NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

चुनाव लड्न एसएसपीदेखि उपसचिवसम्मको राजीनामा

काठमाडौं । स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिसँगै बहालवाला एसएसपी, उपसचिव, प्राध्यापक, शिक्षकलगायतले धमाधम राजीनामा दिइरहेका छन् । शुक्रबारसम्म दुई प्रदेश सांसद, एक महानगर मेयरसहित करिब दुई सय जनप्रतिनिधि, एक एसएसपी, एक उपसचिव, एक अधिकृत, त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकसहित करिब दुई दर्जन शिक्षकले राजीनामा दिइसकेका छन् । ७४ वडाध्यक्ष, तीन जिल्ला समन्वय समितिका सदस्य र १०२ वडासदस्यले पनि राजीनामा दिएका छन् ।

निर्वाचन आयोगले आगामी ३० वैशाखको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार राजीनामा दिने क्रम बढिरहेको छ । बागमती प्रदेश सभामा चितवनबाट प्रतिनिधित्व गरेका एमाले सांसद विजय सुवेदी र मधेस प्रदेशका जसपा सांसद शेष अब्दुल कलाम अजाद (फुलबाबु) ले राजीनामा गरिसकेका छन् । त्यस्तै, भरतपुर महानगरकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छिन् ।

०७४ को प्रदेश सभा निर्वाचनमा रौतहटको क्षेत्र नम्बर ४ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका कलाम पछिल्लो समय जसपामा सक्रिय छन् । उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताए ।

निजामती सेवाका एक उपसचिव र एक शाखा अधिकृतले पनि राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा अघि बढ्ने तयारी गरेका छन् । उपसचिव विष्णुराज भुसालले नवलपरासी (पूर्व) को देवचुली नगरपालिका र शाखा अधिकृत कञ्चनराज गिरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाबाट मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । २२ वर्षे निजामती सेवाबाट राजीनामा दिएर उपसचिव भुसाल मेयरको प्रतिस्पर्धामा अघि बढेका हुन् । उनी कांग्रेसबाट मेयरका लागि सिफारिस पनि भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका भुसालले शुक्रबार मन्त्रालयमा राजीनामा बुझाएको बताए । यसअघि डेढ वर्ष उनी सोही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए । ‘निजामती सेवामा रहँदा मैले स्थानीय विकास अधिकारी र प्रमुख प्रशासकीय अधिकृत भएर लामो समय काम गरेँ । अध्ययनको विषय पनि प्रशासन नै हो,’ उनले भने, ‘मैले निजामती सेवामा रहेर गरेका कामका कारण यहीँका स्थानीयले पनि प्रेसर गरेका छन् ।’ नागरिक सन्तुष्ट हुने गरी सेवा गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताए ।

लोकसेवामा प्रतिस्पर्धा गरेर २२औँ पटकमा अधिकृतमा नाम निकालेका कञ्चनराज गिरीले सेवा सुरु गरेको पाँच महिना नपुग्दै राजीनामा दिएर निर्वाचनमा होमिएका छन् । उनले लोकसेवा पास गरेर गत ३० कात्तिकमा नियुक्तिपत्र बुझेका थिए । १ मंसिरदेखि विद्युत् प्राधिकरणमा हाजिर भएका गिरीले गत २४ चैतमा मेयरमा उठ्न भन्दै राजीनामा बुझाएका छन् ।

दुई महिनाअघि नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्दकुमार साह मेयरको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । हाल उनी कांग्रेस राजनीतिमा सक्रिय छन् । धनुषाको विदेह नगरपालिकाको मेयरमा उठ्ने उनको तयारी छ । ‘मेयरमा पार्टीको नगर कार्यसमितिबाट मेरो नाम पनि सिफारिस भएको छ,’ उनले भने, ‘हेरौँ पार्टीले के निर्णय गर्छ ।’ एक वर्ष जागिर बाँकी भए पनि राजनीतिमा लाग्ने रहरले नै आफूले राजीनामा दिएको उनको भनाइ छ । संघीय प्रहरी कार्यालय धरानमा रहेका वेला उनले राजीनामा दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।