सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।
सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका छन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए ।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो ।
उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा आइपुगेका हुन् ।
मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए ।
सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए ।
सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पु¥याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ । यहाँबाट मन्त्रीहरू ललितपुरको गोटीखेल जाने कार्यक्रम रहेको जनाइको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया