अनि रोकियो खाँणको बयान

काठमाडौं । शरणार्थीका नाममा भएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको छैटौँ दिनबाट बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार उनको डेढ घन्टा बयान भएको छ । पेटमा समस्या भएको भन्दै उनले थप बयान गर्न नसक्ने बताएपछि बीचमै रोकिएको थियो ।
खाणको अब मंगलबार बयान निरन्तर हुनेछ । ‘आज सामान्य सोधपुछ मात्र भयो,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘अब मुख्य विषयमा मंगलबार मात्र बयान हुनेछ ।’ सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार स्वास्थ्य समस्या देखाउँदै खाणले धेरै समय बयान गर्न नसकेका हुन् ।
खाणको इच्छाअनुसार बयान लम्बिएको स्रोत बताउँछ । आफूविरुद्ध अन्य अभियुक्तले दिएको बयानको विषयमा सकेसम्म धेरै जानकारी लिने र कानुन व्यवसायीसँग छलफल गरेर मात्र उनले बोल्न चाहेका छन् । त्यही कारण बयानमा उनले ढिलाइ गरेका हुन् । बयानअघि धेरै व्यक्ति भेट्ने र अन्य व्यक्तिको बयानको विषयमा अनावश्यक चासो राखेपछि खाणलाई भेटघाटमा कडाइ गरिएको प्रहरी परिसर टेकुका एक अधिकृतले बताए । हिरासतमा नराखी प्रहरीले उनलाई डिएसपीको कोठामा बस्ने सुविधा दिएकाले पनि उनलाई सहज भएको छ । खाण गत २७ वैशाखमा पक्राउ परेका थिए । उनका सहयोगी नरेन्द्र केसीको भने बयान भइसकेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया