NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

साउदी जान कामदारलाई शैक्षिक प्रमाणपत्र अनिवार्य

काठमाडौं ।  नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र मागेको छ । साउदीको पछिल्लो निर्णयअनुसार नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित साउदी दूतावासबाट प्रमाणित भएको शैक्षिक प्रमाणपत्र पेस गरेमा मात्रै भिसा जारी हुनेछ । प्रमाणित शैक्षिक योग्यता नभएमा सोमबारदेखि भिसा नदिने साउदी दूतावासले सूचना जारी गरेको छ ।

साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको छ । शैक्षिक प्रमाणपत्र प्रमाणित गर्न नसक्ने कामदारले अब लेबर काम गर्न पनि साउदी जान पाउने छैनन् । गत आर्थिक वर्षमा खाडी मुलुकमा २ लाख ९० हजार ३९ गएकामध्ये साउदी अरब जाने मात्रै १ लाख २५ हजार २ सय ३७ जना थिए ।

वैदेशिक रोजगार विभागका अनुसार साउदीसहित खाडी देशमा अदक्ष काममा जाने कामदारको बाहुल्यता छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन–२०२२ अनुसार खाडी जाने कामदारमध्ये व्यावसायिक भिसामा ०.०८, उच्चदक्ष ०.००६, दक्ष ३५.५, अर्धदक्ष ६.९ र अदक्ष काममा ५७.६ प्रतिशत थिए । अदक्ष काममा जानेमध्ये अधिकांश कामदारको शैक्षिक योग्यता एसईईभन्दा कम छ । खाडीमै निर्माण क्षेत्रमा काम सिकेर दक्ष हैसियतमा पुगेकासँग समेत शैक्षिक योग्यता छैन । तर, उनीहरू अरबी भाषा र काममा पोख्त छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबले शैक्षिक प्रमाणपत्र मागेको भन्दै भिसाका लागि आवेदन दिने काम बन्द गर्न व्यवसायीलाई आग्रह गरेको छ । ‘माथिल्लो तहको काममा जानेसँग शैक्षिक योग्यता माग्नु अन्यथा हुँदैन । तर, लेबर काममा जाने साधारण लेखपढ भएको व्यक्तिको पनि माग्नु अनावश्यक दुःख दिने कार्य मात्रै हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने, ‘साउदी सरकारले यो समस्या हल नगरेसम्म हामी भिसाका लागि आवेदन दिँदैनौं ।’

अध्यक्ष भण्डारीले साधारण लेखपढ गर्न जान्नेहरूले शैक्षिक प्रमाणपत्र पेस गर्न निकै झन्झट हुने बताए । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले शिक्षा मन्त्रालयबाट शैक्षिक प्रमाणपत्रलाई प्रमाणीकरण गरेपछि मात्रै आफूले प्रमाणीकरण गर्ने गर्छ । शिक्षा मन्त्रालयले पनि त्रिभुवन विश्वविद्यालय र उच्चशिक्षा परिषद्बाट प्रमाणीकरण भएपछि मात्रै प्रमाणीकरण गर्ने गर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष