NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

एमाले महाधिवेशन : संकटमा साथ, महाधिवेशनमा बाइपास 

काठमाडौं । विशाल भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीका दरिला खम्बामध्येका एक मानिन्छन्। प्रधानमन्त्री हुँदा बालुवाटार र त्यहाँबाट बाहिरिएपछि बालकोटमा बाक्लो आउजाउ गर्ने एमाले नेतामा भट्टराई अग्रपंक्तिमा पर्छन्।  सडक होस् या सदन, दुई–दुई पटक संसद् विघटन गरेर आलोचित र अलोकप्रिय बनेका ओलीको बचाउमा उनी भिडिरहेका हुन्छन्। सहमति निर्माणका लागि दशौं महाधिवेशनमा उनको सक्रियता अन्य नेताका लागि लोभलाग्दो छ। संकटका बेला साथ दिएकाले दशौं महाधिवेशनमा सचिवका रूपमा एमाले पदाधिकारीमा ‘इन्ट्री’ मार्ने उनको भित्री चाहाना थियो।  यसमा ओलीबाट पूर्ण साथ–सहयोग मिल्नेमा उनी ढुक्कप्रायः थिए। तर, सोमबार बिहान ओलीले पदाधिकारी र ३०१ केन्द्रीय सदस्य सिफारिस गर्दा भट्टराईको नाम कतै परेन। केन्द्रीय सदस्यमा नपरे पनि सामान्य रूपमा लिएको प्रतिक्रिया दिएका छन्। ‘केन्द्रीय सदस्यमा दोहोरिन्छु जस्तो लागेको थियो तर परिनँ। यसलाई मैले सामान्य रूपमा लिएको छु,’ उनले भने।  भट्टराईले तर निकटस्थसँग ओलीप्रति चित्त दुखाएको बताइन्छ। तथापि, भट्टराईलाई प्रदेश १ मा सक्रिय गराउन केन्द्रीय सदस्यमा नल्याइएको चर्चा पनि एमाले वृत्तमा छ । सुरुमा नेकपा र पछि एमालेमा घेराबन्दीमा पर्दा ओलीलाई साथ दिएर अहिले उपेक्षित हुने भट्टराई एक्ला पात्र होइनन्। नवौं महाधिवेशनसम्म माधवकुमार नेपाल गुटमा रहेका लालबाबु पण्डितले नेकपामा प्रचण्ड–माधव र ओलीबीच शक्ति संघर्ष चर्कंदै गर्दा उतिबेला निकै कमजोर बनेको केपी गुट रोजेका थिए।  पार्टी विभाजन हुँदा पनि उनी कतै गएनन्, ओलीकै साथ रहे। नवौं महाधिवेशनमा अधुरो रहेको उपाध्यक्ष हुने रहर यसपटक पूरा गर्ने पण्डितको धोको थियो। तर माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल समेटिँदा उनी अटाएनन्। पदाधिकारीमा नपरेपछि पण्डितले एमाले नेतृत्व तहबाटै बिदा लिने हठात् निर्णय लिएका छन्।  सचिवबाट एमाले पदाधिकारीमा इन्ट्री मार्ने दाउमा रहेका महेश बस्नेत पनि ओलीले स्थान नदिएपछि चिढिएका छन्। यद्यपि, भट्टराईले जस्तै उनले पनि सार्वजनिक रूपमा अहिलेसम्म असन्तुष्टि जायर गरेका छैनन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुस बार्गेनिङको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएका गोकुल बाँस्कोटा हुन् वा ‘विवादास्पद’ व्यापारिक पृष्ठभूमिका दुर्गा प्रसाई, दुवै ओलीका खास सहयोगी हुन्। सचिवका दाबेदार बाँस्कोटाले केन्द्रीय सदस्यमै चित्त बुझाउनुपर्याे । अध्यक्षसँग मिलेर आफूहरूलाई पेलिएकाे गुनासाे बास्काेटाले गरेका थिए ।   तर, यी दुवै जनालाई ओलीले उत्साहित पार्न सकेनन् । त्यसो त, ओलीलाई नजिकबाट साथ दिएकाले अवसर नै नपाएको भने होइन। सुवास नेम्वाङको चाहनाबीच ईश्वर पोखरेललाई ओलीले निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाएर आफ्नो उत्तराधिकारीका रूपमा अगाडि सारेका छन्। माधव नेपाल गुटमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षमा सिफारिस गरेर ओलीले गुन तिरेका छन्।  पूर्वमाओवादी पृष्ठभूमिका रामबहादर थापा बादललाई उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवको उम्मेदवार बनाइएको छ। तथापि, उनीहरू उम्मेदवार रहेकै पदमा ओलीले सिफारिस गरेभन्दा बढी दाबेदारी परेकाले उनीहरूको भविष्य अन्योलमा छ। ओली पदधिकारीका आकांक्षी निकटकालाई तत्काल रोक्न सफल देखिएका छन् । तर, उपाध्यक्ष र सचिवमा आफ्नै समूह, असन्तुष्ट १० नेता र पूर्व माओवादीका नेता सबैलाई पार्न गाह्रो पर्ने देखिएको छ । यी पदमा प्रतिस्पर्धा केही नेता बाहिरिने पक्का भएको छ । यसपछिको समीकरणले ओलीलाई गाह्रो पर्ने देखिएको छ ।  सम्बन्धित समाचार एमाले प्रभावशालीलाई हराएर पूर्व माओवादीका नेता जिताउलान् एमालेका महाधिवेशन प्रतिनिधिले ?  एमालेको सबै जिम्मेवारीबाट मुक्त हुने लालबाबु पण्डितको घोषणा  

ताजा अपडेट

नेपालवाच विशेष