ओली सरकारले जाेगाएकाे सहकारी ठगीका आराेपित

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न भएको तर्क गर्दै गत वर्ष कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरह्यो । संसदीय छानबिन समिति गठनको अडानबाट कांग्रेस टसको मस नबनेपछि एमाले सांसद सूर्य थापा संयोजकत्वम समिति बन्यो । त्यही समितिले दिएको सुझावका आधारमा पक्राउ परेका रवि लामिछाने जिल्ला अदालतबाट धरौटीमा रिहा भए । कारागार बाहिरै बसेर मुद्दामा प्रतिवाद गर्न जिल्लाले उपलब्ध गराएको सुविधा उच्च अदालतले उल्ट्याइदिएपछि रवि यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न भएको प्रमाण अहिलेसम्म भेटिएको छैन । सहकारी ठगी प्रकरणमा संलग्नता नै नभेटिएका लामिछाने त्यसैको पुर्पक्षका लागि कारागारमा रहँदा सहकारी ठगी अभियोग झेलिरहेकै सत्तासाझेदार दलका नेताहरूलाई भने अहिलेसम्म अनुसन्धानको दायरामा ल्याइएको छैन ।
धनराजलाई हाइसञ्चो
पूर्वकानून मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका छन् । आफूहरूको बचत अपचलनमा गुरुङ संलग्न रहेको दाबी गर्दै बचतकर्ताले उनीविरुद्ध प्रहरीमा महिनौं अगाडि उजुरी दिएका थिए । तर उनी पत्नीसँग डिभोर्स गरेको तर्क गर्दै त्यसबाट पन्छिरहेका छन् । जबकि, गुरुङ पत्नीसँग डिभोर्स गर्नुपूर्व नै उक्त सहकारीसँग आबद्ध थिए । जानकारहरू पत्नीसँगके गुरुङको डिभोर्स नै आफूमाथि आइपरेको संकट मोचनका निम्ति गरिएको बताउँछन् । यद्यपि, प्रहरीले अहिलेसम्म उनीसँग सामान्य सोधपुछ गर्नुबाहेक थप कारबाही अघि बढाउन आवश्यक ठानेको छैन ।
उता, सहकारीका बचतकर्ताको १४ करोड रूपैयाँ हिनामिनामा संलग्न भनिएकी गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ ७ महिनादेखि फरार छिन् । उदेकको कुरा त के छ भने उक्त सहकारी ठगी प्रकरणमा मुछिएका कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । ‘अन्यलाई पक्राउ गर्दा धनराज गुरुङ अनुसन्धानको दायरामा तानिने खतरा हुन्छ,’ स्रोत भन्छ, ‘त्यही कारण गृहमन्त्री रमेश लेखकको दबाबमा प्रहरीले यसको अनुसन्धान अघि नबढाएको हो ।’
रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्ने भन्दै संसद्मा संसदीय छानबिन समिति गठनको विषय जोडदारका साथ उठाएका कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न सबैमाथि अनुसन्धान माग विगतमा राख्दै आइरहेका थिए । तर आफ्नै पार्टीका उपसभापति मुछिएको ठगी प्रकरणमा उनले रहस्यमय मौनता देखाउँदै आएका छन् । भुटानी शरणार्थी प्रकरण अनुसन्धानको समयमा यसमा मुछिएका जोसुकैमाथि कारबाही हुनुपर्ने विचार राख्ने गरेका गगनको एमाले–कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि बोल्ती बन्द भएको छ ।
एमालेका नेताप्रति पनि सहानुभूति
सहकारी ठगी प्रकरणमा मुछिएका एमालेका तीन नेताप्रति पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सहानुभूति देखाएको छ ।
बागमती प्रदेश प्रदेशसभाका एमाले सांसद ज्ञानबहादुर तामाङमाथि नेशनल नमोबुद्ध सहकारी संस्थाको बचत अपचलनमा संलग्न भएको आरोप लागेको छ । कुनै समय तामाङ अध्यक्ष रहेको यो सहकारीका ११ हजार बचतकर्ताको ५२ करोड रूपैयाँ ठगी भएको छ । सहकारीका बचतकर्ताले आफूहरूमाथि ठगी गरिएको भन्दै संलग्नमाथि कारबाहीको माग राख्दै आइरहेका छन् । आमनागरिकले खाइनखाइ सहकारीमा बचत गरेको रकम अपचलन हुँदासमेत केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले तामाङसँग यसबारे सामान्य सोधपुछ गर्नसम्म आवश्यक ठानेको छैन ।
तामाङजस्तै सहकारी प्रकरणमा मुछिएका एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पनि अहिलेसम्म कुनै घुनपुत्लो लागेको छैन । बचतकर्ताको बचत अपचलन भएको पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट पहारीले पेस्कीस्वरूप १५ लाख रूपैयाँ लिएका थिए । उक्त सहकारी ठगीबारे अनुसन्धान गरेको पोखरा उपमहानगरपालिकाको प्रतिवेदन र सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पहारीले पेस्की लिएको उल्लेख छ । तर आफूलाई थाहा नभएको पहारीको इन्कारी बयानकै आधारमा तथ्य, प्रमाणहरू हुँदा हुँदै उनलाई उन्मुक्ति दिइएको छ । उक्त सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिहरूविरुद्ध मुद्दा चलाइँदा उनलाई भने साक्षी मात्रै बनाइएको छ ।
सत्ताको दुरूपयोग वर्तमान सरकारले कुन हदसम्म गरेको छ भन्ने हेर्न संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला काेइरालामाथि गरिएको व्यवहारबाट छर्लंग हुन्छ । मोरङको उमागौरी सहकारी ठगीमा मुछिएकी उनलाई प्रहरीले घरमा छँदाछँदै पक्राउ नै नगरी अनौठो व्यवहार प्रकट गरेको थियो । विद्यालयकी शिक्षकसमेत रहेकी उनले विद्यालयमा दैनिक हाजिर गरिरहेको भए पनि प्रहरीले फरार रहेको भन्दै सिधै अदालतमा मुद्दा दायर गरेको थियो । पक्राउ गर्दा थुनामा राख्नुपर्ने भएकाले प्रहरीले कोइरालाको हकमा फरक व्यवहार प्रदर्शन गरेको हो । प्रहरीको सहानुभूति पाएकी उनी गत पुस २४ मा जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । सहकारी ठगी प्रकरणमा मुछिएका अन्य अभियुक्तको बयान तथा थुनछेक बहस निकै लामो समय हुने गरेको छ । कतिपय अभियुक्तको विपक्षमा बहस गर्न महान्यायाधिवक्ताको कार्यालयबाट वकिलहरू नै पठाइएको थियो । तर कोइरालाको बयान र थुनछेक बहस भने एकै दिन सकाइएको थियो । अदालतले १० लाख रूपैयाँ धरौटी माग गरेकोमा उनी सोही दिन उक्त रकम बुझाएर रिहा भएकी थिइन् । जिल्ला अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछानेको हकमा सरकार उच्च अदालत पुगेको थियो । सरकार उच्च गएकै कारण जिल्लाबाट थुनाबाहिर रहने सुविधा पाएका रवि अहिले पुर्पक्षका लागि कारागारमा छन् । तर कोइरालाको हकमा भने सरकारले जिल्लाकै फैसला चित्त बुझाएर उच्च अदालत गएको छैन ।
चौतर्फी विरोधपछि पक्राउ परिन् माया
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएकी माया राई भने शनिबार पक्राउ परेकी छन् । सत्तासाझेदार दलको सांसद भएकाले उन्मुक्ति दिइएको भनेर चौतर्फी आलोचना भएपछि उनलाई भने शनिबार कपनस्थित निवासबाट पक्राउ गरिएको छ ।
स्रोतका अनुसार, गृहमन्त्री रमेश लेखक राईलाई पक्राउ गर्ने पक्षमा थिएनन् । त्यसैले कपनस्थित घरमै भइरहे पनि उनलाई फरारको सूचीमा राखेर फरक व्यवहार गरिएको थियो । कतिसम्म भने बिरामी बिदा स्वीकृत गराएर उनले संसदबाट तलब भत्तासमेत बुझेकी थिइन् । सरकारले अतिशय सहानुभूति राखेकाले उनी पक्राउ परे पनि प्रभावकारी अनुसन्धान हुनेमा संशय व्यक्त भइरहेको छ ।
राप्रपाकी सांसद् गीता बस्नेतमाथि पनि सहकारी ठगी गरेको आरोप छ । उनलाई पनि सरकारले अहिलेसम्म पक्राउ गरेको छैन । बस्नेत फरारको सूचीमा रहे पनि उनले पनि राईले जस्तै बिरामी बिदा स्वीकृत गराएर तलबभक्ता बुझ्दै आइरहेकी छन् ।
प्रतिक्रिया