NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नक्कली शरणार्थी प्रकरण : फाराम भर्न र पैसा उठाउन खडा गरिएको थियो कार्यालय

काठमाडौं । भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै पैसा उठाउन तथा कागजात मिलाउने प्रयोजनका लागि कांग्रेस पूर्वसांसद आङटावा शेर्पाले ललितपुरमा कार्यालय नै सञ्चालन गरेको पाइएको छ । यसरी पैसा उठाउन तीन लटमा तीन ठाउँमा कार्यालय राखिएको पीडितहरूले बताएका छन् । यही प्रकरणमा शेर्पा अहिले हिरासतमा छन् ।

ठगी धन्दाका लागि खोलिएको कार्यालयमा पूर्वसांसद शेर्पा आफैँ बस्थे । उनको छुट्टै च्याम्बर थियो । आवेदकलाई विश्वासमा पार्न तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि वेलावेला उनको कार्यालयमा पुग्ने गर्थे । रेटिनासहितको फोटो, डिजिटल फिंगर प्रिन्ट संकलन र फाराम भराइसकेपछि प्रत्येक आवेदकसँग ६ लाख रुपैयाँ असुल गरिन्थ्यो । अधिकांशले आङटावा शेर्पाको नाममै चेक काटेको र नगद दिनेहरूले पनि उनकै बैंक खातामा जम्मा गरिदिएको पीडितहरूको भनाइ छ ।

०७० मा संविधानसभा सदस्य रहेका रामेछापका शेर्पा ठगीमा मुछिएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणनिकट मानिन्छन् । गत १८ चैतमा प्रहरी कार्यालयमै पुगेर उनले पैसा फिर्ता गराइदिने आश्वासन दिँदै खाणलाई बयानमा नपोल्न अभियुक्तहरूसँग आग्रह गरेका थिए । त्यसको दुई–चार दिनमै केही रकम फिर्ता पनि गरिएको सूचना प्रहरीले पाएको छ । पूर्वगृहमन्त्री खाण अहिले प्रहरी हिरासतमै छन् ।

पीडितका अनुसार आवेदन भरेका अधिकांश युवा दोलखा र रामेछापका छन् । शेर्पाले नक्कली भुटानी शरणार्थी बनाएबापत ५० लाख तिर्नुपर्ने आवेदकहरूलाई बताएका थिए । जसमध्ये ६ लाख रुपैयाँ फाराम भर्ने क्रममा लिने भनिएको थियो । २४ लाख नक्कली भुटानी शरणार्थीको कार्ड आएपछि र बाँकी २० लाख भिसा झरेपछि दिने सहमति गरिएको थियो । फाराम भर्ने क्रममै ६ लाख भने असुल गरिसकिएको थियो । यो धन्दामा शेर्पाले तीन सयभन्दा धेरैसँग रकम उठाएको पीडितहरूको भनाइ छ ।

नयाँ पत्रिकाको सम्पर्कमा आएका एक पीडितले भने, ‘आङटावा शेर्पाले भुटानी शरणार्थी बनाएर अमेरिका, अस्ट्रेलियालगायतका राम्रा देश पठाइदिने र त्यसका लागि ५० लाख लाग्छ भनेका थिए । गाउँगाउँबाट युवा जम्मा गराएर फाराम भर्न लगाए । मैले पनि फारम भरेपछि ६ लाख बुझाएको हुँ ।’

दोस्रो लटमा पैसा उठाउन सानेपामा दुई कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो । जहाँ कागजपत्र मिलाउन सरकारी कर्मचारीको जस्तै ड्रेस भएका कर्मचारी खटिएका थिए । पहिलो लटमा रकम उठाउन पुल्चोकस्थित साझा पेट्रोल पम्पनजिक र तेस्रो तटको कार्यालय सानेपाकै अर्को भवनमा राखिएको उनीहरूले बताएका छन् ।

शेर्पाले एक वर्षअघि दोस्रो लटका लागि ठूला दुई कोठा रहेको कार्यालय खोलेका थिए । पहिलो कोठामा नक्कली भुटानी शरणार्थीका आवेदकलाई जम्मा गरिन्थ्यो भने अर्कोमा उनीहरूका लागि आवश्यक कागजात मिलाउने र रकम बुझ्ने धन्दा गरिन्थ्यो । नयाँ पत्रिकाको सम्पर्कमा आएका दोलखा घर भएका एक पीडितका अनुसार सरकारी पोसाकजस्तै ड्रेसमा हुने कर्मचारीले आवेदकको आँखाको रेटिनासहितको फोटो खिच्थे, जसका लागि आवश्यक क्यामेराजडित अत्याधुनिक कम्प्युटर त्यहीँ जडान गरिएको थियो । आवेदकको डिजिटल फिंगर प्रिन्ट लिने मेसिन पनि व्यवस्था गरिएको थियो ।

पीडितका अनुसार नक्कली भुटानी शरणार्थीका लागि छुट्टै आवेदन फाराम निर्माण गरिएको थियो । फारामको माथिल्लो भागमा एकातर्फ गृह मन्त्रालयलाई सम्बोधन गरिएको छ भने अर्कोतर्फ आवेदकको फोटो टाँसिएको छ । मध्यभागमा निवेदन दिनुको कारण र अन्तिममा आवेदकको नाम, जन्ममिति, लिंग, बाबुको नाम, भुटानको ठेगाना, भुटान छाडेको मिति, नेपाल प्रवेश गरेको मिति, हाल नेपालमा बसेको ठाउँ, परिवारका सदस्यको नामावली, जन्ममिति र नाता उल्लेख गरिएको विवरण भर्ने व्यवस्था गरिएको छ ।

बाहिरै फाराम भराएर मात्रै उनीहरूले कार्यालयमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको थियो । कार्यालयमा प्रवेश गर्नुअघि प्रत्येक आवेदकको शरीर खानतलासी हुन्थ्यो । मोबाइल, क्यामेराजस्ता सामग्री बाहिरै राख्नुपथ्र्यो । खानतलासी गरेर मात्रै भित्र पठाइन्थ्यो । ‘राष्ट्रिय परिचयपत्रको फोटो खिचेजस्तै हाम्रो फोटो खिचियो । पाँचवटै औँलाको फिंगर प्रिन्ट लिइयो । काम गर्नेहरू सबै सरकारी कर्मचारीको पोसाकमा थिए । घाँटीमा पनि सरकारी कर्मचारीको जस्तै कार्ड पनि झुन्ड्याएका थिए । कागजात तयार गर्ने ठाउँमा मोबाइल लैजान बन्देज गरिएको थियो,’ रामेछापका अर्का एक पीडितले भने ।

शरणार्थीको नाममा विदेश पठाइदिने नाममा आङटावाले ठगी गरेको थाहा पाएपछि पीडितहरूले गत माघमा नेपाल शेर्पा संघमा उजुरी दिएका थिए । अधिकांश पीडित शेर्पा समुदायकै भएकाले फसेको रकम उठाउन पहल गरिदिन भन्दै उनीहरूले संघमा उजुरी दिएका थिए । आङटावा र पीडितहरूलाई सँगै राखेर संघका महासचिव लाक्पा शेर्पाले विवाद मिलाउन पहल पनि गरेका थिए । छलफलमा आङटावाले दुई महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको महासचिव शेर्पाले बताए । तर, केही पीडितबाहेक अधिकांशको रकम फिर्ता गरिएको छैन ।

‘भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै आङटावा शेर्पाले रकम असुल गर्‍यो । तर, हालसम्म न परिचय पत्र बनाइदियो, न रकम फिर्ता गर्‍यो भनेर पीडितहरू संघमा उजुरी लिएर आएका थिए । हामीले आङटावालाई बोलाएर छलफल पनि गर्‍यौँ । दुई महिनाभित्र सबैको रकम फिर्ता गर्छु भनेका थिए । तर, पछि रकम फिर्ता गरे कि गरेनन् त्यस विषयमा अपडेट छैन,’ महासचिव शेर्पाले नयाँ पत्रिकासँग भने ।

जिल्ला प्रहरी परिसर टेकुका प्रमुख एसएसपी दानबहादुर कार्कीले कार्यालय नै स्थापना गरेर ठगी गरेको उजुरी नआए पनि अहिले आङटावाबारे अनुसन्धान भइरहेको बताए । ‘त्यही विषयमा त हामीकहाँ उजुरी आएको छैन । तर, हामी अनुसन्धान गरिरहेका छौँ । वास्तविकता खुल्दै जाला,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।