एचपिभी लगाउँदा यी असर देखिए के गर्ने ?

काठमाडौं । सरकारले १० देखि १४ वर्षका किशोरीलाई आजदेखि निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदैछ । विद्यालयकेन्द्रित भएर सरकारले देशव्यापी रूपमा एचपिभी खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले बताइन् । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनकाे भनाइ छ ।
उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ,” उनले भनिन् ।
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे । उनले भने, “विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।”
खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताए ।
“केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फैलाएको पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए÷नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।”
राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२–७३ र आव २०७३–७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०–८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ ।
सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ।
नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको आग्रह : स्वदेशी वस्तुको प्रयोग बढाउनुहोस्
-
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
-
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
-
हिमाली परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
-
‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’
प्रतिक्रिया