NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

किन दिगो छैनन् हाम्रा कृषि कार्यक्रम ?

गण्डकी । किसानको हित हेरेर सञ्चालन गरिएका कृषिका कतिपय कार्यक्रम व्यवस्थित नीति र स्रोतसाधन अभावमा दिगो हुनसकेका छैनन् । गण्डकी प्रदेश सरकारले सुरू गरेको ‘मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम’ ले पनि सोही कारण निरन्तरता पाउन सकेन । प्रदेश सरकार स्थापना भएको चार वर्षसम्म उक्त कार्यक्रमले बजेटरकार्यक्रममा प्राथमिकता पाए पनि अहिले उक्त कार्यक्रम सञ्चालनमा छैन ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले कृषिका कतिपय कार्यक्रम सुरूमा उत्साहका साथ सुरू हुने र विस्तारै सेलाउँदै जाने समस्या रहेको बताए । “मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम राम्रो उद्देश्यले सुरू गरिएको थियो, तर त्यसले निरन्तरता पाउन सकेन, कार्यान्वन्वयका चरणमा पनि विभिन्न समस्या देखापरे”, उनले भने, “कतिपय ठाउँमा स्थानीय तहले त्यसको अपनत्व लिएर कार्यक्रम सञ्चालन गरिरहेका छन्, अधिकांश ठाउँबाट त्यो कार्यक्रम हटिसकेको छ ।”

उक्त कार्यक्रमको सट्टा प्रदेश सरकारले जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रम सञ्चालनको योजना बनाइरहेको उनको भनाइ छ । “कृषि ज्ञान केन्द्रमार्फत यो कार्यक्रम कार्यान्वयन हुन्छ, मन्त्रालयले त्यसको जिम्मेवारी जिल्लालाई दिएको छ”, सचिव रेग्मीले भने, “जलवायुजन्य असर भोगिरहेका कृषि गाउँहरूलाई केन्द्रित गरेर यो कार्यक्रम ल्याइएको हो ।” मन्त्रालयका अनुसार प्रदेशका सबै स्थानीय तहलाई समेट्ने गरी ८७ स्थानमा ‘मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ’ कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रमबाट एक सय सात हेक्टरमा बमौसमी तरकारीखेती, दुई सय ८० हेक्टरमा सुन्तलाजात फलफूल, १९ हेक्टरमा चिया/कफी, २६ हेक्टरमा अलैँची र दुई हेक्टरमा अदुवा/बेसारखेती विस्तार भएको मन्त्रालयले जनाएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले प्रदेश सरकारबाट बजेट आउन छाडे पनि उक्त कार्यक्रमअन्तर्गत सुरू गरिएको चियाखेतीलाई वडाले प्रवर्द्धन गरिरहेको बताए ।

“तीन आर्थिक वर्षसम्म लगातार प्रदेशबाट बजेट आयो, त्यसबाट चियाखेती सुरू गरेका थियौँ, अहिले चियाखेती विस्तारमा वडाले आफैँ लगानी गरेको छ”, उनले भने, “अधिकांश स्थानीय तहमा ‘मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ’ कार्यक्रम दिगो हुन नसके पनि हामीले त्यसलाई निरन्तरता दिएका छौँ ।” स्थानीयवासीको श्रमदानसमेत जुटाएर चियाखेती सुरू गरिएकामा अहिले एक सय ४२ रोपनी क्षेत्रफलमा चिया विस्तार भएको छ । पहिले यसै पाखो भएर रहेर जग्गा अहिले चियाखेती हराभरा भएको वडाध्यक्ष लामिछानेले बताए । विसं २०७४ मा ‘मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ’ कार्यक्रमअन्तर्गत रेशमा पहिलोपटक चियाखेती सुरू गरिएको थियो ।

प्रदेश सरकारले जलवायुअनुकूल नमूना कृषि प्रणाली विकास गरी कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको थियो । किसानको जीवनस्तर उकास्ने र गाउँमै रोजगारी सृजना गर्ने लक्ष्यका साथ सुरू गरिएको उक्त कार्यक्रम छनोटका लागि वातावरणीय हिसाबले जोखिमयुक्त रहेको, चारैतिर हरियाली भएको, कम्तीमा ५० घरपरिवार भएको, खेतीबाली उत्पादन र बजार व्यवस्थापन गर्न सकिने, रोजगारी सृजना हुनेलगायत मापदण्ड तोकिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष