विनाशकारी भूकम्पको एक दशक : के सिक्यौं, के सिकेनौं ?

काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति भयो । कैयन्ले आफ्ना पारिवारिक सदस्य गुमाए । यो भूकम्पले कहिल्यै नबिर्सने पीडा र चोड दिए पनि धेरै कुरा सिकाएर गएको छ ।
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी भूकम्प गएमा के गर्ने, के नगर्नेदेखि विपद्मा कसरी संयमता अपनाउने भन्ने जस्ता कुरा ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सिकाएको बताउँछन् । भूकम्पबाट सुरक्षित हुने तरिका पनि उक्त भूकम्पबाट नेपालीले सिकेको उनको भनाइ छ ।
‘नेपालमा जुनसुकै बेलामा पनि भूकम्प जाने जोखिम छ । काठमाडौँदेखि दक्षिणतिरको चुरे क्षेत्रसम्म भूकम्पीय जोखिम बढी छ । भूकम्प जाँदा अब कसरी सुरक्षित हुने, कसरी आफ्ना संंरचना भूकम्प प्रतिरोधी बनाउनेलगायत विषयमा हामीले पाठ सिकेका पनि छौं,’ उनले भने, ‘०७२ सालको विनाशकारी भूकम्पपछि कतिले त उपत्ययकामा अग्ला घर भत्काएर होचा पनि बनाएका थिए । संरचना बलियो हुनुपर्ने चेतना आएको थियो । त्यसपछि भवन आचारसंहिता अधिकांश स्थानीय तहले लागू गरेका छन् । खुला स्थान चाहिन्छ र पूर्वतयारी आवश्यक रहेको पाठ सिकायो ।’
अझै पूर्वतयारीका गतिविधि अगाडि बढाउन सकेमा भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम न्यूनीकरण हुन सक्ने अधिकारीको भनाइ छ ।
‘हामीले भनिरहेका छौं, अझै पनि भूकम्पीय जोखिम छ । विसं २०७२ को भूकम्पले कति कुरा सिकायो । कति कुरा हामीले सिक्नै बाँकी रह्यो,’ उनले भने, ‘पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने, भूकम्पीय शिक्षा र जनचेतना अभिवृद्धि गर्नुपर्ने, खुला स्थानको व्यवस्था गर्नुपर्ने, बलियो संरचना निर्माण गर्नुपर्नेलगायत कतिपय कुरा सिक्नै बाँकी छ ।’
२०७२ सालपछि भूकम्पसम्बन्धी अध्ययन, अनुसन्धान प्रथामिकतामा परेको उल्लेख गर्दै उनले यसलाई सकारात्मक पाटोका रूपमा व्याख्या गरे ।
आर्किटेक इन्जिनियर अमितप्रसाद तिमल्सेना पनि भूकम्पपछि संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्ने चेतना बढेको बताउँछन् ।
‘भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यन्वयन गराउनुपर्छ । संहिताको कार्यन्वयन भए–नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘भूकम्पप्रतिरोधी संरचना निर्माणसम्बन्धी व्यापक प्रचारप्रसार भने अझै जरूरी छ ।’
ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की २०७२ सालको भूकम्पको मनोवैज्ञानिक त्रास अझै बाँकी रहेको र सानासाना भूकम्पको पराकम्पनमा पनि मानिस अत्तालिने समस्या अझै बाँकी रहेको बताउँछन् ।
‘प्राकृतिक विपद्मा कोही आफन्त, कोहीले बासस्थान गुमाएका हुन्छन् । कति घाइते हुन्छन् । कतिलाई फेरि भूकम्प आएर केही घटना हुन्छ कि डर हुन्छ । यसले मनोवैज्ञानिक स्वास्थ्यमा असर बढाएको हुन्छ,’ उनले भने, ‘विपदको समयमा मनोवैज्ञानिक परामर्श आवश्यक भएकाले पूर्वतयारी जरूरी छ ।’
प्रतिक्रिया