सरकार र डा. केसीबीच सहमति, अनसन तोडियो, गेटा विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गरिने
काठमाडौँ – सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ। सोमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन् ।
सहमतिअनुसार कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटालाई पूर्ण क्षमतामा सञ्चालन गर्दै कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल तत्काल सञ्चालनको प्रक्रिया अघि बढाइने भएको छ ।
सहमतिपत्रमा विश्वविद्यालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार ३०० शैयाको अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा अन्य पूर्वाधारको व्यवस्था विश्वविद्यालयले मिलाउनेछ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय गर्नेछन् ।
यस्तै, विश्वविद्यालयमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक फ्याकल्टी भर्ना, पाठ्यक्रम स्वीकृति तथा अन्य शैक्षिक तयारी तत्काल पूरा गरिने सहमति भएको छ । सहमतिअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संशोधन गरी पदाधिकारीको योग्यता, नियुक्तिलगायतका व्यवस्था परिमार्जन गर्न चालु संघीय संसद अधिवेशनभित्रै प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, नियमावली तथा मापदण्डअनुसार मात्र सिट निर्धारण गर्ने, निजी मेडिकल कलेजमा सिट संख्या नबढाउने र सार्वजनिक शिक्षण संस्थाको क्षमता विस्तारमा भने बाधा नपर्ने व्यवस्था कायम रहने उल्लेख गरिएको छ। छात्रवृत्तिसम्बन्धी विद्यमान व्यवस्था पनि यथावत रहने सहमति भएको छ ।
सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ कार्यान्वयनका लागि चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरी छ महिनाभित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ ।
साथै, सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक पूर्वाधार र सेवा विस्तारमा संघ तथा प्रदेश सरकारले प्राथमिकताका साथ समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
सरकार र डा. केसीबीच सहमति, अनसन तोडियो, गेटा विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गरिने
-
नेपालमा मुटु तथा छाती शल्यचिकित्साका नवीनतम प्रविधिबारे अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
करेसाबारीबाट रस्टी–स्पटेड क्याट जोगाउने प्रयास, बर्दियामा स्थानीयलाई तालिम
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन


प्रतिक्रिया