NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

दु:खमा बेवास्ता, चुनावमा सुविधा

काठमाडौं । ०७४ को स्थानीय निर्वाचनमा झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईले बराबर आठ हजार दुई सय ७५ मत पाए । गोलाप्रथामा काफ्ले विजयी भएकी थिइन् । तेस्रो स्थानमा रहेका माओवादीका विमलकुमार संग्रौलाले एक हजार नौ सय नौ मत पाएका थिए । यो यस्तो उदाहरण हो, जसले निर्वाचन एक–एक मतको अंकगणितको खेल हो भन्ने दर्शाउँछ । त्यसैले दलहरू निर्वाचनका वेला एक–एक मतमा नजर लगाउँछन् र मतदान केन्द्रसम्म पुर्‍याएर आफ्नो अंक बढाउन चाहन्छन् । यसैका लागि उनीहरूले अहिले सुविधासम्पन्न गाडीमा सहरबाट मतदाता गाउँगाउँ लैजादै छन् ।

०७४ मा एक महानगरसहित तीन सय १२ पालिकामा पाँच सय मतको अन्तरले हारजित भएको थियो । त्यसैले अहिले विभिन्न दल र उम्मेदवारहरू सहरमा रहेका आफ्ना मतदाता गाउँ लैजान हरसम्भव प्रयास गरिरहेका छन् । पैसा खर्चेर मतदाता लग्न तँछाडमछाड गरिरहेका छन् । कोभिड कालमा दु:खकष्टसहित गाउँ हिँडेका नागरिकको उद्धारमा भने उनीहरूले खासै ध्यान दिएका थिएनन् ।

नि:शुल्क बस सेवाबारेको सूचना विभिन्न दलका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको–राख्यै छन् । एमाले नमोबुद्ध–काठमाडौं सम्पर्क मञ्चका शंकर गिरीले लेखेका छन्, ‘भोट हाल्न काठमाडौंबाट नमोबुद्ध नगरपालिकाको कोटतिमालतर्फ रुटमा जानुहुने काठमाडौंमा बसोवास गर्नुहुने सम्पूर्ण महानुभावलाई यातायातको व्यवस्था गरिएको छ ।’ एमालेकै उमेश खड्का लेख्छन्, ‘भीमेश्वर नगरपालिका– ७ मा २८ र २९ गते जानका लागि बसको व्यवस्था छ । दुवै दिन बिहान ७ बजे जडीबुटीबाट बस जाने हुँदा समयमै उपस्थित हुन अनुरोध गर्दछु ।’

कांग्रेस कार्यकर्ता कृष्ण भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भीमसेन थापा गाउँपालिका– २ का लागि कांग्रेसले बालाजु चोकबाट गोरखा हुँदै कयापानीसम्मको यातायातको व्यवस्था गरेको छ ।’ यसैगरी कांग्रेसकै कार्यकर्ता ईश्वर मानन्धर लेख्छन्, ‘काठमाडौंबाट मतदान गर्न भीमेश्वर नगरपालिका आउनुहुनेले बसका लागि सम्पर्क गर्नुहोला ।’ कांग्रेसकै भण्डारी अविरल लेख्छन्, ‘काठमाडौंबाट कोही गाउँ (धनुषा, मिथिला नगरपालिका) फर्किँदै हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ।’

माओवादीका मिलन तामाङले फेसबुकमा लेखेका छन्, ‘महाभारत गाउँपालिका– ७ घर भई काठमाडौंमा अस्थायी बसोवास गर्दै आएकालाई काठमाडौंबाट घर जानका लागि सम्पर्क गर्नुहोला ।’ माओवादीका अर्का कार्यकर्ता प्रचण्ड अगाई लेख्छन्, ‘स्थानीय चुनावमा भीमसेन थापा गाउँपालिका– २ (गोरखा)का लागि माओवादी केन्द्रका तर्फबाट गाउँ जानका लागि यातायातको व्यवस्था गरिएको अवगत गराउन चाहन्छौँ ।’

स्थानीय चुनाव नजिकिएसँगै दलका सम्पर्क मञ्च, उम्मेदवार र उम्मेदवार समर्थित व्यक्तिहरूले ‘काठमाडौंबाट गाडी छुट्ने समय र सम्पर्क नम्बरसहित सामाजिक सञ्जालमा सूचना राखेका छन् । यसका लागि कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलका उम्मेदवार र समर्थकले गाडी बुकिङ गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अहिले उपत्यकाबाट बाहिरिनेमध्ये करिब ३० प्रतिशत गाडी बुकिङमा गइरहेका छन् । ‘चुनावले बुकिङको माग बढेको छ, चुनाव सकिएपछि यो अवस्था रहँदैन, बढीजसो नियमितमै चल्छन्,’ उनले भने । सिटौला एक सातामा कम्तीमा १० लाखले उपत्यका छाडेको आकलन गर्छन् । ‘एक हप्ताअघिसम्म खाली–खाली जाने बसमा अचेल यात्रुको चाप धेरै हुने गरेको छ,’ उनले भने । उनका अनुसार लामो र मध्यम दूरीमा मतदानका लागि जानेमध्येका धेरै यात्रु बुधबारसम्म गइसकेका छन् । छोटो दूरीमा भने बिहीबार चाप हुने उनले बताए ।

निर्वाचन आयोगले मतदाता लैजाने विषयमा आचारसंहितामा स्पष्ट व्यवस्था नरहेको र उम्मेदवार लिएर गए उसको खर्चमा जोडिनुपर्ने बताएको छ । ‘यो विषयमा आचारसंहिताले बोलेको छैन । चुनावको दिन मतदाता ओसारपसार गर्न पाइँदैन । तर, त्यसअघिको विषयमा ठ्याक्कै भनिएको छैन । मतदाता घर जान त पाउँछन् नै । हामीले सोध्दा मतदाताले आफ्नै खर्चमा गएको भन्ने गरेका छन्,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘यदि उम्मेदवारले लगेका हुन् भने त्यो खर्च उम्मेदवार खर्चमा जोडिनुपर्‍यो । यसका लागि सिलिङ तोकिएको छ, त्योभन्दा धेरै हुनुभएन । उम्मेदवारले सवारीसाधनमा एक लाख ५० हजार र इन्धनमा ४० हजार रुपैयाँ खर्च गर्न पाउँछन् ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।