स्वास्थ्य विज्ञान शिक्षालय सङ्घको अध्यक्षमा ढकाल

काठमाडौं । स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरका सञ्चालक ढकाल यसअघि सङ्घको सल्लाहाकार थिए । समितिको उपाध्यक्षमा एभरेष्ट नर्सिङ कलेज काठमाडौँका सञ्चालक केपी सिंह, हाम्रो स्कुल अफ नर्सिङ विराटनगरका सञ्चालक डा शङ्करप्रसाद अधिकारी, महासचिवमा नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन काठमाडौँका सञ्चालक केएन शर्मा, सचिवमा सान इन्स्टिच्युट अफ नेपाल काठमाडौँका सञ्चालक प्रबल श्रेष्ठ, कोषाध्यक्षमा इनोभेटिभ कलेज अफ हेल्थ साइन्स काठमाडौँका सञ्चालक सरला केसी चयन भएका छन् ।
समितिको सदस्यमा ओम हेल्थ क्याम्पस काठमाडौँका सञ्चालक किरण दुवाडी, मायादेवी टेक्निकल कलेज बुटवलका सञ्चालक चिरञ्जीवी जोशी चयन हुनुभएको निर्वाचत अधिकृत डा नेत्रराज चटौतले जानकारी दिए । दुई सदस्यपछि मनोनित गरिने छ ।
सो सङ्घ पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्यसम्बन्धी स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने निजी कलेजका सञ्चालकहरूको छाता सङ्गठन हो । चिकित्सा शिक्षा आयोगले अवलम्बन गरेको एकीकृत प्रवेश परीक्षा प्रणालीले निजी कलेज बन्द हुने अवस्थामा पुगेको कलेजका सञ्चालकको गुनासो छ ।
नवनिर्वाचित अध्यक्ष ढकालले बन्द भएका कलेज खोल्ने र विद्यार्थी सङ्ख्या वृद्धि गर्न सरकारी पहल थाल्ने प्रतिबद्धता जनाए । कलेज सञ्चालकको सामूहिक प्रयासबाट मात्र समस्या सामधान हुने भन्दै समितिमा रहेका र समितिभन्दा बाहिर रहेका सबैले अपनत्व हुने गरी सङ्घका गतिविधि अगाडि बढाउने उनको भनाइ छ । शुक्रबारबाट सुरु भएको महाधिवेशनको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले उद्घाटन गरेका थिए । महाधिवेशनले आर्थिक र प्रगति प्रतिवेदन सर्वसम्मतरूपमा पारित गरेको छ । महाधिवेशनमा ३८ वटा निजी कलेजका सञ्चालक सहभागी थिए ।
प्रतिक्रिया