आज राष्ट्रिय शिक्षा दिवस : विद्या भूषणबाट ९६२ जना विभूषित (नामावलीसहित)

काठमाडौं । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
यस अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।
विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ‘क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ‘ख’ तर्फ ७१, नेपाल विद्या भूषण ‘ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ‘ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।
नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन् । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन बाँकी रहेको थियो ।
प्रतिक्रिया