NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ४ गते

जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

भजनी । भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो । दाउराको आवश्यकता उनले नजिकैको सामुदायिक वनबाट पूरा गर्दै आएका थिए । तर अहिले उनी दाउराको चुल्हो बाल्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उनको मुहारमा चमक आएको छ ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराजजस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन् ।

हेमराज भन्छन्, “ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौं। जङ्गल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

वर्षौंदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास छिन्।

“दाउराको जोहो गर्ने दिन गए । अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु,” उनले भनिन्, “सिलिण्डरसँगै चुल्हो पनि पाएपछि हामी खुसी छौं।”

उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षातको समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताइन् ।

“दाउरा ओभानोमा राख्ने ठाउँ छैन । आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्”, उनले भनिन्, “अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ ।”

विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउँछन् । उनले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताए ।

“एक जना दाउराको खोजीमा हिँड्नुपथ्र्यो । त्यति मात्र नभई खाना पकाउन पनि एक जनाको दैनिकी बन्दै आएको थियो”, उनले भने, “अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन । जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ ।”

वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार रु आठ हजारका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए ।

“बर्सेनि उपभोक्तालाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो । उहाँहरूको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन् जङ्गल बढी मासिन थाल्यो”, उनले भने, “अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन् । जङ्गल जोगिने आशा छ ।”