NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

भन्सार एजेन्टकै योजनामा भएको थियो विमानस्थलबाट नौ किलो सुन चोरी

काठमाडौं । ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी घटनाको योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत भएको खुलेको छ । विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर उनले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए ।

भन्सार एजेन्ट बस्नेत र नासु खड्कालाई पक्राउ गरेको एक महिना हुँदा पनि चोरी भएको सुन भने बरामद हुन सकेको छैन । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, सुन बरामद हुन सकेको छैन भने गिरोहमा संलग्न अन्य व्यक्तिहरूसमेत फरार छन् ।

सिआइबीकी निर्देशक किरण बज्राचार्य यो विषयमा अनुसन्धान नै नसकिएकाले धेरै कुरा खुल्न बाँकी रहेको बताउँछिन् । ‘संगठित अपराध मुद्दामा हामीले पक्राउ परेका अभियुक्तविरुद्ध अनुसन्धान अघि बढाएका छौँ,’ उनले भनिन्, ‘सायद छिट्टै थप विवरण प्रस्ट होला ।’

सो सुन विदेशबाट तस्करी गरी ल्याउने र चोरेर बेच्ने समूह फरक–फरक छन् । सुन बिक्री गर्ने केही पक्राउ परे पनि तस्करी गरेर ल्याउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । घटना योजनाबद्ध र जटिल देखिएपछि प्रहरीले यसलाई संगठित अपराध कसुरमा पनि अनुसन्धान थालेको छ । जुन कसुरमा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई थुनामा राख्न पाउँछ ।

भन्सारको शंकास्पद भूमिका

गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आएका एक यात्रुको दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकामा शंका लागेर भन्सारले रोकेको थियो । विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार एकै व्यक्तिले धेरै ई–सिटरेट ल्याएकाले त्यसमा आरसी (रिचेक) ट्याग लगाएर नियन्त्रणमा लिइएको थियो ।

भन्सार स्रोतका अनुसार एक्सरेको क्रममा सुनजस्तो शंकास्पद वस्तु पनि देखिएको थियो । त्यसरी शंकास्पद देखिएकामा सम्बन्धित व्यक्तिलाई पनि नियन्त्रणमा लिनुपर्ने हुन्छ । तर, ती सुटकेस लिएर आएका चिनियाँलाई त्यत्तिकै छाडियो । ती सुटकेस लामो समय भन्सारमै थन्किए । सुटकेसका सामान लिलामीका लागि एक समूहले सक्रियता बढाइसकेको थियो ।

विद्युतीय चुरोट भनेर भन्सारबाट लिलाम गर्न लगाउने र नौ किलो सुन तस्करी गर्ने योजना थियो । स्रोतका अनुसार त्यसका लागि सेटिङ पनि मिलिसकेको थियो । लिलामीको अन्तिम तयारी हुँदा उनीहरूले सुटकेस चेक गर्दा त्यतिवेलासम्म ई–सिगरेट साटफेर भइसकेको थियो । सुटकेसको जिम्मेवारी नासु खड्कालाई थियो । भन्सारकै आन्तरिक छानबिनमा ई–सिगरेट साटेको उनले स्वीकार गरे । भन्सारका अन्य कर्मचारीजस्तै खड्कालाई पनि त्यसमा सुन रहेको जानकारी थियो । जुन कुरा आफूनिकट भन्सार एजेन्ट बस्नेतलाई सुनाए । बस्नेतले नै अरू ई–सिटरेट किनेर खड्कालाई दिई साटफेर गरिएको थियो । जसबापत खड्काले ६५ लाख रुपैयाँ लिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष