बैंकमा थुप्रियो ३ अर्ब, कर्जा प्रवाह अझै न्यून

काठमाडौं ।कुनै समय लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसकेका बैंकले यतिबेला पर्याप्त पैसा (लगानीयोग्य रकम) हुँदा पनि ऋण लगानी गर्न सकेका छैनन् ।
आर्थिक गतिविधिमा देखिएको मन्दी, महँगो ब्याजदर, बैंक तथा वित्तीय संस्थाप्रति आमनागरिकमा बढ्दै गएको वितृष्णा, बैंकहरूविरुद्ध गतिविधि, निजी क्षेत्रको खस्किएको मनोबललगायत कारण बैंकहरूले चाहेर पनि कर्जा प्रवाह गर्न नसकेको जानकारहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थाले विभिन्न आकर्षक योजना ल्याइरहँदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न सकेको छैन ।
विद्यमान कानुनी व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा निक्षेप अनुपात कायम गर्न पाउँछन् तर गत मंगलबारसम्म औसत कर्जा निक्षेप अनुपात ८४.४६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । बैंक तथा वित्तीय संस्थासँग करिब ३ खर्ब १८ अर्ब रुपैयाँ लगानी गर्न मिल्ने रकम छ तर कर्जाको माग निकै कम छ । आर्थिक गतिविधि शिथिल रहेको, ब्याजदर अझै उच्च रहेको र लगानीका लागि निजी क्षेत्र उत्साहित बन्न नसकेकाले बैंक तथा वित्तीय संस्थाले अपेक्षित कर्जा प्रवाह गर्न नसकेको विज्ञहरू बताउँछन् ।
खासगरी उच्च ब्याजदर र आर्थिक गतिविधिमा सुस्तता कर्जा प्रवाहमा प्रमुख बाधक रहेको वित्तीय क्षेत्रका विज्ञ एवं पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीको भनाइ छ । ‘अहिले बैंकसँग ऋण दिने क्षमता हुने तर ऋणीले लिन नचाहने अवस्था छ,’ उनले भने, ‘ब्याजदर घट्दो दरमा भए पनि अझै महँगो छ । अर्थतन्त्रमा देखिएको शिथिलता र अर्थतन्त्र कता जाँदै छ भन्ने अन्योलले नयाँ लगानी विस्तार गर्नेबारे लगानीकर्ताले सोच्दैनन्, पुरानो बढाउन चाहँदैनन् ।’
यस्तो अवस्थामा बैंकहरूले पनि उत्साहित रूपमा कर्जा प्रवाह गर्न नचाहेको कुँवरले बताए । ‘आफैंले दिएको कर्जा उठेको छैन, ऋणीहरूले ऋण तिर्दैनौं भन्दै बजारमा आन्दोलन गरेका छन्, यस्ता गतिविधिले अन्योल बढाएको छ,’ उनले थपे, ‘कर्जा असुलीमा समस्या भएको र खराब कर्जा बढिरहेको बेला बैंकहरू पनि थप लगानी गर्न किन उत्साहित होलान् र ?’ वित्तीय क्षेत्रको यस्तो अवस्था सामान्य हुन अझै केही समय लाग्ने उनको अनुमान छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया