NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

अहिलेबाटै कसरी अवकाशपछिलाई पैसा बचत गर्ने ?

 काठमाडाैं । युवास्थामा हुने काम गर्ने जोश र जाँगर बृद्धावस्थामा कहाँ होला र ? उमेर छउन्जेल त हामी काम गरेर पैसा कमाउला, तर जब हाम्रो शरीर उमेरसँगै सिथिल पर्छ त्यो बेला पैसाको जोहो गर्न कठिन हुन सक्छ ।

यसले अवकाशपछिको जीवनका लागि चाहिने बचत कति महत्वपूर्ण हुन्छ भनेर बुझाउँछ । जसले भविष्यमा आर्थिक बोझ कम गरोस् र जीवन सुखमय बनोस् ।

सरकारी तहमा काम गर्ने कर्मचारीलाई सरकारले अवकाशपछिको जीवन सहज बनाउन पेन्सन वा निवृतिभत्ताको व्यवस्था गरेको हुन्छ । सरकारी जागिर धेरैको रोजाइमा पर्नको मुख्य कारण यो पनि हो । तर निजी तथा गैर सरकारी संस्थामा काम गर्नेहरुको लागि अवकाशपछिको समय अझ बढी चुनौतीपूर्ण छ ।

सरकारले जसरी कर्मचारीको लागि पेन्सन वा भत्ताको व्यवस्थापन गर्छ,अहिले यो निजी तथा गैरसरकारी संस्थाले पनि गर्न सक्छन् । यदि संस्थाले गर्दैन भने व्यक्ति स्वंयमले पनि अवकासपछिको लागि केही रकम बचत गर्न सक्छन् । सामाजिक सुरक्षा कोष र नागरिक लगानीकोष त्यसको लागि उपयुक्त हुनसक्छ । यी सस्थाले सरकारी तथा गैर सरकारी संस्था, वैदेशिक रोजगारीमा गएका तथा साधारण नागरिकलाई सामाजिक सुरक्षामा समेटका छन् ।

यसैगरी, सञ्चय कोषले पनि निजी तथा गैर सरकारी संस्थाका कर्मचारीलाई केही योजना ल्याएको छ । सर्वसाधारणलाई बचत गर्न प्रोत्साहन गर्ने उदेश्यले नागरिक लगानी कोषले सामाजिक सुरक्षाअन्तर्गत कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन योजना, नागरिक पेन्सन योजनालगायतका स्किम समावेश गरेको छ ।

जसमध्ये नागरिक पेन्सन योजनामा आम नागरिक सहजै सहभागी हुन पाउँछन् र कोषमा रकम बचत गर्न सक्छन् । यो योजनामा सहभागी हुन बचतकर्ताले न्युनतम मासिक ५०० रुपैयाँदेखि सहभागी हुन पाउँछन् । यसमा भएको बचत अवकासपछि संस्थाले केही प्रतिफलसमेत थपेर हरेक महिना पेन्सनको रुपमा बचतकर्तालाई दिने गरेको छ ।

त्यस्तै सामाजिक सुरक्षा कोषले केही नयाँ स्किम ल्याएको छ । जसमा संस्थाले बचत गरेको रमकअन्तर्गत नै केही रकम औषधि तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना वा अशक्तता योजना, आश्रित परीवार सुरक्षा योजनालगायत योजनामा जम्मा गरिदिन्छ भने बाँकी रमक वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको निवृत्तभरण योजनामा जम्मा हुन्छ ।

निवृत्तभरण प्राप्त गर्ने उमेरपश्चात यस योजनामा जम्मा भएको रकम र त्यसमा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल जोडेर आउने रकम हरेक महिना योगदानकर्तालाई जिवनकालभरी निवृत्तभरणको रुपमा दिने व्यवस्था कोषले गरेको छ ।

यस्ता फण्डहरुमा काम गर्ने संस्थामार्फतमात्रै सामाजिक सुरक्षामा जोडिन सकिन्छ भन्ने हुँदैन । स्वरोजगार नागरिकले पनि यस्ता योजनामार्फत अवकाशपछिको यात्रा सहज बनाउन सक्छन् ।

(कुरा पैसाको नयाँ अंकमा अवकाश व्यवस्थापन, याेजना, अवकाशपछिको लागि बचतलगायतका विषयमा वित्तीय साक्षरता प्रशिक्षक विनाेद अधिकारीसँग छलफल गरिएको छ । छलफलकाे पूरा भिडियाे तलकाे लिंकमा गएर हेर्नसक्नुहुनेछ । )