमुनि रहेर फेसबुक, ट्विटरमार्फत सम्बन्धित निकायसम्म पुर्याऊ । आफू सहभागी भएको सरसफाइ अभियानको फोटो, भिडियो खिचि विश्वलाई देखाउm । यसो गर्नाले फोहोर साँच्चै कुनै एक व्यक्ति वा निकायको मात्र नभएर हरेक मानिसको हो भन्ने सन्देश प्रवाह हुनेछ । मेयर शाहले देखेको इन्दोर भिजन नेपालका लागि वरदान सावित हुने भएकाले यसको अवलम्बनमा ढिलासुस्ती गर्न हुँदैन ।
प्राणी, चराचर जगत् र पर्यावरण जोगाउन फोहोरको वैज्ञानिक व्यवस्थापन अनिवार्य आवश्यकता बनेको छ । त्यसैले अब सबैले एक स्वरमा भन्नुपर्ने बेला आएको छ– फोहोर अब मेरो ।
(अम्गाईं #FohorAabaMero अभियानका अगुवा अभियानकर्ता हुन् )
प्रतिक्रिया