NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १५ गते

सरकारकै समर्थनमा डण्डीमा कृत्रिम मूल्यवृद्धि

काठमाडौं । सरकारको मौन समर्थनमा सिमेन्टको कृत्रिम मूल्यवृद्धि गरेर चर्को नाफा कमाइरहेका उद्योगीले डन्डीको मूल्य पनि १५ दिनमै पाँचपटक बढाएका छन् । १८ फागुनअघिसम्म प्रतिकिलो ८७ रुपैयाँ उपभोक्ता मूल्य रहेको डन्डीको भाउ त्यसयता पाँचौँपटक सोमबार फेरि बढाउने निर्णय भएअनुसार अब प्रतिकिलो १०५ रुपैयाँ पुग्ने भएको हो ।

उद्योगीले १८ फागुनमा प्रतिकिलो ८८.१४ रुपैयाँ पुर्‍याएको डन्डीको मूल्य निरन्तर बढाउँदै २५ फागुनमा ९१.५३, २८ फागुनमा ९६.०५ र ३ चैतमा (आइतबार) १०० रुपैयाँ पुर्‍याए । सोमबारै फेरि भ्याटबाहेक दुई रुपैयाँ बढाउने निर्णय गरेका छन् जुन उद्योगीले हार्डवेयरलाई बढाएको मूल्य हो । भ्याट र नाफासमेत जोडेर उपभोक्तालाई बेच्ने मूल्य अब प्रतिकिलो १०५ रुपैयाँ पुग्ने हार्डवेयर व्यवसायीहरूले बताएका छन् ।

प्रतिबोरा पाँच सय रुपैयाँ रहेको सिमेन्टको भाउ मंसिर पहिलो साताबाट पटक–पटक गरेर ८५० रुपैयाँ पुर्‍याउँदा पनि सरकारले हस्तक्षेप नगरेपछि हौसिएका उद्योगीले डण्डीमा पनि मनपरी मूल्यवृद्धि गरिरहेका छन् । सिमेन्टका उद्योगीहरूकै डन्डीमा पनि लगानी रहेकाले कार्टेलिङ गरेर सहजै मूल्य बढाएका छन् । निर्माण सामग्री (हार्डवेयर) व्यापार संघ, काठमाडौंका उपाध्यक्ष दिलबहादुर श्रेष्ठ उद्योगीले मिलेमतो गरेकाले सबै ब्रान्डका डन्डीको भाउ बढेको बताउँछन् ।

‘अम्बे, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, श्रीलगायत सबै ब्रान्डका डन्डीको भाउ समान दरमा बढिरहेको छ, यो मिलेमतोमै बढाइएको प्रस्ट छ । मिलेमतो नभएको भए कसैको बढ्ने र कसैको नबढ्ने हुनुपर्ने हो । तर, दुई महिनादेखि नियमित रूपमा सबै प्रकारका डन्डीको भाउ एउटै दरमा बढिरहेको छ,’ उनले भने, ‘उद्योगीहरूले सोमबार फेरि मूल्य बढाउने निर्णय गरे भन्ने सुनेको छु । हामीलाई त उद्योगीहरूले छिट्टै प्रतिकिलो १०५ रुपैयाँ पुग्ने जानकारी यसअघि नै गराइसकेका थिए ।’ डन्डीको भाउ लगातार बढ्न थालेपछि हार्डवेयर व्यापारीले उधारो बिक्री तत्काललाई रोकेका छन् । हार्डवेयरको अधिकांश कारोबार उधारोमै हुने गर्छ ।
लामो समयदेखि हार्डवेयर व्यापारमा रहेका श्रेष्ठले तारन्तार डन्डीको भाउ बढाउनुपर्ने गरी अहिले लागतमा खासै फेरबदल नभएको बताए । ‘लगातार डन्डीको भाउ बढाउनुपर्ने गरी कुनै पनि शीर्षकको लागत बढेकोजस्तो लाग्दैन, तर उद्योगीले किन हो भने भाउ बढाइरहेका छन्,’ उनले भने । अहिले डन्डीमा भाउ बढाएका ९० प्रतिशत उद्योगीको सिमेन्ट उद्योगमा पनि स्वामित्व छ । त्यसैले, उनीहरूले सिमेन्ट र डन्डीमा मनलाग्दी भाउ बढाएका हुन् ।

उत्पादन लागतमा २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था सरकारले नै अध्यादेश ल्याएर हटाएपछि उद्योगीहरू मनपरी मूल्य तोक्न थप हौसिएका छन् । ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२’ मा उत्पादनमा लागेको लागतमा २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था थियो । सरकारले अध्यादेशबाट हटाएको उक्त व्यवस्था संसद्बाट बहुमतको बलमा पारितसमेत भइसकेको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ मा उत्पादकले तोकेको मूल्यलाई नै अन्तिम उपभोग्य मूल्य मान्नुपर्ने कानुनी व्यवस्था मात्रै कायम रहेकाले उद्योगीले पहिले सिमेन्ट र अहिले डन्डीको भाउ मनलाग्दी वृद्धि गर्न थालेका हुन् । अध्यादेश ल्याएर नियन्त्रणमुखी व्यवस्था हटाएको सरकारलाई अब उद्योगीले तोकेको भाउ नियन्त्रण गर्न चाहे पनि कानुनको अभाव छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी डन्डीको बढ्दो भाउ नियन्त्रण गर्न अहिले कानुन नरहेको र बजारले नै भाउ निर्धारण गर्ने प्रणालीलाई स्वीकार गर्नुपर्ने निरीह जवाफ दिन्छन् । उद्योगीले कालोबजारी गरिरहे पनि सरकारले केही गर्न नसक्ने शैलीको जवाफ उनको छ । ‘बजारले निर्धारण गरेको मूल्यमा सरकारले नियन्त्रण वा हस्तक्षेप गर्ने भन्ने हुँदैन । अहिले डन्डीको भाउ पनि बजारको माग र आपूर्तिका आधारमा निर्धारण भइरहेको हो,’ उनले भने, ‘डन्डीको माग घट्नासाथ भाउ ओरालो लाग्छ । त्यसैले मूल्य बढ्यो भनेर चिन्ता गर्नेभन्दा पनि माग घटाउनुपर्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष