NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते
सन्दर्भ

के दुर्घटनामा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न मिल्छ ?

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको शव फेला परे पनि तीन जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका अनुसार, बेपत्ताको खोजी कार्य  जारी छ । यद्यपि, हराइरहेकाहरू अझैसम्म फेला परेका छैनन् ।

तीन यात्रुको अवस्था सार्वजनिक हुन बाँकी छँदै सञ्चारमाध्यमले भने विमानमा सवार सबैको मृत्यु भइसकेको ठोकुवा गरेका छन् । अरु त अरु मूलधारका प्रिन्टलगायत सबै मिडियाले निःसंकोच यस्तो घोषणा गर्न भ्याएका छन् ।

दुर्घटनाग्रस्त विमानमा चढेका तर हालसम्म नभेटिएका व्यक्तिलाई सञ्चारमाध्यमले मृत घोषणा गरेपछि सामाजिक सञ्जालमा प्रश्न उठाइएका छन् ।

यस्तो प्रश्न सुरुमा उठाएका छन्, मिडिया क्रिटिक्स भानुभक्त आचार्यले । उनले सोमबार प्रकाशित अखबार नत्थी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्–खास फेला नपरेका तीनजनालाई मृत्यु भएको भनेर लेख्न नमिल्ने हो ।

नुवाकोटमा रहेर पत्रकारिता गर्दै आइरहेका पत्रकार रामहरि न्यौपानेले त प्रेस काउन्सिल नेपाललाई मेन्सन गरेर वर्गीकरणमा क प्लस परेका दैनिक पत्रिकाले आचारसंहिता पालना गर्नुपर्दैन भनेर प्रश्न उठाएका छन् ।

‘दुर्घटनामा हराइरहेकालाई मृत्यु भन्न मिल्छ ? प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा ‘क प्लस’ पाएका यी मिडियाले आचार संहिता पालना गर्नु पर्दैन ?’ न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।

पत्रकारितासँग सरोकार राख्ने अरू केही व्यक्तिले पनि यही मार्काका प्रश्न उठाइरहेका छन् ।

मुलुकी देवानी संहिता, २०७४ मा कस्तो स्थितिमा व्यक्तिलाई मृत मान्ने भन्ने उल्लेख छ । जसअनुसार, पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा सवार भई अहिलेसम्म बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न मिल्छ ।

मुलुकी देवानी संहिता, २०७४ को धारा ४० उपधारा ३ अनुसार, दुर्घटना भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति लाई तीन वर्षसम्म मृत घोषणा गर्न पाइँदैन ।

तर कुनै सवारीसाधन दुर्घटनामा अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा अर्थात् कोही पनि जीवित नभेटिएको स्थितिमा बेपत्ता व्यक्तिको पनि सोहीबखत मृत्यु भएको मानिन्छ ।

कस्तो व्यक्तिलाई मृत घोषणा गर्न मिल्छ ?

बेपत्ता व्यक्तिको मृत्यु घोषणालाई वैधता दिन बनेको मुलुकी देवानी संहिता, २०७४ को धारा ४० अनुसार सामान्यतया कुनै व्यक्ति बेपत्ता भएर १२ वर्षसम्म कसैले नदेखेको, सम्पर्कमा नआएको अवस्थामा सबुत प्रमाण जुटाएर अदालतबाट मृत्यु घोषणा गर्न सकिन्छ ।

मुलुकी देवानी संहिताको धारा ४० (१) मा यसबारे भनिएको छ– ‘कुनै व्यक्ति बिनासूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ ।’

केही सन्दर्भमा १२ वर्षभन्दा पनि कम समयमा अदालतबाट बेपत्ता व्यक्तिको मृत्यु घोषणा गर्न सकिने प्रावधान छ ।

८० वर्ष उमेर पूरा भएका व्यक्ति हराएमा त्यस्ताको पाँच वर्षमा मृत्यु घोषणा गर्न सकिन्छ । युद्धस्थलमा खटिएका सैनिक युद्ध समाप्त भएको मितिले ४ वर्षसम्म पनि नफर्किएमा त्यस्ता व्यक्तिलाई पनि कानूनले मृत मान्छ ।

कतिपय अवस्थामा भने बेपत्ता व्यक्तिको तत्काल मृत्यु घोषणा गर्न सकिन्छ । जस्तो, कुनै दुर्घटनामा एक जना पनि जीवित व्यक्ति भेटिएका छैनन् भने त्यस्ता व्यक्तिलाई सोहीबखत मृत्यु भएको मानिन्छ । कतिपय अवस्थामा दुर्घटनामा कुन व्यक्तिको पहिले मृत्यु भएको विषय पनि छिनोफानो गर्नुपर्ने हुन्छ ।

त्यसलाई संहिताले सम्बोधन गरेको छ । संहिताको ४० (३) अनुसार यस्तो अवस्थामा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन व्यक्तिको उमेर बढी रहेको छ, सोही व्यक्तिको पहिले मृत्यु भएको मानिन्छ ।

मृत घोषित फर्किए के होला ?

बेपत्ता व्यक्ति वर्षौंपछि फर्किंने गरेका छन् । खासगरी वैदेशिक रोजगारी र युद्धमा बेपत्ता ठानिएका फर्किएको समाचार बेलाबेला सार्वजनिक हुने गरेको छ ।

यदि कानूनी रूपमा मृत भइसकेका व्यक्ति फर्किएको अवस्थामा के गर्ने ? यस्तो जटिल परिस्थिति न्याय सम्पादनका सिलसिलामा आफूले झेलेको उच्च अदालत पोखराका पूर्वमुख्य न्यायाधीश एवं पूर्वन्यायाधीश फोरमका महासचिव सुरेन्द्रवीरसिंह बस्नेत सुनाउँछन् ।

मुलुकी देवानी संहिताको धारा ४० (१) मा यसबारे भनिएको छ– ‘कुनै व्यक्ति बिनासूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ ।’

मुलुकी देवानी संहिताले मृत घोषणा गरिएको व्यक्ति फर्किएको अवस्थामा आउने अन्योलतालाई पनि एकसाथ सम्बोधन गरेको छ । कथंकदाचित मृत घोषित व्यक्ति फर्किएको अवस्थामा अदालतले नै जिवित घोषणा गर्न सक्छ ।

‘…मृत घोषित भइसकेको व्यक्ति जीवित रूपमा फर्की अघि भएको न्यायिक घोषणा बदर गरी पाउँ भनी निज आफैँले वा निजको मृत्यु भएको मिति न्यायिक घोषणा भएको मितिभन्दा फरक परी मृत्यु सम्बन्धी न्यायिक घोषणा संशोधन गरी पाउँ भनी निजको हकदारले निवेदन दिएमा अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी उपदफा (४) बमोजिम गरेको न्यायिक घोषणाको आदेश संशोधन वा बदर गर्नेछ,’ संहितामा लेखिएको छ ।

बेपत्ता भएर अदालतबाट मृत घोषित भएको विवाहित व्यक्ति फर्केर आएर सम्बन्ध के हुने भन्ने अनौठो अवस्था यदाकदा सिर्जना हुने गरेको छ ।

यदि त्यस्तो अवस्थामा जीवित पत्नीले अर्को विवाह गरेमा त्यो पुनःस्थापित नहुने व्याख्या छ । तर, महिला बेपत्ता भएर फर्किएको अवस्थामा के गर्ने ? योसन्दर्भमा भने संहिताको कुनै पनि दफा, उपदफा बोल्दैन ।

ताजा अपडेट

नेपालवाच विशेष