काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको जनाएको छ। घटनाको सत्यतथ्य अध्ययन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयले छानबिन समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनाबाट प्रभावित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सरकारले वार्ता, संवाद र कानुनी प्रक्रियामार्फत समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।
विज्ञप्तिमा नेपाली समाजले लामो समयदेखि कायम राख्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कमजोर पार्ने गतिविधिमा संलग्न नहुन तथा भ्रामक सूचना फैलाएर वातावरण बिगार्ने प्रयास नगर्न सम्बन्धित सबैलाई अपिल गरिएको छ।
सरकारले मुलुकमा शान्ति व्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा आम नागरिकको सहयोग आवश्यक रहेको जनाएको छ।
प्रतिक्रिया