NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नौ वर्षमा गरे ५० हजारले आत्महत्या

बुधबार बिहान बझाङकी २२ वर्षीय गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परे । घटना दर्दनाक थियो । प्रहरीले घटनास्थल सिल गर्‍यो, भेटिएका दशी–प्रमाण संकलन गरिए । केही घन्टाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले निष्कर्ष निकाल्यो– छोरा र छोरीको हत्यापछि गीताले आत्महत्या गरिन् । कारण खुल्यो, पारिवारिक विखण्डन ।

प्रहरीका अनुसार गीताका श्रीमान् पुस्कर पार्की रोजगारीका लागि भारतीय सहर आउजाउ गरिरहन्थे । करिब एक वर्षअघि गीता स्थानीय युवा झलक नेपालीबाट बलात्कृत भइन् । त्यसयता उनी र पति पुस्करबीच सम्बन्धमा दरार सिर्जना भएको थियो । पुस्कर गीताको चरित्रमाथि प्रश्न गरिरहन्थे । यही क्रममा भारतको पिथौरागढबाट गत मंगलबार मात्रै फर्किएका पुस्कर र गीताबीच भनाभन भयो । गीता छोराछोरी काखी च्यापेर साँझ घरबाट निस्किइन् । पुस्कर घरकै खाटमा पल्टिए । गीता र उनका छोरीछोरी भने भोलिपल्ट घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परे ।

गत १६ साउनमा तारकेश्वर नगरपालिका– २ पदमसालस्थित एकतले घरमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र आठ वर्षका छोरा आशिक मृत अवस्थामा फेला परे । दिनेशको पेट र घाँटीमा गम्भीर चोट थियो । सुनिता र छोराछोरीको शरीर पनि क्षतविक्षत थियो । प्रहरीको केही घन्टाको प्रारम्भिक अनुसन्धानपछि खुल्यो– दिनेशले सुरुमा श्रीमती सुनिता र छोराछोरीको हत्या गरे, त्यसपछि आत्महत्या गरे ।

यति बीभत्स घटनाको चुरो पनि पारिवारिक विखण्डन नै थियो । प्रहरीका अनुसार दिनेश १२ वर्षको वैदेशिक रोजगारपछि चार वर्षअघि घर फर्केका थिए । उनको पत्नीसँग सम्बन्ध ठीक थिएन । घरेलु हिंसा गरेको भन्दै सुनिताले दिनेशविरुद्ध प्रहरीमै तीनपटक उजुरी दिएकी थिइन् । यसबाट दिनेश क्रुद्ध थिए । उनी सुनितासँग ‘डिभोर्स’ चाहन्थे, तर सुनिता दिन मानिरहेकी थिइनन् । यही क्रममा सुनिताको बेलायत जान ‘सिजनल भिसा’ लाग्यो । उनले चलाइरहेको ‘ब्युटिपार्लर’ पनि बेचिन् । यो विषय दिनेशलाई चित्त बुझेको थिएन । अन्ततः सोही आक्रोश हत्यापछि आत्महत्यामा बदलियो ।

गत ८ साउनमा झापाको केचनाकवल– ५ बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा ढल्केको बयरको रूखमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश झुन्डिएको अवस्थामा फेला परे । लगभग एकै उमेरका तीन किशोरी एउटै रूखमा झुन्डिएको अवस्थामा फेला पर्नु सामान्य विषय थिएन । यो घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले निष्कर्ष निकाल्यो– तीनैजनाले आत्महत्या नै गरेका हुन् । यसका पछाडि पनि कहीँ न कतै पारिवारिक विग्रहकै समस्या रहेको प्रहरीको भनाइ छ । यद्यपि, घटनाको अनुसन्धान नसकिएको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । प्रहरीका अनुसार मृतक तीनै किशोरी चिया बगानका मजदुर हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला नौ वर्षमा देशभर ४९ हजार आठ सय ८४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७७/७८ मा मात्रै ६ हजार सात सय ९२ जनाले आत्महत्या गरेका छन् । यसलाई आधार मान्दा देशभर दैनिक कम्तीमा १८ जनाले आत्महत्या गर्छन् । यद्यपि, यो तथ्यांक अघिल्लो वर्षको भन्दा ४.५६ प्रतिशत अर्थात् तीन सय २५ ले कम हो । गत आर्थिक वर्ष मुलुकभर सात हजार एक सय १७ ले आत्महत्या गरेका थिए । अर्थात् त्यस वर्ष मुलुकभर एकै दिन आत्महत्या गर्नेको संख्या १९ थियो ।

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै आत्महत्या गर्ने प्रदेश १ मा छन् । गत वर्ष मात्रै सो प्रदेशमा एक हजार चार सय ८७ ले आत्महत्या गरेका थिए । त्यस्तै, लुम्बिनीमा एक हजार दुई सय ९७, मधेसमा एक हजार १५, बागमतीमा नौ सय एक, गण्डकीमा ६ सय ९७, सुदूरपश्चिममा पाँच सय ७९ र उपत्यकाभित्र पाँच सय २६ जनाले गत वर्ष आत्महत्या गरेका थिए । यस अवधिमा कर्णालीमा भने आत्महत्या गर्नेको संख्या दुई सय ९० रहेको प्रहरीको तथ्यांक छ ।

चार वर्षअघि भारतको महाराष्ट्रमा तीन महिनामा ६ सय ९६ किसानले आत्महत्या गरेको घटनाले सञ्चारमाध्यममा सनसनी मच्चायो । विषयमाथि विविध कोणका बहस चले । अन्ततः महाराष्ट्रका मुख्यमन्त्रीले सदनमा स्पष्टीकरण नै दिए । त्यो संख्या अघिल्लो वर्षको तुलनामा २४ अंक मात्रै बढी थियो । अघिल्लो वर्ष महाराष्ट्रमा आत्महत्या गर्ने किसानको संख्या ६ सय ७२ थियो ।

तर, नेपालमा प्रत्येक दिन १८ जनाले आत्महत्याको बाटो रोज्दा सम्बन्धित निकायले न्यूनीकरणको पहल गरेको देखिँदैन । नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राई आत्महत्या दरलाई न्यूनीकरण गर्न प्रहरीले प्रत्येक कार्यालयमा विशेष परामर्श युनिट खडा गर्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार यस्ता युनिट स्थानीय तहले वडास्तरसम्मै पुगेर निर्माण गर्न आवश्यक छ ।

‘आत्महत्या गर्नेको दर हेर्दा अत्यासलाग्दो छ । यसलाई घटाउन नयाँ ढंगले सोच्न आवश्यक छ । जस्तो, जुनसुकै घटना हुँदा ठोक्किने भनेको नेपाल प्रहरी हो । त्यसैले प्रत्येक कार्यालयमा अब विशेष खालको परामर्श युनिट निर्माण गर्नुपर्छ । यस्ता युनिट स्थानीय तहले पनि गर्नुपर्छ । यसो गर्न नसकिए आत्महत्याको दर बढिरहनेछ,’ उनले भने ।